मित्रता (बालकथा)
_ePztd0iyYR_i12npmglnvrjtcnnasevcw38bxuwvx00df1pyghgtifo9ppf5qbq5vypjv5i_8bjdA0QGPr_bcgrbvcxomg68tohh87mklk94r05q74kjjomkiwexnkjdr134tancjxmxnrh.jpg)
‘सरले बोर्डमा लेखेको सुरुको लाइन मलाई भन्देऊ न हिमशिला ?’ आरोहीले हिमशिलालाई अनुरोध गरिन् ।
‘सरले ‘पर्यावरण सन्तुलन राख्नु हामी सबैको दायित्व हो’ लेख्नुभएको छ आरोही,’ हिमशिलाले बताइदिइन् ।
आरोही यसरी नै सरमिसले बोर्डमा लेखेका कुरा हिमशिलालाई सोधेर लेख्थिन् । आरोहीलाई हिमशिला स्कुल नआएको दिन पढ्न लेख्न ज्यादै गाह्रो हुन्थ्यो । उनलाई अरू साथीले सहयोग गर्दैनथे । उनीहरू भन्थे, ‘तिमीलाई भनेर बस्ने हो भने हामीले चैँ कुन बेला लेख्ने ! आफैं ठम्म्याएर लेख न ।’
आरोहीका आँखा निकै कमजोर थिए । चस्मा लगाउँदा पनि उनलाई टाढाका अक्षर देख्न गाह्रो पथ्र्यो । सरमिसले बोर्डमा लेखिदिएका अक्षर उनी देख्दैनथिन् । चस्माले नजिक हेर्दा पनि देख्न गाह्रो हुन्थ्यो । उनी एक एक गरेर अक्षर हेर्दै लेख्थिन् ।
सरलाई ‘त्यो के लखेको सर ?’ भनेर सोध्दा कतिपय सरहरू झर्कन्थे । किरण सर भन्नुहुन्थ्यो, ‘बोर्डमा लेखेका सबै शब्द तिमीलाई भन्दिन लाग्यो भने अरूलाई के सिकाउने ?’
आरोही सोच्थिन्, ‘सर, मिसहरूले म भएर सोचेदेखि मेरा समस्या बुझ्नुहुने थियो नि ! आफूलाई समस्या नपरेपछि कसैलाई समस्या परेको छैन भन्ने सोच्नुहुन्छ ।’
विमल सर भने सधैँ हिमशिलालाई अघिल्लो बेन्चमा बस्न लगाएर पढ्न गाह्रो भएका शब्द बताइदिनुहुन्थ्यो । कापीमा पनि लेखिदिनुहुन्थ्यो । एकाएक विमल सर सरुवा भएर अन्तै जाने हल्ला चल्यो । त्यो कुरा सुनेर आरोहीको मन काटियो । उनी एकान्तमा बसेर रोइन् । एक दिन चौरमा विमल सरको बिदाइ कार्यक्रम भयो । सर, मिस, अभिभावक र विद्यार्थीले विमल सरलाई बिदा गर्न फूल र माला लिएर आएका थिए ।
विमल सरको बिदाइमा आरोही ट्वाइलेटपछाडि रोएर बसेकी थिइन् । विमल सर आफैं त्यहाँ जानुभयो । आरोहीलाई धाप मार्दै भन्नुभयो, ‘आरोही, म हिँड्न लागें भनेर पिर गरेकी ? फेरि आइहाल्छु नि ! म सधैँका लागि अर्को स्कुल जान लागेको होइन नि !’
विमल सरले आरोहीको चित्त बुझाउन त्यो कुरा भन्नुभएको थियो । उहाँ आफ्नै गाउँको घरपायक स्कुलमा सरुवा हुनुभएको थियो । विमल सरले भन्नुभयो, ‘हिमशिला जस्ती विशाल मन भएकी साथी तिम्रो साथमा छिन् किन पिर गर्छाै ?’
आरोही बोल्न सकिनन् । बोलूँभन्दा आँसु अगाडि आइहाल्थ्यो । उनले घुँक्कघुँक्क गर्दै भनिन्, ‘सर, हामीलाई माया नमार्नुस् है ! फर्केर यै स्कुल आउनुस् ।’ विमल सरले भन्नुभयो, ‘म आइहाल्छु नि आरोही । पिर नगरी बस ल !’
यति भनेर विमल सर स्कुलबाट बिदा हुनुभयो । विद्यार्थीले आँखाभरि आँसु पारेर विमल सरलाई बिदा गरे । आरोहीले विमल सरलाई बिदा गर्न सकिनन् । उनलाई निकै दुःख लागेको थियो । आफूलाई परेका समस्या छेउमा गएर हल गरिदिने सर स्कुलबाट टाढा जाँदा कसलाई पिर नपर्ला र !
अर्को दिन रक्षा, सुरुचि, आरोही, हिमशिला स्कुल आउँदै थिए । आरोही र हिमशिला अलि परै थिए । रक्षाले सुरुचिलाई भनिन्, ‘हिमशिला त आठ कक्षा यहाँ नपढ्ने रे ! यो स्कुल छाडेर अन्तै पढ्न जाने रे रक्षा !’
रक्षाले भनिन्, ‘आफ्नो आफ्नो इच्छा हो । जाओस् न त !’
रक्षा र सुरुचिका कुरा आरोही बाटोमा परबाटै सुन्दै थिइन् । आरोहीले ‘हिमशिला, तिमी स्कुल छाड्दै छौ रे हो ?’ भनेर सोध्न सकिनन् । उनकै मुखबाट नसुनेसम्म कसरी पत्याउनु !
हिमशिलाले स्कुल छाड्ने कुराले आरोहीलाई अत्यन्त दुःख लाग्यो । बाटोमा साथीहरूसँग बोल्न मन लागेन । उनी सरासर स्कुल आइन् । कक्षामा कसैसँग बोलिनन् । हिमशिलासँग पनि बोलिनन् । आज हिमशिलालाई बोर्डमा लेखेका अक्षर पनि सोधिनन् । जे–जस्तो देखिन्, त्यै लेखिन् ।
बोर्डमा लेखेका शब्दहरूभन्दा अर्कै अर्कै शब्द लेखेको देखेर विमल सरको ठाउँमा सरुवा भएर आएका श्यामसुन्दर सरले आरोहीलाई गाली गर्दै भन्नुभयो, ‘सात कक्षामा पुग्दा पनि तिमीले अक्षर चिनेकी छैनौ कि क्या हो ? के लेखेको त्यस्तो ? बोर्डमा लेखेको सारेको मिलेको छैन । अक्षर एकदमै फोहोेरी छन् । यस्तो लेखाइले तिमी कसरी आठ कक्षामा जान्छ्यौ ?’
यो पटक त झन् आरोहीको मन टुक्रा–टुक्रा भएर काटियो । नयाँ सरलाई केही भन्न सकिनन् । हिमशिलाले भनिन्, ‘सर, उनको आँखामा समस्या छ । उनी अलिकति टाढाको वस्तु पनि देख्न सक्दिनन् । बोर्डमा लेखेको अक्षर नबुझेर त्यस्तो भएको हो ।’ श्यामसुन्दर सरले केही वास्ता गर्नुभएन । सुनेको नसुन्यै गर्नुभयो ।
एक दिन आँट गरेर आरोहीले सोधिन्, ‘हिमशिला, तिमी यो स्कुल छाडेर अन्तै पढ्न जाने रे हो ?’
हिमशिला एकछिन् बोलिनन् । साँचो कुरा बताऊँ, आरोहीको मनमा चोट पर्छ । ढाँटुँ, अर्को स्कुल गएपछि थाहा भैहाल्छ । हिमशिला अलमलमा परिन् । उनले गाह्रोगरी भनिन्, ‘हो आरोही, मलाई बाबाआमाले अर्को स्कुल भर्ना गरिदिने भन्नुभएको छ तर मलाई साथीहरू छाडेर अर्को स्कुल जानै मन छैन ।’
हिमशिलाकै मुखबाट स्कुल छाड्ने कुरा सुनेपछि आरोहीलाई साह्रै दुःख लाग्यो । उनी बोल्न सकिनन् । निकै बेरपछि उनले भनिन्, ‘तिमी यो स्कुल छाडेर गयौ भने मलाई कसले सहयोग गर्छ ! अब मेरो पढाइ झन् कमजोर हुन्छ । अरू कसैले मलाई सहयोग गर्दैनन् । बाबाआमाले भने पनि तिमी स्कुल छाडेर नजाऊ ल हिमशिला !’
आरोही आँसु खसाल्दै सुँक्कसुँक्क गर्न थालिन् । दुवै जना बोल्न सकेनन् । आरोहीलाई साथी छाड्न मन थिएन, हिमशिलालाई पनि साथी छाड्न मन थिएन । दुवैको मनमा गाँठो परेको थियो ।
हिमशिलाले भनिन्, ‘मलाई यो स्कुल र साथीहरू छाडेर अन्त जान पटक्कै मन छैन आरोही । तर बाबाआमाले कर गरेपछि म कसरी हुँदैन भनूँ !
‘पढाइ राम्रो भएको नजिकको स्कुल नगएर किन टाढाको स्कुल जानु !’ भनेर मलाई कर गर्नुहुन्छ । मेरो बाध्यता बुझ आरोही ! तिमीलाई म घरमा आएर सहयोग गर्छु नि !’
आरोहीले भनिन्, ‘तिमी मलाई घरमा त सहयोग गछ्र्यौ नि, मलाई स्कुलमा समस्या परेको हुन्छ । प्लिज हिमशिला, तिमी स्कुल नछाड ल !’
हिमशिलाले भनिन्, ‘मैले त अर्को स्कुल जान्न भनेँ नि तर बाबाआमा मान्नुभएकै छैन । मैले सम्झाउन सकेकी छैन ।’
हिमशिलालाई थाहै नदिई एक दिन आरोही स्कुल नगई हिमशिलाको घरमा गइन् । हिमशिलाको घरमा पुगेर आरोहीले भनिन्, ‘बाबा, म हिमशिलाकी साथी आरोही । हिमशिला अर्को स्कुलमा पढ्न जाने रे हो !’
भित्रबाट हिमशिलाकी आमा पनि बाहिर आउनुभयो । आरोहीले भनिन्, ‘मेरा आँखा कमजोर छन् । बोर्डमा लेखेको म देख्दै देख्दिनँ । किताबका अक्षर पनि पढ्न मलाई गाह्रो हुन्छ । हिमशिलाले मलाई बोर्डमा लेखेका शब्द भनिदिन्छिन् अनि म सार्छु । कक्षामा हिमशिलाबाहेक मलाई कसैले सहयोग गर्दैनन् । हिमशिला अर्को स्कुल गइन् भने मेरो पढाइ बर्बादै हुन्छ ।’
बाबाले भन्नुभयो, ‘हो नानी, हिमशिला अर्को स्कुलमा पढ्छे । तिमी पनि उतै जानू नि !’
आरोहीले भनिन्, ‘मेरो घरबाट त्यो स्कुल टाढा छ । आँखा कमजोर भएकाले मलाई त्यहाँसम्म हिँडेर जान गाह्रो हुन्छ ।’
आमाले भन्नुभयो, ‘हिमशिलाकी प्यारी साथी रैछिन् । हिमशिला अर्को स्कुल जाँदा आरोहीलाई समस्या पर्ने रहेछ । हिमशिलालाई अर्को स्कुल नपठाऊँ । आरोही पनि हाम्रै छोरी त हो नि !’
बाबाले आमाको कुरा एकछिन गम्भीर भएर सोच्नुभयो, ‘साँच्चै, हिमशिला अर्को स्कुल गइन् भने त आरोहीको पढाइ नै खत्तम हुने रहेछ । यदि आरोही हाम्री छोरी भएकी भए हाम्री छोरीलाई कसले सहयोग गथ्र्यो होला र ! आरोहीका लागि भए पनि हिमशिलालाई अर्को स्कुल पठाउनु हुँदैन ।’
सोचेर बाबाले भन्नुभयो, ‘तिम्रो समस्या हामीले थाहा पायौँ आरोही । अब हिमशिला अर्को स्कुलमा जान्न । तिमीहरूको मित्रता कहिल्यै नटुटोस् । अझ बढ्दै जाओस् ।’
बाबाआमा हिमशिलालाई पुरानै स्कुलमा पढाउने कुरामा सहमत भएपछि आरोही आफ्नो घर आइन् । भोलिपल्ट बिहान स्कुल जाँदा बाटामा भेट हुनासाथ हिमशिलाले भनिन्, ‘आरोही, म अर्को स्कुल नजाने भएँ नि ! बाबाआमाले यै स्कुलमा पढ भन्नुभयो ।’
आरोहीले भनिन्, ‘ए, बाबाआमा मान्नुभयो त !’
हिमशिलाले भनिन्, ‘मान्नुभयो । तिमीलाई मन छैन भने अर्को स्कुल नजाऊ भन्नुभयो ।’
आरोहीले भनिन्, ‘तिम्रा बाबाआमा कति ज्ञानी हुनु हुँदोरहेछ । मैले भन्नेबित्तिकै उहाँहरू मान्नुभयो ।’
हिमशिलाले सोधिन्, ‘तिमी मेरो घर गएकी थियौ ?’
आारोही बोलिन्, ‘हो त ! म हिजो स्कुल नगई तिम्रो घरमा गएकी थिएँ ।’
हिमशिलाले भनिन्, ‘मैले कति भन्दा नि मान्नुभएको थिएन । तिमीले त एकैछिनमा मनाइछौ । तिमीसँग के जादु छ त्यस्तो ?’
आरोहीले भनिन्, ‘मसँग केही जादु छैन । मैले मेरा समस्या भनेपछि उहाँहरूले बुझ्नुभयो ।’
त्यसपछि उनीहरू खुसी भएर मनका कुरा गर्दै स्कुल गए ।
प्रतिक्रिया