शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा

गाउँगाउँमा गठन गरिएको बाल क्लब र तिनीहरूको निगरानी तथा गतिविधिका कारण विगतकाे जस्तो खुलेआम बालविवाह तथा दाइजो लेनदेन कम हुँदै गएको छ ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–९, निवासी १८ वर्षीया सीमा खातुन (नाम परिवर्तन) कक्षा १२ मा पढ्नु हुन्छ । उहाँ हरिपुर्वा नगरपालिका–५ स्थित श्री केश्वरगरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ । 

बागमती सेवा समाज नामक गैरसरकारी संस्थाको सहयोगमा उहाँ पछिल्लो समय बालविवाह हुन नदिन लागिपर्नुभएको छ । उहाँले तराई मधेसमा कुरीतिका रुपमा रहेको बालविवाह, दाइजो प्रथाजस्ता कुरीतिविरुद्धको लडाइँमा लागेको बताउनुभयो ।

विभिन्न सङ्घसंस्थामा जोडिएपछि लैङ्गिक विभेद र परम्परागत कुरीतिका बारेमा जान्ने मौका पाएको सीमा बताउनुहुन्छ । उहाँ बालक्लबमा पनि जाेडिनुभएकाे छ । उहाँ क्रियाशील बाल क्लबले गाउँमा बालविवाह, दाइजो प्रथालगायतको कुरीति हटाउन चेतनामूलक  गतिविधि सञ्चालन गर्दै आएको छ ।

लामो समयदेखि जरा गाडेको बालविवाह र दाइजो प्रथा त्यति सजिलै अन्त्य नहुने उहाँ बताउनुहुन्छ । मुस्लिम समुदायमा यो अभिशाप बनेको  छ । सोही समुदायकी उहाँ छोरी मान्छेले बोल्नु नै गलत मान्ने समाजमा अधिकारका कुरा गर्न आफूलाई कठिन भएको बताउनुभयो ।

“हाम्रो समुदायमा छोरा चाहिने गलत सोचका कारण धेरै छोरी जन्मिएका छन्,” उहाँले भन्नुभयो, “छोरी धेरै भएपछि आमाबुबालाई विवाहमा हुने आर्थिक भारको चिन्ता हुन्छ । त्यसबाट छुटकारा पाउन बाल्यावस्थामा नै बिहे गरिदिने चलन छ ।” 

बाल क्लबमा आबद्ध भएपछि किशोरकिशोरी अवस्थामा हुने शारीरिक परिवर्तन, लैङ्गिक विभेद, बालविवाह, दाइजो प्रथाले निम्त्याउने दीर्घकालीन असरबारे जान्न पाएको उहाँले सुनाउनुभयो ।

मुलुकको कानुनले २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानिएको छ । बालविवाह गैरकानुनी हुन्छ । बालविवाह गरे स्वतः बदर हुने र विवाह गर्ने–गराउनेलाई कानुनी कारबाही हुने व्यवस्था छ तर त्यो कार्यान्वयन नहुँदा कुरीति नियन्त्रण नभएको हरिपुर्वा नगरपालिका–२ की रीता चौधरी (नाम परिवर्तन) ले गुनासो गर्नुभयो ।

बाल क्लबबाट गाउँमा भइरहेको बालविवाह रोक्न जाँदा वा जानकारी दिँदासमेत आफूहरूलाई समस्यामा पार्ने गरेको उहाँको गुनासो छ । कानुनले अपराध मानेको बालविवाहको भोजमा जनप्रतिनिधिदेखि सामाजिक व्यक्तित्व र राजनीतिक दलका नेता स्वयं उपस्थित भएर भोज खाने गरेका उहाँले सुनाउनुभयो ।

“हामीले गैरसरकारी संस्थाको सहयोगबाट बाल क्लब गठन गरेका छौँ”, उहाँले भन्नुभयो, “यस क्लबले बालविवाह कम गर्न लागि अभिभावकलाई सचेत गराउन सडक नाटक, र्‍यालीदेखि, बालविवाह रोक्नेसम्मका काम गरिरहेको छ । एक पटक गाउँमा बालविवाह हुन लागेको थाहा पायौँ । सबै साथी रोक्नुपर्छ भनेर बिहे घर पुग्यौँ । बालिकाका बुबा, आमालगायत परिवारलाई सम्झाउने कानुनी कारबाहीको डर देखायौँ । जनप्रतिनिधिले उल्टै हामीलाई धम्क्याए ।”

समाजका अगुवा भनिएका जनप्रतिनिधि, कानुन कार्यान्वयन गर्न बसेका प्रहरी प्रशासनले यस्ता कुरीतिलाई प्रोत्साहन दिने गरेकाे अर्की किशाेरी कुमारी साह (नाम परिवर्तन) को दाबी छ । घटनाको विषयमा प्रहरीलाई सुटुक्क जानकारी दिँदा पनि प्रहरीले उजुरीकर्ताको गोपनीयता भङ्ग गरिदिने गरेको उहाँको अनुभव छ ।

“मैले गाउँको एउटा घटनाका बारेमा प्रहरीलाई खबर गरेको थिएँ”, उहाँले भन्नुभयो, “तुरुन्त केटी पक्षका आफन्त तिमीले प्रहरीलाई बालविवाह हुँदैछ भनेर भनेको रे हो ? मेरो छोरीको विवाह तिमी गरिदिन्छौ ? उनको भविष्यको चिन्ता तिमीलाई कि हामीलाई ? भनेर गाली गर्नुभयो ।”

सामान्य कुरामा समेत केटाकेटी भाग्ने परिपाटीले चिन्तित तुल्याउने गरेको अभिभावक सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का रामबाबु चौधरीले बताउनुभयो । घरमा थोरै गाली गरे, हप्काए पनि छोराछोरी भाग्न थालेकाले अधिकांश अभिभावकले सानै उमेरमा छोरीको विवाह गरिदिने गरेकाे उहाँ बताउनुहुन्छ ।

“तराई मधेसमा इज्जत ठूलो मान्छन्”, चौधरीले भन्नुभयो, “छोरी भाग्नु त्यो परिवारका लागि गम्भीर सामाजिक प्रतिष्ठाको विषय हो । त्यसमा पनि अन्तरजातीय भयो भने त्यो परिवारको समाजमा कुनै इज्जत रहँदैन ।”

रीता जस्तै जिल्लाको हरिपुर्वा नगरपालिकामा १२ वटा र पर्सा गाउँपालिकामा सातवटा र एउटा गाउँपालिकास्तरीय बाल क्लब सञ्जाल गरी ३७८ जना किशोरकिशोरी बाल क्लबमा आबद्ध छन् । उहाँहरूले बालविवाह, दाइजो प्रथालगायतको कुरीतिविरुद्ध काम गर्ने गरेकाे संस्थाका कार्यक्रम संयोजक प्रमेश बादेले बताउनुभयो ।  

विकास साझेदार संस्था वर्ल्ड भिजनको सहयोगमा बागमती सेवा समाजले दुईवटा पालिकामा बाल विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्ता कार्यक्रमपछि बालविवाह, दाइजो प्रथा नियन्त्रणमा सहयोग पुगेको स्थानीयको भनाइ छ । संस्थाका अनुसार किशोरकिशोरीहरूलाई नियमित रूपान्तरण कक्षामा जीवन उपयोगी सीप तथा सुरक्षासम्बन्धी तालिमसमेत दिने गरिएको छ ।

यसरी गाउँगाउँमा गठन गरिएको बाल क्लब र तिनीहरूको निगरानी तथा गतिविधिका कारण विगतकाे जस्तो खुलेआम बालविवाह तथा दाइजो लेनदेन कम हुँदै गएको छ । तर, पछिल्लो समय क्लबमा आबद्ध किशोरकिशोरीहरूले थाहा पाए रोकी दिन्छन् भनेर भारतमा आफन्तकामा लगेर विवाह गर्ने गरेको हरिपुर्वा–४, का दिनेश रायले बताउनुभयो । 

“हामीलाई छलेर भारत पुर्‍याएर पनि केहीले विवाह गराएका छन्”, उहाँले भन्नुभयो, “हामीले त्यसपछि पनि उजुरी गर्ने गरेका छौँ । त्यसो गर्दा नेता, जनप्रतिनिधिले घरमै आएर हाम्रा परिवारलाई समेत धम्क्याउने दुःख दिने गर्नुभयो । त्यसपछि परिवारले समेत गाली गर्न थाल्नुभयो ।”

उल्टै हाम्रो परिवारको कामसमेत वडा कार्यालयले नगरीदिन गरेको उहाँको दुःखेसो छ । यही निहुँमा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, बालिकाहरूको परिवारले धेरै पटक आफ्नो घर घेरेका उहाँले दुःखेसो पोख्नुभयो ।