चोरी गरी अमेरिका पुर्याइएका पुरातात्त्विक वस्तुहरू फिर्ता
यी कलात्मक वस्तुहरुको उत्पत्तिस्थल नेपाल भएको भनी पुरात्त्वले प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता गरिएको हो ।

नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु नेपाल फर्काइएको छ ।
पुरातत्व विभागले आइतबार विशेष कार्यक्रम आयोजना गरी चोरी भएर अमेरिका लगिएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु सार्वजनिक गरेको हो ।
विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी) काठमाडौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौंं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो ।
साथै आर्ट इन्स्टिच्यूट सिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुछलिन्द बुद्धको मूर्ति थान–१ (१२/१३ औं शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएका थिए ।
अमेरिकाको विभिन्न संग्रहालय, अक्सन हाउस तथा व्यक्तिगत संग्रहमा रहेका उक्त वस्तुहरु अमेरिकाको न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासका कार्यवाहक महाबाणिज्यदूत चक्रकुमार सुवेदीलाई फागुन१६ मा हस्तान्तरण गरिएको थियो ।
यी कलात्मक वस्तुहरुको उत्पत्तिस्थल नेपाल भएको भनी पुरात्त्वले प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता गरिएको हो ।
यी वस्तुहरु अमेरिकाबाट नेपालसम्म ल्याउने कार्यमा न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको विभागले जनाएको छ ।

विष्णुमती नदीमा भेटिएको मूर्तिबारे पुरातत्वले अध्ययन गर्ने

ज्ञानकाे अर्काे पाठशाला : राष्ट्रिय संग्रहालय (भिडियाे)

प्रतिक्रिया