शनिबार ०७ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

‘आफ्ना समस्या सेयर गर्न नसक्दा किशोरकिशोरीमा मानसिक तनाव बढ्दो छ’ (भिडियाे)

'प्लस टु र स्कुल पढ्दाका सबै साथीहरू विदेश गए, त्यो बेला मलाई पनि बाहिरै जाऊँ भन्ने लागेको थियो तर बाबा–ममीले सम्झाउनुभयो ।'

किशोर आवाजको १६ औं श्रृंखलामा हामीले अनुशीला बस्नेत र एलिसा भुसालसँग कुराकानी गरेका छौं । उहाँहरू काठमाडौंको चाबहिलस्थित टेक्सस इन्टरनेशनल कलेजमा बिएस्सी सिएसआईटी तेस्रो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ ।

अरु धेरै विकल्पहरू हुँदाहुँदै तपाईंहरूले किन आइटी रोज्नुभयो  ?
उहाँहरू भन्नुहुन्छ, ‘अहिले दुनियाँ नै आइटीबाट प्रभावित छ, त्यसैले हामी पनि यसैमा भविष्य खोज्दै छौं ।’

प्लस टु सक्नासाथै अध्ययनका लागि विदेश जाने ट्रेन्डजस्तो बनिरहेको देखिन्छ, तपाईंहरूलाई चाहिँ यो हावाले छोयो कि छोएन ? 
‘मलाई पनि एकपटक चाहिँ विदेश नै ट्राइ गरौं कि भन्ने लागेको हो,’ एलिसा भन्नुहुन्छ, ‘एउटा दिमागले विदेश जाऊँ भन्ने, अर्कोले यहीं बसेर केही गरौं न भन्ने दोधारका बीच यहीं आइटी पढ्ने निर्णय गरेकी हुँ ।’

‘मैले प्लस टु र स्कुल पढ्दाका सबै साथीहरू विदेश गए, त्यो बेला मलाई पनि बाहिरै जाऊँ भन्ने लागेको थियो तर बाबा–ममीले सम्झाउनुभयो, जाने नै भए पनि ब्याचलर गएर जाऊ भन्नुभयो,’ अनुशीला भन्नुहुन्छ, ‘त्यसैले मैले यहीँ अध्ययन गर्ने निर्णय गरेँ ।’

पढाइबाहेक एलिसालाई नाच्न, गाउन मन पर्छ । त्यसका अलावा कोर्सबाहिरका पुस्तक पढ्न रुचाउनुहुन्छ । 

अनुशीलालाई गीतार बजाउँदै गीत गाउन आनन्द लाग्छ । त्यसबाहेक पब्लिक स्पिकिङमा पनि उहाँ जोडिँदै आउनुभएको छ । पब्लिक स्पिकिङले नयाँ व्यक्ति र परिस्थितिसँग घुलमिल हुन सजिलो बनाएको उहाँ बताउनुहुन्छ । 

तपाईंहरू मोबाइलमा कुन एप बढी चलाउनुहुन्छ ?
एलिसा : ‘इन्स्टाग्राम, फेसबुक र टिकटक ।’
अनुशीला : ‘इन्स्टाग्राम, लिङ्कडेन, डिस्कर्ड ।’

तपाईंहरू सबैभन्दा खुसी हुने क्षण कुन हो ?
‘केही समयअघि हामी कलेजबाटै पोखरा, मुस्ताङको टुर गएका थियौं, त्यो टुरको ६ दिन हामी सबैभन्दा खुसीसाथ बिताएको समय हो,’ उहाँहरू भन्नुहुन्छ । 

तपाईंहरूको जेनेरेसनले मानसिक दबाबलाई कसरी बुझ्छ ? किशोरकिशोरीमा किन मानसिक तनाव देखापर्छ ?
‘एउटा विद्यार्थी घरपरिवार र विद्यालयसँग प्रत्यक्ष जोडिएको हुन्छ, उसले घरपरिवारसँग पनि आफ्ना कुरा सेयर गर्न नसक्ने र विद्यालयमा शिक्षकहरूसँग पनि कुरा राख्न नसक्ने अवस्था देखिएको छ,’ एलिसा भन्नुहुन्छ, ‘त्यसले उसमा मानसिक समस्या निम्त्याइरहेको देख्छु ।’

‘मचाहिँ यसमा ग्लोबलाइजेसनसँग जोड्न चाहन्छु, हामी एक ठाउँमा बसेर अहिले धेरै मान्छेसँग परिचित हुन सक्छौं, त्यसक्रममा ती नयाँ मान्छेहरूसँग सबै कुरा नमिल्न सक्छ,’ अनुशीला भन्नुहुन्छ, ‘अर्कोचाहिँ देखासिकीका कारण किशोरकिशोरीमा तनाव सिर्जना भइरहेको छ जस्तो लाग्छ ।’
अनुशीला र एलिसासँगको रमाइलो कुराकानी सुनौं भिडियोमा ।