‘युवा पुस्ता राजनीतिबाट भाग्नु हुँदैन’ (भिडियाे)
‘हामीले राजनीतिप्रति चासो नराख्ने हो भने पाका नेताहरूलाई घच्घच्याउने कसले ? हामीले नचाहेर पनि राजनीतिसँग जोडिनैपर्छ भने त्यसमा चासो किन नराख्ने ? सहभागी किन नहुने ?’
किशोर आवाजको पन्धौं श्रृंखलामा हामीले काठमाडौं स्कुल अफ ल मा स्नातक अध्ययनरत दिपेशराज यादव र हेमन्त बोहोरासँग कुराकानी गरेका छौं ।
नेपाली समाजमा रहेका विभेद, असमानता र अन्यायलाई देखेर, भोगेर आउनुभएका उहाँहरूले तिनको अन्त्यका लागि अग्रसर हुन, संवैधानिक र कानुनी व्यवस्थाबारे फराकिलो ज्ञान हासिल गर्न तथा आफ्नो समाजका लागि केही गर्न सकिन्छ कि भन्ने अपेक्षासहित कानुन विषय रोज्नुभएको हो ।
‘कुनै निश्चित योजना त छैन तर राम्रो वकिल बन्ने वा देश र समाजलाई सही दिशा दिनसक्ने अभियन्ता बन्ने चाहना छ,’ हेमन्त भन्नुहुन्छ, ‘हाम्रो देशमा कानुन छ तर पूर्णरुपमा लागू भएको छैन, मान्छेहरूले आफूखुसी गर्ने क्रम बढ्दो छ । म कानुन विषयमा जानकार भएर यही कुराको अन्त्य गर्न चाहन्छु ।’
आफ्नै गाउँघरमा भएका घटनाले कानुनी विषय पढ्न प्रेरित गरेको दिपेश बताउनुहुन्छ । ‘गाउँमा चुनावका बेला भएका निर्वाचन आचारसंहिताविपरीतका घटनाहरू, मधेस आन्दोलन र आफ्नै वरिपरिका नाबालिकाको बलात्कारपछि हत्याजस्ता घटनाले मलाई कानुन पढ्न प्रेरित ग¥यो,’ उहाँ भन्नुहुन्छ, ‘हामीले नयाँ संविधान बनेपछि यस्ता समस्या समाधान हुन्छ भन्ने सुन्यौं तर खोई त भएको ?’
दिपेश र हेमन्त दुवै जना गाउँमै कक्षा १० सम्म पढेर थप अध्ययनका लागि संघीय राजधानी आउनुभएको हो ।
हेमन्त बझाङको दुर्गम गाउँमा हुर्किनुभएको हो । ‘मेरो गाउँमा आजसम्म पनि बिजुली पुगेको छैन,’ उहाँ भन्नुहुन्छ, ‘सडक थिएन, तीनचार घण्टा हिँडेर पढ्न जानु पथ्र्यो, पढाइको अवस्था राम्रो थिएन । अहिले पनि धेरै सुधार भइसकेको छैन । सामाजिक सञ्जालको विकासपछि मैले नेपालकै अरु ठाउँ यति विकसित रहेछन् भनेर बुझ्ने, हेर्ने अवसर पाएँ ।’
दिपेश बाराको सदरमुकाम कलैयामा हुर्किनुभएको हो । उहाँले सानैदेखि हेमन्तले भन्दा राम्रो शैक्षिक वातावरण पाउनुभयो । ‘मैले पढेका बेलासम्म शैक्षिक अवस्था राम्रो थियो, मैले सरकारी स्कुलमै पढेको हुँ तर त्यो बेलाको तुलनामा अहिले शैक्षिक गुणस्तर खस्किएको छ,’ उहाँ भन्नुहुन्छ, ‘सँगसँगै हाम्रो समाजमा बेथितिहरू झन् बढिरहेका छन् । लैंगिक विभेद आजका दिनमा पनि उस्तै छ । छोराले जति प्राथमिकता छोरीले पाउँदैनन् । दाइजो प्रथा विकराल बनिरहेको छ ।’
बझाङमा पनि दाइजोको समस्या छ तर त्योभन्दा विकरालचाहिँ जातपात र छुवाछुत बनिरहेको बताउनुहुन्छ हेमन्त । ‘मैले सानो छँदैदेखि देखेको ठूलो र सानो जातका नाममा हुने विभेद अहिले पनि कायम छ,’ उहाँ भन्नुहुन्छ ।
हाम्रो समाजमा महिला र पुरुषबीच विभेद रहेको उहाँहरू बताउनुहुन्छ । ‘सुरुमा महिलामाथि बढी विभेद थियो, त्यसलाई सम्बोधन गर्न कानुनी प्रावधानहरू गरिएका छन् तर महिलालाई केन्द्रित गरेर बनाइएका कतिपय कानुनबाट अहिले पुरुष पीडित बनिरहेको देखिएको छ,’ दिपेश भन्नुहुन्छ, ‘सम्बन्धविच्छेदलगायतका कतिपय कानुनमा सुधार गर्नुपर्ने अवस्था छ ।’
केही समयअगाडि राजधानीकै एउटा नाम चलेको विद्यालयले कक्षा ७ मा पढ्ने विद्यार्थीलाई शौचालयमा भेप (विद्युतीय चुरोट) तानेको आरोपमा निष्कासन गरेको घटना सार्वजनिक भएको थियो ।
७ कक्षामा पढ्ने विद्यार्थीले यस्तो कुरा सिक्नुमा सामाजिक सञ्जालको गलत प्रयोग र साथीभाइको संगत कारण रहेको हेमन्तको बुझाइ छ । सामाजिक सञ्जालको प्रयोगमा कडाइ गर्न नसक्दा बालबालिकाले सकारात्मकभन्दा नकारात्मक कुराहरू बढी सिकिरहेको उहाँ बताउनुहुन्छ । ‘राज्यले कानुनी शासनको कुरा गर्छ तर त्यसअनुसारको व्यवहार गर्न सक्दैन,’ उहाँ भन्नुहुन्छ ।
दिपेश भने विद्यार्थीले भेप तानेकै हो भने पनि उसलाई विद्यालयबाट निष्कासन गर्नु गलत हुने बताउनुहुन्छ । उसलाई सुध्रिने मौका दिनुपर्ने उहाँको भनाइ छ । ‘बालबालिकाले नकारात्मक कुरा सिक्नुमा सामाजिक वा पारिवारिक कारण हुन सक्छन् त्यसैले उनीहरूले किन गलत बाटो समाते भनेर खोज्नुपर्छ,’ दिपेश भन्नुहुन्छ ।
१८ वर्षमुनिका बालबालिकाले गल्ती गर्दा सजाय दिएर होइन, अवसर र आवश्यक परामर्श दिएर सुधार्नुपर्ने उहाँहरू बताउनुहुन्छ । ‘तर नेपालमा ठ्याक्कै उल्टो छ,’ दिपेश भन्नुहुन्छ, ‘बालबालिकाका लागि हरेक जिल्लामा बालसुधार गृह बनाउनुपर्ने कानुनी व्यवस्था छ तर हामीसँग जम्मा आठ वटा मात्रै सुधारगृह छन् । ती गृहमा ५ सय जनामात्रै राख्न सकिने क्षमता छ तर ११ सय जना राखिएका छन् । त्यहाँ १८ वर्षमुनिका मात्रै होइन, त्योभन्दा बढी उमेर समूहकालाई पनि राखिएको छ ।’
युवा राजनीतिबाट अलग हुनै नसक्ने उहाँहरू बताउनुहुन्छ । ‘युवा पुस्ताले राजनीतिप्रति चासो नराख्ने हो भने पाका नेताहरूलाई घच्घच्याउने कसले त ?’ दिपेश भन्नुहुन्छ, ‘हामीले नचाहेर पनि राजनीतिसँग जोडिनैपर्छ भने त्यसमा चासो किन नराख्ने ? सहभागी किन नहुने ?’
हेमन्त पनि राजनीतिबाट युवाहरू टाढा भाग्न नहुने बताउनुहुन्छ । ‘अहिलेका यावत समस्याहरूको अन्त्य गर्न पनि हामीले राजनीतिक प्रणाली र राजनीति गर्ने व्यक्तिहरूप्रति चासो राख्नुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘अहिलेकै शासन प्रणालीमा पनि प्रधानमन्त्री सांसदले भन्दा जनताले चुन्ने व्यवस्था गर्ने हो भने धेरै कुरा सुधार गर्न सकिन्छ जस्तो लाग्छ ।’
दिपेश र हेमन्तसँगको रमाइलो कुराकानी सुनौं भिडियोमा ।

चाहना र आयुश्नाकाे डाक्टर बन्ने लक्ष्य (भिडियाे)
‘आफ्ना समस्या सेयर गर्न नसक्दा किशोरकिशोरीमा मानसिक तनाव बढ्दो छ’ (भिडियाे)
‘प्रेमसम्बन्ध बुबाआमाको जस्तो होस्, जुन अहिलेको जेनेरेसनमा छैन’

‘आफ्ना बच्चालाई अर्कोसँग तुलना गरेकाे मन पर्दैन’ (भिडियाे)

'अंग्रेजी र विज्ञान मन पर्छ, सामाजिक पढ्न मन लाग्दैन' (भिडियाे)
‘स्वदेशमै स्वरोजगार बन्न र भविष्यमा आफ्नै ब्रान्ड स्थापित गर्न चाहन्छौं’ (भिडियाे)

‘हामीमाथि कसैले नराम्रो गर्यो भने डटेर आवाज उठाऔं, दबिएर नबसौं’ (भिडियाे)

प्रतिक्रिया