तारा र ऐनाको कथा
"मृत्यु मात्र अन्त्य होइन, तारा । जब कुनै तारा निभ्छ, त्यसको धुलोबाट नयाँ ताराहरू जन्मन्छन् । विज्ञानले सिकाउँछ- अन्त्य नयाँ सुरुवातको सङ्केत हो ।"

"हेर त ! यता हेरिसकेपछि मेरो अनुहारभित्र अर्कै संसार देखिन्छ," ऐनाले भन्यो ।
ताराले अचम्म मान्दै ऐनातिर हेरिन्। ऐना चिसो थियो, स्वच्छ थियो । तारा आफ्नै अनुहार देखेर मुस्कुराइन् तर ऐनाले उनलाई अचम्मको कुरा देखायो- एक अपरिचित झिलमिल संसार !
"यो त मभन्दा परको ठाउँ हो, जहाँ तारा र ग्रह उज्यालामा खेलिरहेका छन् !" ताराले उत्सुक हुँदै भनिन् ।
त्यही बेला, ऐनाबाट न्यानो आवाज आयो, "तिमी सही छौ तारा । विज्ञान भनेको यस्तै अन्वेषण हो- आँखाले देख्न नसक्ने कुरा बुझ्ने बाटो ।"
"तर ऐना, यो संसार त अदृश्य जस्तो छ ! कसरी विश्वास गर्ने ?" ताराले सोधिन् ।
"बुझेपछि विश्वास स्वतः आउँछ, तारा । विज्ञानले तिमीलाई बुझेपछि नै विश्वासको उज्यालो दिन्छ ।" ऐना मन्द हाँस्यो ।
ताराले ऐनाभित्र झिलिमिली ताराहरूतिर फेरि हेरी । एउटा सानो तारा बलिरहेको थियो, अनि विस्तारै निभ्दै थियो ।
"ओहो ! यो तारा किन निभ्दै छ ?" ताराले जिज्ञासु आँखाले हेर्दै सोधिन् ।
"किनभने ऊ आफ्नो अन्तिम ऊर्जा खर्च गरिरहेको छ । प्रत्येक ताराको उमेर हुन्छ, जीवन हुन्छ, अनि अन्त्य पनि ।" ऐनाले उत्तर दियो ।
"तारा पनि मरेको हुन्छ र ?"
"मृत्यु मात्र अन्त्य होइन, तारा । जब कुनै तारा निभ्छ, त्यसको धुलोबाट नयाँ ताराहरू जन्मन्छन् । विज्ञानले सिकाउँछ- अन्त्य नयाँ सुरुवातको सङ्केत हो ।"
तारा केही बेर गम्भीर भइन् र भनिन्, "जसरी झरना जम्दा हिउँ बन्छ, अनि फेरि पानी भएर बग्छ ?"
"हो, तिमी बुझ्दै छौ । विज्ञान भनेको चक्र हो, पुनर्जन्म हो ।" ऐनाले ताराको प्रतिबिम्बलाई उज्यालो पार्दै भन्यो ।
त्यही बेला, ताराले ऐनामा आफ्नो हात राखिन् । ऐना अचानक हल्का चम्कियो । तारा चकित भइन् ।
"मेरा औंलाहरूमा पनि बिजुली झैं उर्जा छ !"
"हर चीज ऊर्जा हो, तारा । तिमी स्वयं ऊर्जा हौ । जब तिमी ज्ञान प्राप्त गर्छौं, तिमी स्वयं एउटा उज्यालो तारा जस्तै बल्छौ ।"
ताराले गहिरोसँग सोचिन् । अनि, एकाएक मुस्काइन् ।
"अब मैले बुझेँ, ऐना ! अन्धकार आफैँ हट्दैन, उज्यालो बाल्नुपर्छ !"
ऐनाले हल्का कम्पन गर्यो, मानौं मुस्काइरहेको थियो । तारा उज्यालो अनुहार लिएर ऐनाबाट बाहिर निस्किइन्- नयाँ संसारको खोजी गर्न !
२०८१ फाल्गुन २६ गते ।
श्री जनता मावि (प्राविधिक), गोलबजार-४, सिरहा ।
प्रतिक्रिया