अपांगता भएका विद्यार्थीलाई सहुलियत दिँदै काठमाडौँ महानगर
अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थी अध्ययनरत विद्यालयमा नै परीक्षा केन्द्र रहने गरी परीक्षाको प्रबन्ध मिलाउने निर्णय
अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाले आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको छ ।
आधारभूत तह उत्तीर्ण परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीको संयोजकत्वमा बसेको बैठकले यस्ता विद्यार्थी अध्ययनरत विद्यालयमा नै परीक्षा केन्द्र रहने गरी परीक्षाको प्रबन्ध मिलाउनेसहितका सहुलियतसम्बन्धी निर्णय गरेको हो ।
विभागका अनुसार अहिलेसम्म ६ वटा विद्यालयका ६ जना विद्यार्थीलाई यस प्रकारको सहुलियत दिनुपर्ने देखिएको छ ।
शिक्षा नियमावली २०५९ को नियम ४७ बमोजिम दृष्टिविहिन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि निजले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।
महानगरपालिकाले तयार पारेको प्रश्नपत्रबाट विकासात्मक अपाङ्गता वा विशेष प्रकृतिका बालबालिकाले परीक्षा दिन नसक्ने भएमा विद्यार्थीको सिकाइ प्रकृतिका आधारमा विद्यालयले उपयुक्त मूल्याङ्कन मापदण्ड तयारी गरी विद्यार्थी मूल्याङ्कन गरेर प्राप्ताङ्क सम्बन्धित स्रोत केन्द्रमा बुझाउनु पर्नेछ । यसरी परीक्षा लिँदा पाठ्यक्रम विकास केन्द्रले तोकेको विशिष्टिकरण तालिकाको परिधिभित्र हुनु पर्नेछ।
हात भाँचिएका वा आफैं हातले परीक्षा लेख्न नसक्ने विद्यार्थीलाई विद्यालयबाट प्राप्त भएको निवेदन, मेडिकल रिपोर्ट, सहायक विद्यार्थीको योग्यतासमेतका आधारमा कक्षा ७ सम्म अध्ययनरत सोही विद्यालयको विद्यार्थीलाई परीक्षा सहायक राख्न विभागले अनुमति प्रदान गर्न सक्नेछ।
विदेशी विद्यार्थीलाई विद्यार्थी वा अभिभावकले अनुरोध गरेमा सट्टा विषयमा परीक्षा दिन पाउने भएका छन्। उनीहरुले अनिवार्य नेपाली विषयको सट्टा इलेक्टिभ इङ्लिस र नेपाल भाषाको सट्टामा अप्सनल इङ्लिस भाषाको परीक्षा दिनुपर्नेछ। यसका लागि सम्बन्धित विद्यालयले प्रश्नपत्र तयार गर्ने र आफैँ परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने गरी निर्णय भएको छ। उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकले नै परीक्षण गरेर परीक्षण केन्द्रमा बुझाउनु पर्नेछ।
सामाजिक विषयको हकमा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन नसक्ने विदेशी विद्यार्थीका लागि शिक्षा विभागले प्रश्नपत्र अंग्रेजी भाषामा अनुवाद गरेर उपलब्ध गराउनेछ। यस प्रश्नपत्रमा विद्यार्थीहरुले उत्तर दिन पाउनेछन्।
परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापकलाई विभागले केन्द्राध्यक्षका रुपमा नियुक्ति गर्नेछ। प्रधानाध्यापकको कार्यभारका कारण केन्द्राध्यक्ष रहन नसक्ने अवस्थामा सहायक प्रधानाध्यापक वा प्रधानाध्यापकले तोकेको वरिष्ठतम शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गर्न सकिने बैठकले निर्णय गरेको छ।
ज्ञवालीको अध्यक्षतामा गठित समितिमा रामप्रसाद ढुंगाना, मञ्जु मग्राती, विष्णुहरि अधिकारी, रविन वस्नेत, श्याम योञ्जन सदस्य रहेका छन्। यस्तै शिक्षा अधिकृत ओमप्रसाद गौतम सदस्य सचिव रहनुभएकाे छ । कोडिङ र डिकोडिङ गरेर उत्तरपुस्तिका परीक्षणको काम विभागले गर्नेछ । यो काम स्रोत केन्द्रहरुबाट हुनेछ । महानगरपालिकाभित्र ११ वटा स्रोत केन्द्र छन् ।

वन डढेलो नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम

प्याब्सनले नेपालको शैक्षिक गुणस्तर निरन्तर राख्नेछ : अध्यक्ष अधिकारी

प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशन सुरु

हिमाल एकेडेमीले मनायो वार्षिकोत्सव

बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरू (तस्बिरसहित)

एसईई १३ दिनपछि : ५ लाख २२ हजार विद्यार्थी सहभागी हुँदै

बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा शान्ति र सुनिता प्रथम

प्रतिक्रिया