शुक्रबार ०१ चैत, २०८१

नेपाली समय

Facebook Live Youtube Live

विद्यार्थीलाई प्राविधिक क्षेत्रमा सक्षम बनाउँदै पद्मकन्या विद्याश्रम (भिडियो)

यस विद्यालयले शैक्षिक पाठ्यक्रम मात्रै नभएर विज्ञान, गणित र प्रविधिका क्षेत्रमा पनि विद्यार्थीहरूको गहिरो रुचि र ज्ञान विस्तार गर्ने नयाँ तरिका अवलम्बन गरेको छ ।

नेपालमा पछिल्ला वर्ष सरकारी विद्यालयप्रति विद्यार्थीहरूको आकर्षण बढ्दो छ । गुणस्तरीय शिक्षा, शैक्षिक सुधारहरूको कार्यान्वयन र सस्तो दरमा उच्च शिक्षाका अवसरहरूको वृद्धिले सरकारी विद्यालयमा विद्यार्थी झुम्मिन थालेका हुन् । 

शिक्षा मन्त्रालय र स्थानीय तहहरूले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि विभिन्न पहलहरू गरिरहेका छन् । शिक्षकहरूको गुणस्तर सुधार, पाठ्यक्रममा परिवर्तन र डिजिटल शिक्षामा ध्यान दिइएको छ । 

अहिले विद्यार्थीको आकर्षण रहेका विद्यालयमध्येमा पर्छ– काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम मावि । यस विद्यालयले शैक्षिक पाठ्यक्रम मात्रै नभएर विज्ञान, गणित र प्रविधिका क्षेत्रमा पनि विद्यार्थीहरूको रुचि र ज्ञान विस्तार गर्ने नयाँ तरिका अवलम्बन गरेको छ ।

पद्मकन्या विद्याश्रमले सिभिल इन्जिनियरिङजस्ता प्राविधिक विषयहरूलाई विद्यालयको सामान्य पाठ्यक्रममा समावेश गरेर विद्यार्थीहरूलाई व्यावसायिक दृष्टिकोणबाट तयार पार्दै आएको छ । 

‘मैले ९ कक्षादेखि सिभिल इन्जिनियरिङ पढिरहेको छु, आफ्नो रुचिअनुसार नै यो विषय पढेकी हुँ,’ कक्षा १० की छात्रा रचना भण्डारी भन्नुहुन्छ, ‘अरु विषय पढ्दा सामान्य हिसाबले घोकेर पढिने भइयो, यसमा चाहिँ प्राक्टिकल्ली सिक्न पाएका छौं ।’ सिभिल इञ्जिनियरिङ पढ्न रमाइलो लागेको र भोलि यही फिल्डमा लागेर काम गर्न सकिन्छ भन्ने विश्वास पनि जागेको उहाँ बताउनुहुन्छ ।

कक्षा १० कै ममिना हाङ राई पनि सिभिल इन्जिनियरिङ पढिरहनुभएको छ । ‘मलाई आर्किटेक्ट बन्न मन छ त्यसैले ९ कक्षादेखि नै सिभिल इञ्जिनियरिङ रोजेको हुँ,’ उहाँ भन्नुहुन्छ, ‘अभिभावकले पनि मलाई निकै सपोर्ट गर्नुभएको छ । भोलि छोरी सफल इञ्जिनियर बन्न सक्छे भन्ने विश्वास पनि उहाँहरूले राख्नुभएको छ ।’

विद्यालयका सिभिल इञ्जिनियरिङ शिक्षक सुदीप कोइराला कक्षा ९ देखि नै इन्जिनियरिङ पढाउँदा विद्यार्थीलाई विश्वव्यापी चुनौतीको सामना गर्न सहयोग पुग्ने बताउनुहुन्छ । ‘जुन कुरा हामीले स्नातक तहमा मात्रै पढ्न पाएका थियौं, त्यो कुरा ९ कक्षादेखि नै पढ्न पाउँदा सकारात्मक प्रभाव परेको छ, त्यसले नानीबाबुहरूलाई बाहिरी दुनियाँसँग प्रतिस्पर्धा गर्न पनि सक्षम बनाउँछ ।’

यस कार्यक्रमले विद्यार्थीलाई सिधै उच्च शिक्षा र प्राविधिक क्षेत्रमा कदम राख्न सक्षम बनाउने विद्यालयको विश्वास छ ।

‘यो शिक्षा मन्त्रालयकै प्रोग्राम हो, मन्त्रालयले विद्यार्थीलाई प्राविधिक ज्ञान पनि दिनुप¥यो भन्ने हिसाबले कार्यक्रम बनाएपछि हामीले कक्षा ९ देखि सिभिल इन्जिनियरिङ पढाउन थालेका हौं,’ पद्मकन्या विद्याश्रमकी प्रधानाध्यापक रीता तिवारी भन्नुहुन्छ, ‘हामीले यो पाठ्यक्रम लागू गरेपछि तीनवटा ब्याच पासआउट भइसकेको छ ।’

विद्यार्थीले कक्षा ९ मा सामान्य कोर्सका पाँचवटा र सिभिल इन्जिनियरिङका थप चारवटा विषय पढ्नुपर्छ । सर्भे गर्नेदेखि लिएर विल्डिङ कन्स्ट्रक्सन, वाटर सप्लाई, अटो क्याटसम्मका एउटा घर बनाउनका लागि आवश्यक पर्ने आधारभूत ज्ञान विद्यार्थीले कक्षा ९ र १० मै पाइसक्ने उहाँ बताउनुहुन्छ । 

कक्षा ११ र १२ पास गर्दा विद्यार्थीले प्रि–इन्जिनियरिङ (ओभरसियर) तहको ज्ञान हासिल गरिसक्छन् । उनीहरू लोकसेवाको प्राविधिक पाँचौं तहको परीक्षामा सहभागी हुन पनि सक्छन् । 

सिभिल इञ्जिनियरिङको पढाइका लागि विद्यालयलाई मन्त्रालयले नै खर्चको व्यवस्था गरिदिएको प्रधानाध्यापक तिवारी बताउनुहुन्छ । ‘कक्षा १२ सम्म ९ जना प्राविधिक शिक्षक मात्रै हुनुहुन्छ, ७ जना सिभिल इन्जिनियरिङका लागि र दुई जना फिजिक्स र केमेष्ट्रीका लागि,’ उहाँ भन्नुहुन्छ, ‘त्यसका अलावा मन्त्रालयले ल्याब र १०–१२ का विद्यार्थीको फिल्ड ट्रेनिङका लागि पनि अनुदानको व्यवस्था गर्दै आएको छ ।’

मन्त्रालयले अहिले सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स र एग्रिकल्चरलगायतका कार्यक्रम विद्यालयहरूमा सञ्चालन गरिरहेको छ । त्यसका अलावा कक्षा ९ को पाठ्यक्रममा ऐच्छिक दोस्रो पत्रअन्तर्गत प्लम्बिङ, ब्युटिसियन (सौन्दर्यशास्त्र) लगायतका धेरैवटा विषय समावेश गरिएको छ । 

कन्या स्कुलले यसमध्ये सौन्दर्यशास्त्र छनोट गरेर अध्ययन गराइरहेको छ । ‘नानीहरू मात्रै पढ्ने स्कुल भएकाले ठीकै हुन्छ भनेर यो विषय हामीले रोज्यौं तर पढाउनचाहिँ निकै चुनौतीको सामना गर्नुपर्‍यो,’ प्रधानाध्यापक तिवारी भन्नुहुन्छ, ‘तर पूर्वविद्यार्थीहरू र विभिन्न संघसंस्थाको पहलमा आधुनिक ल्याब तयार गरेर यो विषय प्राक्टिकल्ली नै सिकाइरहेका छौं ।’

भौतिक पूर्वाधारका हिसाबले यो स्कुल निजी विद्यालयहरूभन्दा सम्पन्न भए पनि बजेट अभावमा व्यवस्थित रुपमा सञ्चालन गर्न नसकिएको उहाँ बताउनुहुन्छ । ‘विद्यालयमा हुनुपर्ने थोरै कम्पोनेन्ट मात्रै सरकारी स्कुलमा छ, त्यसलाई सुधार गर्न सकियो भने अझै राम्रो गर्न सकिन्छ,’ उहाँ भन्नुहुन्छ ।