बलिदानकी प्रतीक होलिका (बालकथा)
होलिका आगोमा नजल्ने वरदानले गर्विता थिइन् तर उनको मन शान्त थिएन । उनलाई आफ्ना राजा दाजुको आदेश मान्नैपर्ने बाध्यता थियो । एकातिर भातृप्रेम थियो, अर्कोतिर निर्दोष भतिजाको हत्या ।

राजा हिरण्यकश्यपको महलमा हर्षोल्लास थियो तर यो खुशी प्रह्लादका कारण थिएन । खुशी थियो, किनभने अन्ततः प्रह्लादलाई मार्ने योजना बनिसकेको थियो । योजनाकाे मुख्य पात्र थिइन्– हिरण्यकश्यपकी बहिनी होलिका ।
होलिका आगोमा नजल्ने वरदानले गर्विता थिइन् तर उनको मन शान्त थिएन । उनलाई आफ्ना राजा दाजुको आदेश मान्नैपर्ने बाध्यता थियो । एकातिर भातृप्रेम थियो, अर्कोतिर निर्दोष भतिजाको हत्या ।
प्रह्लाद बालक थिए तर उनी कुनै साधारण बालक थिएनन् । उनी सधैं भगवान् विष्णुको भजन गाइरहन्थे । उनले आफ्नो पिता हिरण्यकश्यपको आज्ञा मानेनन् । "भगवान् विष्णु नै सर्वोच्च हुन्," उनले घोषणा गरिरहे । यही कारण उनलाई सजाय दिनु पर्थ्यो ।
होलिका प्रह्लादलाई काखमा लिएर आगोमा बस्न राजी भइन् । दाजुको आदेश अवज्ञा गर्न उनले सकिनन् तर मनमा द्विविधा थियो । उनलाई थाहा थियो, प्रह्लाद निर्दोष छ ।
जब होलिका प्रह्लादलाई लिएर आगोमा बसिन्, आगो बल्न थाल्यो । प्रारम्भमा उनलाई केही भएन । उनी गर्वका साथ मुस्कुराइन् तर केही क्षणमै उनलाई अनौठो महसुस भयो । उनको शरीर पोल्न थाल्यो । वरदानले रक्षा गर्न सकेन ।
त्यसैबेला उनले प्रह्लादको अनुहार हेरेर सोचिन्, "के म वास्तवमै दुष्ट छु ? के म आफ्नो निर्दोष भतिजालाई जलाएर न्याय गरिरहेकी छु ?"
प्रह्लाद निश्चिन्त थिए । उनी आँखा बन्द गरेर विष्णुको भजन गाइरहेका थिए । आगोले उनलाई केही गर्न सकेन ।
होलिकाले एकाएक आफ्नो निर्णय लिएर भित्रभित्रै प्रार्थना गरिन्, "हे भगवान् विष्णु, यदि म अन्यायको पक्षमा छैन भने मेरो शक्तिले प्रह्लादको रक्षा गर्न सकोस् ।"
चमत्कार भयो । होलिकाले आफ्नो ओढनी प्रह्लादलाई ओढाइन् । आगोले प्रह्लादलाई छोएन तर होलिका आफैं आगोले ग्रस्त भइन् ।
उनको अन्तिम शब्द थियो, "दाजु, तपाईं अन्धकारमा हुनुहुन्छ । सत्यलाई जलाउन सकिँदैन ।"
त्यसपछि होलिका खरानी भइन् तर उनको बलिदानले सत्यको विजय भएको सन्देश दियो । यसै घटनालाई सम्झेर होली पर्व मनाइन्छ । होलिका दहन वास्तवमा सत्यका लागि होलिकाले गरेको बलिदानको प्रतीक हो ।
श्री जनता मावि (प्राविधिक) गोलबजार-४, सिरहा ।
प्रतिक्रिया