शुक्रबार ०१ चैत, २०८१

नेपाली समय

Facebook Live Youtube Live

‘आफ्ना बच्चालाई अर्कोसँग तुलना गरेकाे मन पर्दैन’ (भिडियाे)

त्रिपुरालाई १० वर्षपछि कार्डियोलोजिष्ट बन्न मन छ, सागर भन्नुहुन्छ- जेनेटिक इन्जिनियर बन्छु

किशोर आवाजको तेह्रौं श्रृंखलामा हामीले काठमाडौंकाे तीनकुनेस्थित एभिएस कलेजमा अध्ययनरत सागर यादव र त्रिपुरा खड्कासँग कुराकानी गरेका छौं । 

सागर र त्रिपुरा सहपाठी हुनुहुन्छ । उहाँहरू विज्ञान संकायमा पढ्नुहुन्छ । उहाँहरू कक्षाको सिआर हुनुहुन्छ । कक्षाको प्रतिनिधि भएपछि स्वतः जिम्मेवारी बढी हुने उहाँहरू बताउनुहुन्छ । 

विज्ञानमा पनि त्रिपुरालाई बोटानिक र सागरलाई बायोलोजी पढ्न मन पर्छ । त्रिपुराले कक्षा ७ मा पढ्दै शिक्षकको प्रेरणाले विज्ञान विषयमा चासो लिन थाल्नुभएको हो । सागरले चाहिँ दुर्घटनामा परेर अस्पताल बस्नुपर्दा चिकित्सकहरूले गरेका काम देखेपछि म पनि त्यस्तै बन्छु भन्ने सोचले विज्ञान पढ्नुभएको हो । 

सागरलाई पढाइको फुर्सदिलो समयमा देशभित्रै घुमफिर गर्ने मौका पाए मन मिल्ने साथीहरूसँग मनाङ, मुस्ताङ घुम्न मन छ । त्रिपुरालाई भने त्यही ठाउँमा एक्लै जान मन छ । 

पढाइबाहेक के गर्न मन लाग्छ ? भन्ने प्रश्नमा त्रिपुरा भन्नुहुन्छ, ‘मलाई ठ्याक्कै यसैमा रुचि भन्ने छैन तर ट्रेन्डिङ जे चलेको छ, त्यही गर्न मन लाग्छ ।’ सागरलाई चाहिँ अंग्रेजी कविता लेख्न मन लाग्दो रहेछ । 

१० वर्षपछि मेडिकल फिल्डमा जाने र कार्डियो डाक्टर बन्ने त्रिपुराको मन छ भने सागरले जेनेटिक इन्जिनियर बन्ने सोच बनाउनुभएको छ ।

त्रिपुरालाई कक्षा १० मा हुँदा फुटबल खेल्न मन पर्थ्याे तर कक्षा ११ मा बास्केटबलतिर मन डुलाउनुभएको छ । सागरचाहिँ खेलकुदमा त्यति रुचि नभएको, बरु घुमफिर गर्न बढी मन लाग्ने बताउनुहुन्छ । 

सागरलाई आफ्नो प्यारो चिज गुमाउनुपर्ला कि भन्ने डरले सधैं सताउँदो रहेछ भने त्रिपुरालाई आमाको इच्छा, आकांक्षा पूरा गर्न सक्दिन कि भन्ने कुराले पिरोल्दो रहेछ ।

आफूप्रति अरुको इच्छा, चाहनाले बालबालिकामा मनोवैज्ञानिक दबाब सिर्जना हुने तर त्यसले सफलतामा पनि लैजाने बताउनुहुन्छ सागर । उहाँहरू दुवै जना मान्छेको रुपभन्दा बानी, व्यहोरा र सामाजिक सोचका आधारमा राम्रो–नराम्रोको मूल्यांकन गर्नुपर्ने बताउनुहुन्छ । 

छोरा र छोरीबीचमा आज पनि विभेद रहेको र त्यो आफ्नै घर, परिवारबाट भइरहेको उहाँहरू बताउनुहुन्छ ।समाजबाट एउटा कुरा हटाउने अवसर पाउनुभयो भने के हटाउनुहुन्छ भन्ने प्रश्नमा उहाँहरू भन्नुहुन्छ, ‘आफ्ना बच्चालाई अर्कोसँग तुलना गर्ने प्रवृत्ति, लैंगिक विभेद र नेतृत्व तहमा रहेका पुराना र पाका नेताहरूलाई हटाउन चाहन्छौं ।’

विद्यार्थीले पहिला जुन विषय पढ्ने हो, त्यसैमा कन्सन्ट्रेट हुनुपर्ने र धेरैवटा विषयमा एकैपटक बरालिन नहुने सागर बताउनुहुन्छ । 

त्रिपुराचाहिँ कोर्सभन्दा बाहिरको पुस्तक पढ्न बढी मन पराउनुहुन्छ । उहाँ धेरैजसो मोबाइलबाट पढ्नुहुन्छ तर मोबाइल धेरै चलाएकोमा आमाको गाली खाने गरेको बताउनुहुन्छ । ‘अनावश्यक रूपमा मोबाइल चलाउन हुन्न, अभिभावकले पनि बच्चाले मोबाइलको प्रयोग के कसरी गरिरहेको छ भन्ने बुझेर मात्रै गाली गर्नुपर्छ,’ उहाँ भन्नुहुन्छ ।