रङ्गको जादू (बालकथा)
होली आउन लागेको थियो र गाउँका सबै बालबालिका रङ्गको जोहो गर्न, पानीको फोहरामा रमाउन र पिचकारी किन्ने धुनमा थिए तर शिशिरको मन अलि फरक थियो ।

शिशिर गाउँको कान्छो बालक थियो । उसलाई खेल्न, रमाउन, साथीहरूसँग घुलमिल हुन एकदमै मन पर्थ्यो ।
होली आउन लागेको थियो र गाउँका सबै बालबालिका रङ्गको जोहो गर्न, पानीको फोहरामा रमाउन र पिचकारी किन्ने धुनमा थिए तर शिशिरको मन अलि फरक थियो ।
"आमा, होलीमा सबैलाई रङ्ग लगाइन्छ, हैन ?" उसले आमालाई सोध्यो ।
"हो, बाबु । होली खुसीको पर्व हो । सबैले मिलेर रमाइलो गर्ने पर्व हो ।" आमाले मुस्कुराउँदै भन्नुभयाे ।
"तर आमा, रमाइलो गर्नलाई के अरूलाई जबरजस्ती रङ दल्नुपर्छ ?" शिशिरको यो प्रश्नले आमा अलिक छक्क पर्नुभयाे ।
"हैन बाबु, जबरजस्ती गर्ने होइन । जसले चाहन्छ, उसले मात्र खेल्ने हो । सबै रमाउनु पर्ने पर्व हो ।"
शिशिर केही सोच्दै आफ्नो कोठातिर लाग्यो । ऊ बिहानदेखि आफ्ना साथीहरूलाई होली खेल्न मन छैन भनेको सुन्दै आएको थियो । कोही रङ्गले छालामा एलर्जी हुने भन्थे, कोही रंग मन नपर्ने भन्थे ।
भोलिपल्ट बिहान सबेरै गाउँका बालबालिका होली खेल्न दौडिए । चोकभरि पानीको फोहोरा, पिचकारी र रङ्गहरू देखिन्थे । कोही रातो, कोही पहेँलो, कोही नीलो, सबै बच्चाहरू रंगले भरिएका थिए तर शिशिर भने एक छेउमा उभिएको थियो ।
"शिशिर ! तँ किन होली खेल्दै छैनस् ?" उसले आफ्ना साथीहरूको आवाज सुन्यो ।
"म पनि खेल्छु तर जति चाहन्छु, त्यति मात्र ।"
"त्यसो भए तँ हामीलाई रङ्ग लगाइदे, हामी तँलाई रङ्ग लगाउँछौँ !"
शिशिरले मुस्कुराउँदै एउटा सानो टोकरी निकाल्यो । त्यस टोकरीमा हानिरहित प्राकृतिक रङ्गहरू थिए- गुलाफको फूल, हल्दी, पालुङ्गोको हरियो धुलो ।
"हेर त, यी रङ्गहरू कत्तिको सुगन्धित छन् !" उसले फूलको धुलो साथीहरूलाई देखायो ।
सबै साथीहरू छक्क परे, "यी त केमिकलवाला रङ्ग जस्तो पटक्कै छैनन् !"
"हो, होली रमाइलो गर्ने पर्व हो तर हामी रमाउँदा अरूलाई दुःख दिनु हुँदैन । मैले आमा-बाबासँग सल्लाह गरेर यी प्राकृतिक रङ्गहरू तयार गरेको हुँ ।"
साथीहरू खुसी भए । उनीहरूले पनि ती रङ्गहरू लिएर खेल्न थाले । त्यो रङ्ग छालामा नरम थियो, आँखा पोल्ने थिएन र सुगन्धित थियो । केही समयपछि गाउँका ठूलाबडाहरू पनि आउनुभयाे । उहाँहरूले बच्चाहरूको खेल हेरिरहनुभएकाे थियाे ।
"यो त राम्रो सोच रहेछ ! प्राकृतिक रङ्गले त कसैलाई असर पनि गर्दैन !" वृद्ध बाजेले भन्नुभयाे ।
"हो त ! होली त रमाइलोका लागि हो, दुःख दिनका लागि होइन !" छेउमै बसिरहनुभएकी हजुरआमाले थप्नुभयाे ।
गाउँभरि खबर फैलियो । अबदेखि गाउँमा सबैले प्राकृतिक रङ्ग मात्र प्रयोग गर्ने निर्णय गरे ।
त्यस दिनदेखि शिशिरलाई गाउँभरि सबैले ‘रङ्गको जादूगर’ भन्न थाले । उसले देखाइदियो- रङ्ग मात्रै नभएर, मन पनि रङ्गिनुपर्छ भनेर ।
(२०८१ फाल्गुन १५ गते)
श्री जनता माध्यमिक विद्यालय, गोलबजार -४, सिरहा ।
प्रतिक्रिया