शुक्रबार ०१ चैत, २०८१

नेपाली समय

Facebook Live Youtube Live

विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा

'अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय नसर्ने रोगको प्रभाव समुदायस्तरमा फैलिँदै गएकाले विद्यार्थीलाई शिक्षा र प्रशिक्षण दिइएकाे हाे ।'

मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा रहेका चारवटा माध्यमिक विद्यालयका चार सयभन्दा बढी विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ ।

आयुर्वेद स्वास्थ्यबारे विद्यार्थीलाई सानै उमेरदेखि जानकारी गराउने, योगको सैद्धान्तिक तथा प्रयोगात्मक सीप सिकाउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्र मुगुको आयोजनामा अध्यानरत विद्यार्थी, शिक्षक, शिक्षिका कर्मचारीलाई विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले जनाएको छ ।

मुगुमा धेरै प्रकारका बहुमूल्य जडिबुटी पाइने भए पनि स्थानीयलाई सामान्य जानकारीसमेत नभएको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयाे । ‘मुगुमा धेरै प्रकारका बहुमूल्य जडिबुटी पाइन्छ तर यसको सामान्य जानकारी पनि छैन, त्यसैले ती जडिबुटीका फाइदाको बारेका मुगु जिल्ला छाँयानाथ रारा नगरपालिकाभित्र रहेका प्रकाश मावि लुम, हिमोदय मावि बाम, कर्णाली मावि टोप्ला, बुद्ध मावि माग्रीमा कक्षा ७, ८, ९ र १० का विद्यार्थी, शिक्षक कर्मचारीलाई आयुर्वेदसँगै स्वस्थ जीवनशैलीका विभिन्न आयामहरूबारे जानकारी गराएका हाैं,’ उहाँले भन्नुभयाे ।

अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय नसर्ने रोगको प्रभाव समुदायस्तरमा फैलिँदै गएको कर्णाली माविका प्रधानाध्यापक चन्द्रप्रकाश बढुवालले बताउनुभयाे । ‘अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय नसर्ने रोगको प्रभाव समुदायस्तरमा फैलिँदै गएपछि कर्णाली माध्यमिक विद्यालय टोप्लाले त्यसबारेमा विद्यालय उमेर समूहकै बालबालिकाहरूलाई जानकारी प्रदान गरेर स्वस्थ जीवनशैली अपनाउन उनीहरूलाई प्रेरित गरेको छ,' उहाँले भन्नुभयाे ।

विद्यार्थी, शिक्षक र कर्मचारीलाई योगबाट मानिसलाई हुने विभिन्न नियमित व्यायाम, योगले शरीरका विभिन्न अंग र मानव जीवनमा हुने फाइदाको बारेमा योगका व्यायाम गर्ने तरिका प्रत्यक्ष्य रुपमा सिकाउनुका साथै मानिसको दैनिक खानपिन र बानि व्यवहारको बारेमा योगगुरु जयबहादुर मल्लले प्रशिक्षणसमेत गराउनुभएकाे छ ।