शुक्रबार ०१ चैत, २०८१

नेपाली समय

Facebook Live Youtube Live

'अंग्रेजी र विज्ञान मन पर्छ, सामाजिक पढ्न मन लाग्दैन' (भिडियाे)

दीक्षिताले १२ वर्षकै उमेरमा देखापरेको मुखको क्यान्सरलाई जितेर पढाइलाई निरन्तरता दिइरहनुभएको छ भने जेनिशाले राम्रो ह्याण्डराइटिङ लेखेर राष्ट्रव्यापी प्रतियोगितामा दोस्रो स्थान हासिल गर्नुभएको छ ।

किशोर आवाजको बाह्रौं श्रृंखलामा हामीले दीक्षिता राना र जेनिशा आचार्यसँग कुरा गरेका छौं ।

दीक्षिता काठमाडौंको कोटेश्वरस्थित ट्रिटन इन्टरनेशनल कलेजमा कक्षा ११ मा व्यवस्थापन संकायमा अध्यनरत हुनुहुन्छ । जेनिशाचाहिँ भक्तपुरको सिर्जनानगरस्थित पाथीभरा एकेडेमीमा कक्षा ७ मा पढ्नुहुन्छ । 

lll

जेनिशा राम्रो हस्तलेखन गर्नुहुन्छ । उहाँ विभिन्न प्रतिस्पर्धामा पनि सहभागी भइसक्नुभएको छ । पछिल्लोचोटि उहाँले बाल विकास एनसिएमएएस प्रालिले आयोजना गरेको राष्ट्रिय हस्तलेखन प्रतिस्पर्धामा ५ हजार विद्यार्थीबीच दोस्रो भएर पुरस्कार पनि पाउनुभएको छ । 

त्यसका अलावा हालै उहाँले ब्याडमिन्टन प्रतियोगितामा भाग लिएर तेस्रो हुनुभयो । नृत्य र वादविवाद प्रतियोगितामा पनि सहभागी हुनुभएको छ । 

सानैदेखि राम्रो अक्षर लेख्ने जेनिशा कक्षा ६ बाट झन् राम्रो अक्षर लेख्न थालेको बताउनुहुन्छ । ‘म पहिला अर्को स्कुलमा पढ्थें, पाथीभरामा आएर कक्षा ६ मा शिक्षकले गाइड गरेपछि झन् राम्रो लेख्न थालेँ,’ उहाँ भन्नुहुन्छ ।  
सबै प्रतिस्पर्धाहरुमा जाँदा विद्यालयबाट र अभिभावकबाट आफूले निकै सहयोग पाएको जेनिशा बताउनुहुन्छ । ‘हस्तलेखन र अन्य प्रतिस्पर्धाहरुमा जाँदाजाँदै मेरो कन्फिडेन्स लेभल पनि निकै बढेको महसुस गरेको छु,’ उहाँ भन्नुहुन्छ ।

हरेक दिन थोरै समय निकालेर हस्तलेखनको अभ्यास गर्ने गरेको जेनिशा बताउनुहुन्छ । पढाइमा हस्तलेखनको महत्व धेरै हुन्छ ।  ‘परीक्षामा लेख्दा अक्षर राम्रो भएन भने शिक्षकहरुले नबुझेर नम्बर काटिदिने सम्भावना हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले सबै जनाको ह्याण्डराइटिङ राम्रो हुनुपर्छ । कहिलेकाहीं कक्षामा शिक्षकहरुले अलि नराम्रो लेख्ने साथीहरुलाई जेनिशाको जस्तो ह्याण्डराइटिङ लेख भन्नुहुन्छ । त्यस्तो सुन्दा खुशी पनि लाग्छ ।’

lll

१२ वर्षको हुँदा दीक्षितामा गम्भीर स्वास्थ्य समस्या देखा परेको थियो– अन्डर रास्बोरस ओरल माउथ क्यान्सर । काठमाडौंको वीर अस्पतालमा दुई वर्षको स्वास्थ्य उपचारपछि त्यसलाई निको पारेर उहाँले पढाइलाई निरन्तरता दिइरहनुभएको छ । 

‘त्यतिबेला क्यान्सरबारे सुने पनि आफैं त्यो समस्याबाट पीडित छु भन्ने मलाई थाहा थिएन,’ उहाँ भन्नुहुन्छ । क्यान्सरको उपचारका क्रममा उहाँले पाएका हैरानी त भनिसाध्य छैन ।

उपचारका क्रममा बुवाआमाले गर्नुभएका संघर्षलाई नजिकबाट हेर्ने अवसर पाएको दीक्षिता बताउनुहुन्छ । ‘बुबाआमाको माया र दुःख मैले त्यतिबेला महसुस गरेँ, अस्पतालमा सबैबाट धेरै माया पाएँ, डाक्टरहरुले पनि राम्रो हेरचाह र सहयोग गर्नुभयो,’ उहाँ भन्नुहुन्छ । 

बालबालिकामा यस्तो जटिल स्वास्थ्य समस्या देखापर्‍यो भने उनीहरुलाई त्यसबारे जानकारी नदिई उपचार गराउनु राम्रो हुने दीक्षिताको अनुभव छ । ‘मलाई यस्तो भएको छ भन्ने थाहा भयो भने झन् तनाव हुन्छ र रोगले हामीलाई थप सताउँदै लैजान्छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले थाहा नदिइकनै उपचार गर्नुपर्छ । मलाई पनि पछिसम्म मेरा बुवाआमाले यस्तो भएको हो तिमीलाई भनेर भन्नुभएको थिएन ।’ 

आफ्ना बालबालिकामा यस्तो स्वास्थ्य समस्या देखापर्दा अभिभावकले पनि हतास र निराश बन्न नहुने उहाँको सुझाव छ । ‘बिरामीले पनि सधैं आशावादी हुनुपर्छ,’ दीक्षिता भन्नुहुन्छ, ‘उपचारका क्रममा बाबासँग अस्पताल आउजाउ गर्दा बाटामा उपचारका लागि पैसा उठाइरहनुभएका व्यक्तिहरु देख्थें, उहाँहरुसँग म आफ्नो तुलना गर्थें र मनोबल बलियो बनाउँथेँ ।’ 

दुई वर्ष उपचार सकेर विद्यालय गएको दिन अविश्मरणीय रहेको उहाँ बताउनुहुन्छ । ‘त्यो दिन सबै जना धेरै नै खुसी थियौं,’ दीक्षिता भन्नुहुन्छ, ‘विद्यालय जान ड्रेस लगाएर निस्किएपछि हामीले त्यो दिनको मेमोरीका लागि भनेर फोटो पनि खिचेर राखेका छौं ।’

दीक्षिताले नृत्य, गायन, वादविवाद प्रतियोगिता र पब्लिक स्पिचमा आफूलाई अब्बल सावित गर्दै आउनुभएको छ । विद्यालयमा भएका विभिन्न प्रतिस्पर्धामा पनि उहाँले सहभागिता जनाउने गर्नुभएको छ । उहाँ अभिनय र क्यारिकेचर पनि राम्रोसँग गर्न सक्नुहुन्छ । 

lll

उहाँहरु दुवै जनालाई पढाइमा उत्तिकै रुचि छ । दीक्षितालाई अंग्रेजी र जेनिशालाई विज्ञान विषय पढ्न बढी मन पर्छ । 

‘अकाउन्ट र सोसलचाहिँ पढ्न नपरे हुन्थ्यो जस्तो लाग्छ,’ दीक्षिता भन्नुहुन्छ, ‘अंग्रेजीको गृहकार्यचाहिँ सुरुमै सकिहाल्छु ।’

ठूलो हुँदै जाँदा आफ्ना इच्छालाई पूरा गर्ने र क्यान्सरको उपचारका क्रममा भोगेका र अनुभव गरेका कुराहरु अरुसँग बाँड्नै जाने दीक्षिताको इच्छा छ ।  

आमा पनि शिक्षक भएकाले पढाइमा सजिलो भएको जेनिशा बताउनुहुन्छ । ‘मेरो मामु विज्ञानको शिक्षक हुनुहुन्छ, त्यही भएर मलाई पनि विज्ञानमै बढी रुचि छ ।’

जेनिशाले भविष्यको योजना बनाइसक्नुभएको छैन । उहाँ ठूलो भएपछि आमा–बाबाले जुन विषय भन्नुहुन्छ, त्यसैलाई अघि बढाउने सोचमा हुनुहुन्छ ।

उहाँहरु दुवै जनाको प्रेरणादायी व्यक्तित्व आफ्ना आमा–बाबा हुनुहुन्छ ।

दीक्षिता र जेनिशासँगकाे रमाइलाे स‌ंवाद सुनाैं उहाँहरुकै शब्दमा ।