बा ! (कविता)
साँच्ची बा, तिमीले पसिना बगाएको ठाउँ कस्तो छ ? परदेशमा सजिलो हुन्छ होला है ? बाले गहभरि आँशु पारेर भने– बरु म खेती गरेर नै तिम्रा इच्छा पूरा गर्नेछु ।

बा... तिम्रा ती दुःख सम्झिऊँ त म कसरी
जबकि म अन्योलमा पर्छु ।
जब दुःख र संघर्ष के हो महसुस गर्छु
अनि त म मेरो बालाई सम्झन्छु ।
बालाई सोधें एकदिन
बा, तिम्रा ती कलिला हत्केला
कसरी ढुंगाजस्ता हुन पुगे ?
आफैं महसुस गरेँ–
सायद हाम्रै लागि हुन सक्छ
अनि त म मेरो बालाई सम्झन्छु ।
एकदिन आमालाई सोधें–
आमा ! बा घर किन आउनु हुँदैन,
कतै बाले हामीलाई भुल्नु त भएको छैन ?
आमाले गहभरि आँशु पार्दै भनिन्–
छोरा, तिमीहरुकै लागि परदेशिनुपरेको हो
लाग्छ कि मलाई पनि तिम्रा बाले भुल्नुभयो,
तर विश्वास छ छोरा तिम्रा बामाथि ।
बालाई भन्छु म–
बा तिम्रा पनि त एकदिन सुखका दिन आउलान् है !
जब म कमाउनलाई घर छोडेर जान्छु
अनि तिम्रा पनि सुखका दिन आउने छन् ।
म तिम्रा खुसी बटुल्न परदेश जानेछु ।
साँच्ची बा, तिमीले पसिना बगाएको ठाउँ कस्तो छ ?
परदेशमा सजिलो हुन्छ होला है ?
बाले गहभरि आँशु पारेर भने–
बरु म खेती गरेर नै तिम्रा इच्छा पूरा गर्नेछु ।
त्यसैले त म हरपल बालाई सम्झन्छु ।
बा, तिमी महान् हौ
बा, तिमी भगवान हौ
बा, तिमी सबथोक हौ ।
प्रतिक्रिया