बिहीबार ०४ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

काठमाडौँ महानगरले फागुन १६ र १७ गते शैक्षिक मेला आयोजना गर्ने

प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गर्नेछन् ।

काठमाडौँ महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।

विद्यालयहरुमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको महानगरले जनाएकाे छ ।

विद्यालय शिक्षालाई वज्ञानिक र व्यावहारिक बनाउन तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्नका लागि महानगरपालिकाले सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रम गर्दै आएकाे छ ।

महानगरका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिनेछन् ।

मेलामा महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरुले सहजीकरण गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयाे । मेलामा प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरु नै हुनेछन् । 

प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गर्नेछन् ।

मेलामा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनालाई अवलोकनका लागि निमन्त्रणा गरिएको महानगरले जनाएकाे छ ।

यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिनेछ । 

विद्यार्थी नमूना संसद अभ्यास मेलाको महत्वपूर्ण आकर्षण हो । विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्र्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी, टिचर कलेज प्रोग्राम सम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेला अवलोकन गर्न पाइनेछ । 

कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ । तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तक्र्रिया आयोजना गरिनेछ । 

महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् ।