शुक्रबार ०१ चैत, २०८१

नेपाली समय

Facebook Live Youtube Live

जित (बालकथा)

रघुहरू कहिले वेदान्तको सर्टमा मसी छर्केर रङ्गाइदिन्थे । कहिले पुच्छर हालेर बाँदर भन्दै थपडी पिट्थे । कहिले मार्करले घमण्डी धोकेबाज भनेर सर्टमा लेखिदिन्थे । कहिले कागजको टुक्राटुक्रा पारेर वेदान्तको टाउकोमा हाल्थे । कहिले छिर्के लगाएर लडाउँथे ।

कक्षामा नयाँ विद्यार्थी पसेपछि सबैले मुखामुख गरेर हेरे । उनी पछिल्लो बेन्चमा गई टुसुक्क बसे । कक्षाकै हुल्याहा विद्यार्थी रघुले हकार्दै भने– ‘यो बेन्च हाम्रो हो । अर्को बेन्चमा गएर बस् ।’

नयाँ विद्यार्थी अर्को बेन्चमा गएर बसे । रघुले पुनः थर्काए, ‘यो पनि मेरो साथीको बेन्च हो, अर्कोमा बस् ।’

रघुको कुराले नयाँ विद्यार्थी आँखाभरि आँसु पारेर उभिरहे । सक्षम रिसाउँदै बोले, ‘चुप लाग रघु, मजाक गर्नुको पनि हद हुन्छ नि ! हामीलाई पो तिम्रो मजाक गर्ने बानी थाहा छ । उनलाई के थाहा ?’

कक्षामा पस्दै देवराज सरले भन्नुभयो, ‘होइन, किन हल्ला मच्चिएको हँ ?’

रघुले भने, ‘सर ! जीउ सुकेको खुट्टा फुकेको कार्टुन देखेर हाँसो लाग्यो ।’

‘कार्टुन भनेकै मनोरञ्जनका लागि त हो नि ! यसमा हल्ला गर्नुपर्ने कुरा के नै छ र ?’ देवराज सरको सोझो कुरा सुनेर विद्यार्थीहरू फेरि गलल्ल हाँसे ।

सक्षमले उठेर भने, ‘सर ! यिनीहरूले नयाँ साथीलाई जिस्क्याएका हुन् ।’

सरले नयाँ विद्यार्थीतिर हेर्दै भन्नुभयो, ‘ए त्यसो पो, पीर नगर बाबु, यिनीहरू आफ्नो जीउको भैँसी देख्दैनन्, अरूको जीउको जुम्रा देख्छन् । तिम्रो नाम के हो ? कहाँबाट आयौ ?’

‘सर ! मेरो नाम वेदान्त हो । बाबाको सरुवा भएकाले नेपालगञ्जबाट यहाँ आएको हुँ ।’

‘ठीक छ, राम्रोसँग पढ तर नडराऊ, यहाँ सक्षमजस्ता विद्यार्थी पनि छन् । तिमी उनीसँगै बस ।’

रघुले बिस्तारै भने, ‘सर पनि कुन ड्याङको मूला हो र ?’ रघुको कुरा सुन्ने जति फेरि हाँसे तर सरले सुन्नुभएन ।

सर गएपछि रघुले वेदान्तको कठालो समाएर भने, ‘ओ, डेरा जिन्दावाद ! तँ अर्कै स्कुलमा सर् । यो तँजस्ता झारपातले पढ्ने स्कुल नै होइन । यो त काठमाडौँकै टप स्कुल हो, बुझिस् ? तँ गधाले हामी घोडासँग दौडने कल्पना नगरे पनि हुन्छ ।’ कक्षाका धेरै विद्यार्थीहरू हो भन्दै चिच्याए । 

सक्षम जोरले बोले, ‘चुप लाग ! तमिज नभएका पापीहरू ‘कुुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै’ भनेको यही रहेछ । सरले सबैको भलो सोच्नू, कसैलाई दु:ख नदिनू भन्नुभएको बिस्र्यौ तिमीहरूले ? अर्को कुरा– को गधा हो, को घोडा हो त्यो त समयले बताउला ।’

रघुले अलि नम्र हुँदै बोले, ‘यार, तिमी रिसायौ कि क्या हो ? यस्सो ठट्टा पो गरेको हुँ ।  तिमी रिसायौ भने त बोर हुन्छ । ल माफ गर यार ! अब जिस्क्याउन्नौँ, ल भयो ?’

सक्षमले ल ल, भनेपछि रघु खुसी भए । यसरी दिन बित्दै गयो । सक्षम र वेदान्तको मित्रता पनि गहिरिँदै गयो । सर÷मिसले असल साथीको उदाहरण दिनुपरे उनीहरूकै नाम लिन थाल्नुभयो । स्कुलभरि पनि आठ कक्षाका सक्षमा र वेदान्त भनेपछि सबै हुरुक्कै गर्थे । उनीहरू दुवै पनि साह्रै खुसी थिए ।

प्रथम त्रैमासिकको रिजल्ट भयो । सधैँ प्रथम हुने सक्षम द्वितीय भए । सक्षमलाई आफू द्वितीय हुँदा केही नमज्जा लाग्यो । वेदान्त प्रथम भएकोमा खुसी पनि लाग्यो । वेदान्तलाई भने आफ्नो मिल्ने साथी द्धितीय हुँदा साह्रै चोट पर्‍यो । 

एक दिनको कुरा हो । सक्षम कक्षामा आउँदा वेदान्त थिएनन् । उनले यताउता खोजे कतै नभेटेपछि चौरमा गए । वेदान्तलाई चौरको कुनामा बसेको देखे । सक्षम दौडँदै  वेदान्त नजिक पुगेर भने, ‘वेदान्त के भयो ? किन अँध्यारो मुख लाएर यहाँ बसेको ? मेरो पीर गरेका हौ कि ? ल, हेर म तन्दुरुस्त छु । हिजो एक दिन स्कुल नआउँदैमा निराश हुनुपर्छ त ? त्यस्तो केही भएको पनि होइन, अलि–अलि टाउको दुखेको त हो नि !’

रघुहरू पनि वेदान्त भएको ठाउँमा पुगे । रघु हाँस्दै बोले, ‘हेर यार, यो मूर्ख तिम्रो पीरले निराश भएको होइन । हामीले तिमीलाई कुरा लाइदिन्छौँ भनेर नुन खाएको कुखुराजस्तै झोक्राएको हो पाजी ! हिजो त भन्दै थियो म त स्कुल नै टप गर्न सक्छु ।’  

गेहेन्द्रले कुरा थपे, ‘यो मुसुमुन्द्रे देख्दा मात्र सोझो हो । भित्र भने हँसिया जस्तो पो रहेछ बुझ्यौ ?’

रघु, गेहेन्द्रको कुरामा सही थाप्दै निशान बोले, ‘सङ्गत गर्दा आफू सुहाउँदो साथीको मात्र गर्नुपर्छ भनेको तिमीले मानेनौ । ल जे होस्, समयमै पाखेको आनीबानी थाहा पायौ, राम्रै भयो ।”

सक्षमले मायालु स्वरमा भने, ‘आऊ वेदान्त कक्षामा जाऔँ । हेर, तिमीहरू जस्तो खराब साथीले गर्दा असल साथी छुट्टिएका धेरै कथा पढिएको छ, बुझ्यौ ? वेदान्त खराब छन् भन्ने कुरा त म सपनामा पनि सोच्न सक्दिनँ । तिमीहरूले त के स्वयं भगवान्ले नै आएर वेदान्त खराब हुन् भने पनि म पत्याउँदिन बुझ्यौ ?’

रघुले वेदान्ततिर हेर्दै बाले, ‘तिमीले जे सोच तिम्रो खुसी यार ! यदि ऊ दोषी होइन भने खोई तिमीले भनेको मानेको ? हेर त घोसेमुन्टोे लाएर बसेको छ । तिमीले माछो समाएँ भनेर भ्यागुतो समाएछौ ।’  

रघुको कुराले सबै हाँसे । 

वेदान्त चुपचाप बसेपछि सबैले उनलाई नै नराम्रो ठाने, घमण्डी उपनाम दिए । कति गर्दा पनि वेदान्त नबोलेपछि सक्षमलाई पनि अरू साथीहरूको कुरा पत्याउन करै लाग्यो । सबै कक्षाकोठातिर लागे ।

सक्षमले साथ छाडेपछि सबैले वेदान्तलाई झन् हेप्न थाले । रघु, गेहेन्द्रले धेरै पीडा दिएपछि वेदान्तले बीचमै पढाइ छोडेर घर जाने निश्चय गरे । बुवाले केही समय मात्र स्कुल जाऊ भन्नुभएकाले मात्र उनी स्कुल गएका थिए ।

रघुहरू कहिले वेदान्तको सर्टमा मसी छर्केर रङ्गाइदिन्थे । कहिले पुच्छर हालेर बाँदर भन्दै थपडी पिट्थे । कहिले मार्करले घमण्डी धोकेबाज भनेर सर्टमा लेखिदिन्थे । कहिले कागजको टुक्राटुक्रा पारेर वेदान्तको टाउकोमा हाल्थे । कहिले छिर्के लगाएर लडाउँथे । जसले जे भने, जे गरे पनि वेदान्त मूर्तिले जस्तै चुपचाप सहन्थे ।

सक्षम  र   वेदान्त   बोल्न  छाडेको   केही दिनपछि  कक्षामा  बसिरहेका वेदान्तको टुप्पी समात्दै रघुले भने, ‘हेर, यो पापी, धोकेबाजको आज टुप्पी काट्नुपर्छ,  चारपाटे कपाल मुडेर मुग्लान कटाउनुपर्छ, ल, टाउको समाऊ गेहेन्द्र’ भन्दै कैंची निकालेर कपाल काट्नै कस्सिएका के थिए ।

सक्षमले कँैची खोस्दै रघुको गालामा दुई थप्पड लाए । त्यसपछि कक्षाका विद्यार्थीहरू अचम्म मान्दै एकै ठाउँमा जम्मा भए । वेदान्तले सक्षमको हात समात्दै भने, ‘बिन्ती ! नकुट, फेरि तिमीलाई... ।’ 

सक्षमले मुड्की ताक्दैै भने, ‘फेरि के ? वेदान्त ! तिमी मलाई यत्ति धेरै माया नगर यार ! देवराज सरले सबै कुरा भन्नुभयो ।’

सक्षमको कुरा सुनेर सबै जना अलमल्ल परे । सक्षमले पुनः आँखाभरि आँसु पार्दैै बोले, ‘सुन साथी हो ! यी नालीका कीराहरूले वेदान्तलाई बाटोमा एक्लो पारेर– तँ सक्षमसँग बोलिस् भने हाम्रा दाइहरू लगाएर उसको हात–खुट्टा  भाँचिदिन्छौं । तैंले सक्षमलाई साँच्चै माया गर्छस् भने ऊसँग टाढा हो भनेछन् । त्यसैले सक्षम मसँग टाढा भएका रहेछन्, सत्य कुरा यही हो । वेदान्त मलाई बचाउन यिनीहरूले गरेको घृणा र दिएको पीडा सहँदै आएका छन् ।’

निशानले डराउँदै भने, ‘हेर रघु ! मलाई माफ गर । सक्षमले सबै कुरा देखेजस्तै गरी सोधेपछि मैले ढाँट्न नै सकिनँ । अर्को कुरा वेदान्तले त सक्षमलाई नै प्रथम गराउन चाहेका रहेछन् । उनले नेपालीको ठ्याक्कै दस नम्बरको प्रश्न छोडिदिएका रहेछन् ।’ 

रक्षा बोलिन्, ‘हैन के भन्छौ तिमीहरू ? मैले त कुरा नै बुझिनँ नि !’ 

निशानले कुरा स्पष्ट पारे, ‘सरलाई वेदान्तले जाँचमा प्रश्न छोड्नुमा केही रहस्य छ भन्ने शङ्का लागेछ । जाँच सिद्धिएको केही दिनपछि सरले कक्षामा सबैलाई प्रश्न सोध्नुभएको थियो नि बिर्सियौ ?’ 

‘अहँ बिर्सिएकी छैन, त्यो दिन सरले वेदान्तलाई आफ्नो खुसीका लागि पनि सोच्नुपर्छ, सोझो रूखलाई सबैले काट्छन्, तिमी धेरै सोझो नबन भन्नुभएको थियो,’ रक्षाले उत्तर दिइन् । 

निशानले भने, ‘हो त्यही दिन सरले हामीलाई अरू प्रश्न सोध्नुभएको रहेछ ।  वेदान्तलाई झुक्याएर उनले जाँचमा छोडेको प्रश्नको उत्तर सोध्नुभएको रहेछ । वेदान्तलाई जाँचमा कुन प्रश्न छोडेँ भन्ने पनि पत्तो रहेनछ । उनले खुरुक्क उत्तर दिएपछि सरलाई उनले सक्षमलाई प्रथम गराउन चाहेको कुरा थाहा भयो अरे ।’

निशानको कुराले सबै अचम्म परे । निशान बोलिरहे, ‘नत्र त वेदान्तले नै स्कुल टप गर्ने रहेछन् । देवराज सरले सक्षमसँग त्यसै भन्नुभाथ्यो, हैन सक्षम ?’

सक्षमले आँखाभरि आँसु पार्दै भने, ‘हो, जब मैले सरलाई वेदान्तले मलाई नराम्रो भनेछन् भनेर रघुहरूले गरेका कुरा सुनाएँ ।  सरले कौवाले कान लग्यो भन्दैमा कौवाको पछि दौड्नु हुँदैन, पहिला आफ्नो कान छाम्नुपर्छ भन्नुभयो । मैले आजसम्म वेदान्त जस्तो गुणी मान्छे देखेकै छैन । उनले तिम्रो खुसीका लागि दुःख सहेका हुन् । नपत्याए सबै देखेजस्तै गरी कुरा धुत, सत्य तिम्रो सामु आउँछ । त्यसपछि तिमीले केही दिन वेदान्त र रघुहरू बीचको अन्तर हेर भन्नुभयो । मैले त्यसै गरेको हुँ ।’

तिसा ठूलो स्वरमा बोलिन्, ‘अब केही निर्णय हामीले पनि लिनुपर्छ । रघुहरू त कुहिएको आलु रहेछन् । यिनीहरूलाई पो यहाँबाट फ्याँक्नुपर्छ । नत्र अरूलाई पनि बिगार्छन् ।’ 

सक्षम रुन्चे स्वरमा बोले, ‘हो तिसा, यिनीहरू कुहिएको आलु नै हुन् । सबै बुझेर पनि म वेदान्तको पीडा चुपचाप हेरिरहेको थिएँ । वास्तवमै वेदान्त र रघुबीच आकाश–पातालकै अन्तर छ । वेदान्त बहुमूल्य हीरा नै हुन् ।’

सक्षमको कुरा सुनेर सबैको आँखा रसायो । सबैले रघु र गेहेन्द्रलाई स्कुलबाटै निकाल्ने कुरा गरे ।

वेदान्तले सम्झाए, ‘हामीले कहिल्यै पनि अरूको नराम्रो सोच्नु हुँदैन । जसले अरूको नराम्रो सोच्छ, त्यही खाल्डोमा पर्छ अरे ! आमाले सधैँ त्यसै भन्नुहुन्छ ।’

सक्षमले भने, ‘तिम्रो कुरा त ठीकै हो तर धेरै आदर्श बने पनि दुःख नै हुन्छ नि ! ल सबैले थाहा पायौ होइन रघुहरू र वेदान्तमा कति अन्तर रहेछ ?’ 

सबैले एकै स्वरमा भने, ‘सबै थाहा भयो । वेदान्त साह्रै असल पो रहेछन् । रघुहरू यो धर्तीकै बोझ हुन् ।’

रघु र गेहेन्द्रले हात जोड्दै भने, ‘वेदान्त हामीलाई माफ गर । अब हामी पनि तिमीजस्तै असल बन्छौँ । यस्तो गल्ती कहिल्यै गर्दैनौँ । आज हामीलाई राम्रोसँग थाहा भयो जति ढाँटे पनि बास्तवमा सत्यकै जीत हुनेरहेछ ।’

सक्षमले कुरा थपे, ‘हेर, साथी हो, हामीले यो कुरा भुल्नु हुँदैन । रघुजस्ता मान्छेहरूले एक दिन पछुताउनु नै पर्छ । ढिलो हुन्छ तर जीत सत्यकै हुन्छ ।’ 

हो–हो, भन्दै सबैले सक्षमको कुरामा सही थापे । वेदान्त त देवता नै रहेछन् भन्दै सबैले उनलाई अङ्कमाल गरे ।

टिनिनी घण्टी बज्यो, सबै जना वेदान्तको तारिफ गर्दै घरतिर लागे । वेदान्त र सक्षम पनि मीठा–मीठा कुरा गर्दै घर गए ।

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका तीन दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् ।)