बिहीबार ०४ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

पाठ्यपुस्तक बिक्रीवितरण फागुन १५ बाट : जनक शिक्षा

सरकारले सामुदायिक विद्यालयमा कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्र २०८२ का निम्ति सामुदायिक विद्यालयमा पढाइने पाठ्यपुस्तक यही फागुन १५ गतेबाट बिक्रीवितरण खुला गर्ने जनाएको छ ।  

जनक शिक्षा विद्यालय तह कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाई गर्ने एकमात्र निकाय हो  तर पाठ्यपुस्तक छपाइ ढिलो भएपछि शिक्षा मन्त्रालयले २०६४ सालबाट निजी क्षेत्रलाई समेत छाप्न दिने गरेको छ । जस अनुसार कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएको छ । जनक शिक्षाले कक्षा ३, ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।

आउँदो शैक्षिक सत्रका निम्ति जनक शिक्षाले १ करोड ७० लाख पाठ्यपुस्तक छपाई गर्दैछ । त्यसमध्ये १ करोड ४५ लाख थान पाठ्यपुस्तक छापिसकेको केन्द्रका निर्देशक तिलबहादुर अधिकारीले जानकारी दिनुभएको छ । करिब पचिस लाख थानमात्र छाप्न बाँकी रहेको छ ।

‘दुर्गम जिल्लामा अब फागुन १५ गतेबाट बिक्रीवितरणका निम्ति खुल्ला गर्ने लक्ष्य राखेका छौं,’ उहाँले बालसंसार संवाददातासँग भन्नुभयो, ‘चैत १ गतेबाट सबैतिर पाठ्यपुस्तक बिक्रीवितरण खुल्ला हुन्छ ।’

जनक शिक्षाले छापेको पुस्तक उसैको क्षेत्रीय कार्यालयबाट पालिकाहरूको आवश्यकताअनुसार स्थानीय बिक्रेतामार्फत् वितरण गर्ने गर्दछ ।

त्यसैगरी निजी क्षेत्रले स्थानीय बिक्रेतामार्फत् विद्यालयले पाठ्यपुस्तक खरिद गर्नसक्ने व्यवस्था गर्दछन् । जनक शिक्षाको सात प्रदेशमा ९ वटा कार्यालय छन् । ती कार्यालयबाट पाठ्यपुस्तक बिक्री वितरण हुनेछ ।

बिक्री वितरणका निम्ति १ हजार २ सय ५० वटा सूचीकृत बिक्रेता रहेका छन् । ती बिक्रेताले आफ्नो क्षेत्रका विद्यालयहरूबाट आगामी शैक्षिक सत्रमा आवश्यक पाठ्यपुस्तकको विवरण संकलन गरी जनक शिक्षालाई जानकारी दिइसकेका छन् ।

‘यदि कुनै विद्यालयमा पाठ्यपुस्तक नपुगेमा वा अभाव भएमा एक हप्ताभित्र लगिसक्ने व्यवस्था गरिएको छ,’ निर्देशक अधिकारीले भन्नुभयो ।

सरकारले सामुदायिक विद्यालयमा पढ्ने कक्षा १ देखि १२ सम्म पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ ।