चार बालकका गालामा तातो पन्युले डाम्ने शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमति
‘बिहान सकुशल विद्यालय गएका बच्चा गालाभरि डामिएको निसान लिएर फर्किए । विद्यालयमै तातो पन्युले डामेर यातना दिइँदा हाम्राे मन कस्तो भयो होला ?’

चार बालकको गालामा तातो पन्युले डाम्ने शिक्षकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
पन्यु तताएर विद्यार्थीको गाला डामेको आरोपमा पक्राउ परेकी तनहुँकाे भिमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका तथा लेखापाल सुष्मा श्रेष्ठलाई बालबालिकाविरुद्धको कसुरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले म्याद दिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख (इन्स्पेक्टर) पोषण थापाले जानकारी दिनुभयाे ।
कक्षामा होहल्ला गरेको भन्दै विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी सुष्माले तातो पन्युले गाला डामिदिएकाे विद्यार्थीका अभिभावकले बताउनुभएकाे छ ।
अभिभावकले सुष्माविरुद्ध किटानी जाहेरी दिएपछि थप अनुसन्धानका लागि प्रहरीले म्याद थपेको हो । श्रेष्ठले घरबाटै पन्यु ल्याएर ताताे बनाई चार जना विद्यार्थीको गाला डामेकाे अभिभावककाे भनाइ छ ।
विद्यालय सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यस्तो अमानवीय कामको अभिभावक तथा विद्यार्थीले चर्को आलोचना गरेका छन् । आफ्ना बच्चालाई विद्यालयमा पन्यु तताएर यातना दिइएपछि अभिभावक मुर्छित बनेको पीडित विद्यार्थीका आमा विष्णु परियारले बताउनुभयाे ।
‘बिहान सकुशल विद्यालय गएका बच्चा फर्किँदा गालाभरि डामिएको निसान लिएर फर्किए,’ उहाँले भन्नुभयाे, 'विद्यालयमै तातो पन्युले डामेर यातना दिइँदा हाम्राे मन कस्तो भयो होला ?’
शिक्षिका र बालकहरू छिमेकी हुन् । उनले घरबाटै पन्यु ल्याएर तताएर डामेको एक शिक्षकले बताउनुभयाे । अवोध बालकले मुख लगाए, हल्ला गरे भनेर गाला डाम्नु बर्बर यातना भएको अभिभावकले बताइरहेका छन् ।
भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले घटनाबारे अनुसन्धान गर्न शिक्षा शाखा प्रमुख सन्दीप पौडेलको संयोजकत्वमा अध्ययन कार्यदल बनाउने तयारी भइरहेको बताउनुभयाे ।
‘अभिभावक प्रहरीकोमा जानुभएको छ, प्रहरीबाट पनि कानुनी कारबाहीको प्रक्रिया सुरु हुन्छ र नगरपालिकाको तर्फबाट पनि अध्ययनका लागि कार्यदल बनाउँछौं,’ उहाँले भन्नुभयाे, ‘तयारीका साथ नै घटना घटेको बुझिन्छ ।’
घटना सार्वजनिक भएपछि विभिन्न विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् भने मेयर सुवेदीसँग विद्यालयहरूमा हुने कारबाहीको अनुगमन तथा कारबाहीका लागिसमेत माग गरेका छन् ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया