शुक्रबार ०१ चैत, २०८१

नेपाली समय

Facebook Live Youtube Live

खरानीको कथा (बालकथा)

"बच्चाहरू, के तिमीहरूले बुझ्यौ ? जीवनभर जल्नेहरूको अन्त्य पनि उही खरानीमा हुन्छ । अरूको सफलताले जल्ने होइन, आफूलाई सुधारेर अघि बढ्ने प्रयास गर्नुपर्छ ।"

गोलबजारको सानो गाउँमा अर्जुन नामको बालक बस्थ्यो । ऊ धेरै चञ्चल थियो, सँगै निकै इर्ष्यालु पनि ।

आफ्ना साथीहरू राम्रो नम्बर ल्याए भने उसलाई डाह लाग्थ्यो । कसैले नयाँ खेलौना ल्यायो भने ऊ रिसाउँथ्यो । अर्जुन सधैं अरूलाई हराउने र आफूलाई सबैभन्दा राम्रो साबित गर्ने ध्याउन्नमा हुन्थ्यो ।

lll

एक दिन उसको साथी रामले नयाँ साइकल ल्यायो । राम खुशी हुँदै सबैलाई देखाउँदै थियो । अर्जुनको मन जलेर आयो ।

"किन रामसँग साइकल छ, मसँग छैन ?" उसले रिसाउँदै सोच्यो । घर पुग्नेबित्तिकै आमासँग माग्न थाल्यो, "मलाई पनि रामजस्तै नयाँ साइकल चाहिन्छ !"

आमाले सम्झाउन खोजिन्, "बाबु, हामीसँग अहिले त्यति धेरै पैसा छैन, केही दिन पर्ख न ।"

तर अर्जुनले पर्खन चाहेन । ऊ झन् रिसायो । उसलाई रामप्रति झन् इर्ष्या भयो। "रामले नयाँ साइकल ल्यायो, अब सबै उसलाई मात्र राम्रो भन्छन् ।"

lll

अर्को दिन अर्जुनको स्कुलमा गुरूजीले सबैलाई एउटा कथा सुनाए-

"एक समयको कुरा हो, दुई जना साथी थिए- देवराज र भीमसेन । भीमसेन निकै मेहनती र इमानदार थियो तर देवराजलाई सधैं अरूको सफलता देखेर जलन हुन्थ्यो । ऊ भीमसेनलाई पछि पार्न खोज्थ्यो । तर जे-जति प्रतिस्पर्धा गरे पनि भीमसेन सधैं अगाडि नै रहन्थ्यो ।

एक दिन देवराजले सोचे, 'यदि भीमसेन नै छैन भने म सबैभन्दा राम्रो हुनेछु ।' उसले षड्यन्त्र गर्‍यो र भीमसेनलाई धोका दियो । भीमसेन गाउँबाट बाहिरिएपछि देवराजले खुबै सफलता प्राप्त गर्‍यो ।

तर के भयो, थाहा छ ?

केही वर्षपछि देवराज पनि बुढो भयो । ऊ पनि मरेर श्मशान पुग्यो । उसको शरीर जलाइयो, अनि ऊ पनि खरानी बन्यो- ठीक भीमसेनझैं । अन्त्यमा दुवै एउटै बने । बच्चाहरू, के तिमीहरूले बुझ्यौ ? जीवनभर जल्नेहरूको अन्त्य पनि उही खरानीमा हुन्छ । अरूको सफलताले जल्ने होइन, आफूलाई सुधारेर अघि बढ्ने प्रयास गर्नुपर्छ ।"

lll

गुरूजीको कथा सुनेर अर्जुनको मन गम्भीर बन्यो । घर फर्किने क्रममा ऊ गाउँको श्मशानघाट नजिकै पुग्यो । त्यहाँ उसले खरानी उडिरहेको देख्यो । उसको मनमा गुरूजीका शब्द गुञ्जिए- "अन्त्यमा सबै केवल खरानी नै हुन्छन् ।"

अर्जुनले सोच्यो, "मैले रामको साइकल देखेर जल्नुको के अर्थ छ ? यदि मैले राम्रो गर्न सकेँ भने म पनि खुशी हुन सक्छु ।"

lll

त्यसपछि अर्जुनले अरूसँग इर्ष्या गर्न छोड्यो । ऊ आफैं मेहनत गर्न थाल्यो । खेलकुदमा राम्रो गर्न, पढाइमा राम्रो गर्न उसले कडा मिहिनेत गर्न थाल्यो । अब ऊ साथीहरूलाई सहयोग गर्न थाल्यो, तिनीहरूको खुसीमा रमाउन थाल्यो ।

केही महिनापछि उसले पनि राम्रो अंक ल्यायो । बाबुले उसलाई आश्चर्यचकित पार्दै नयाँ साइकल उपहार दिनुभयो । अर्जुन एकदमै खुसी भयो तर यो पटक ऊ गर्वले होइन, सन्तोषले मुस्कुरायो ।

त्यस दिनदेखि ऊ सबैलाई भन्न थाल्यो- "जीवनभर डाह गरेर, जलन राखेर केही प्राप्त हुँदैन । अन्त्यमा सबै खरानी नै हुन्छन् । त्यसैले प्रतिस्पर्धा अरूसँग होइन, आफ्नै सुधारका लागि गरौँ । अरूको सफलताबाट जल्ने होइन, प्रेरणा लिने बानी बसालौँ ।"


श्री जनता (प्राविधिक) मावि, गोलबजार-४, सिरहा ।

नन्दलाल आचार्य

बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर [email protected]