शनिबार ०७ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

आज विश्व क्यान्सर दिवस : किशोरीहरुलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य

आज फेब्रुअरी ४ अर्थात् माघ २२ गते विश्व क्यान्सर दिवस हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालये पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न अभियान सुरु गरेको छ । यसअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई आजैबाट एचपीभी खोप लगाइँदै छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी माध्यमिक विद्यालयमा मंगलबार खोप अभियान शुभारम्भ गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत् महिलाको पाठेघरको मुखको क्यान्सर एउटा विश्वव्यापी र गम्भीर समस्या रहेको बताउनुभएको छ । ‘नेपालमा पनि यो रोग बढ्दै गएको छ र यसबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ, विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा यस रोगलाई निवारण गर्ने अथवा जनस्वास्थ्यको समस्याको रूपमा रहन नदिन आह्वान गरेको छ, अभियान चलाएको छ,’ उहाँले भन्नुभएको छ । 

यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले पनि नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको बताउनुभएको छ ।

अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । अभियान आगामी फागुन ६ गतेसम्म चल्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथामका निम्ति सबै निकायहरूसँग सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ । ‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै काम गर्न जरुरी छ, यसमा उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘आज पाठेघरको क्यान्सरबाट आमाहरू, दिदीहरू,समकक्षी साथीहरू थुप्रैको मृत्यु भएको छ । दिनमा चार जनाको मृत्यु हुने तथ्याङ्क हामीसँग छ । यो भनेको भयावह हो । यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पु¥याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पु¥याउन सबैलै पहल गर्न जरुरी छ ।’ 

आवश्यक स्रोत, साधनको कमी रहेको उल्लेख गर्दै उहाँले सबैसँग सहकार्य गरेको खण्डमा क्यान्सर न्यूनीकरण गर्न सकिने बताउनुभयो ।