मंगलबार २६ चैत, २०८१

नेपाली समय

Facebook Live Youtube Live

चीनले कसरी ल्यायो चन्द्रमाबाट माटो ?

अहिलेसम्म मानिस र रोबोटले १० पटक ल्याएका सबै नमूना चन्द्रमाको अगाडिको भागबाट मात्रै ल्याइएको छ । ६० वर्षको इतिहासमा कुनै पनि देशले चन्द्रमाको पछिल्लो सुदूर क्षेत्रमा अवतरण गर्न सकेको थिएन ।

सन् २०२४ मे ३ मा चीनले आफ्नो सबैभन्दा उन्नत चन्द्र अभियान सुरु गर्‍यो र त्यसको एक महिनामा चन्द्रमाको अँध्यारो क्षेत्रमा सफल अवतरण गर्‍यो ।

सन् २०२४ जुन २५ मा यसले चन्द्रमाबाट दुई किलो माटो तथा चट्टान बोकेर पृथ्वीमा सफलतापूर्वक अवतरण गर्‍यो । चंगे–सिक्स भनिएको चीनको यो चन्द्र अभियान पूरा गर्न ५३ दिन लागेको थियो । अर्थात् पृथ्वीबाट गएको ५३ दिनमा यसले चन्द्रमाको माटो लिएर इनर मंगोलियन मरुभूमिमा अवतरण गरेको थियो ।

चीन चन्द्रमाको अहिलेसम्म कोही पनि पुग्न नसकेको स्थानबाट नमूना संकलन गरेर पृथ्वीमा ल्यान्ड गर्न सफल भएको हो । चन्द्रमाबाट संकलित ती नमूनाले ग्रहको उत्पत्तिबारे महत्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने अपेक्षा वैज्ञानिकहरूको छ ।

पृथ्वीबाट हेर्दा हामी सधैं चन्द्रमाको एउटा पक्ष वा भाग मात्र देख्छौं । यसको अर्को आधा भाग पृथ्वीबाट कहिल्यै देख्न सकिँदैन । सधैं पृथ्वीतर्फ हुने चन्द्रमाको क्षेत्रलाई नियर साइड अफ दी मुन भनिन्छ र चन्द्रमाको पछाडि रहेको भागलाई फार साइड अफ दी मुन भनिन्छ । यही सुदूर क्षेत्रबाट चन्द्रमाको नमूना ल्याउनका लागि चीनले चंगे–सिक्स मिसन पठाएको थियो । 

आजभन्दा ६५ वर्ष पहिलेसम्म चन्द्रमाको यो सुदूर क्षेत्र कस्तो देखिन्छ भन्ने कुरा कसैलाई थाहा थिएन । किनकि यो पृथ्वीबाट देखिँदैन । त्यसपछि सन् १९५९ मा रुसको लुना–३ मिसन चन्द्रमाको परिक्रमा गर्न गयो र पहिलो पटक आफ्नो क्यामेराले चन्द्रमाको त्यो सुदूर क्षेत्रको तस्बिर खिचेर पृथ्वीमा पठायो ।

अहिलेसम्म चन्द्रमाबाट मानिस र रोबोटले १० पटक ल्याएका सबै नमूना चन्द्रमाको अगाडिको भागबाट मात्रै ल्याइएको छ । ६० वर्षको इतिहासमा कुनै पनि देशले चन्द्रमाको त्यो सुदूर क्षेत्रमा अवतरण गर्न सकेको थिएन । 

चीनले पठाएको चंगे–सिक्समा फ्रान्स, स्विडेन, इटाली र पाकिस्तानका वैज्ञानिक उपकरणरू पनि पठाइएका थिए । फ्रान्सको डोर्म डिटेक्सन अफ आउट ग्यासिङ इन्स्ट्रुमेन्टले चन्द्रमाबाट निस्कने रेडोन ग्यासको विश्लेषण गर्नेछ । स्विडेनले पठाएको एआईएलएसले चन्द्रमाको सतहमा नेगेटिभ आयनको अध्ययन गर्नेछ । अहिलेसम्म चन्द्रमाको सतहमा नकारात्मक आयन फेला परेको छैन ।

इटालीको लेजर रेट्रोरिफ्लेक्टरले त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी दिनेछ । यसबाहेक पाकिस्तानले पठाएको पेलोड चन्द्रमाको कक्षमा तैनाथ गरिएको छ । यो सात किलोग्रमको सेटेलाइट हो । यसको नाम आईक्युब–क्यू हो । यो सेटेलाइटले चन्द्रमाको सतहको तस्बिर पठाएको छ । मे ८ मा चंगे–सिक्सले यसलाई चन्द्रमाको सतहमा तैनाथ गरेको थियो ।