नानीदेखिका ती बानीले साँच्चै मान्छे बनायो : अनुपराज शर्मा
म सामान्य खालको विद्यार्थी थिएँ तर पढ्न कमजोर थिइनँ । कक्षामा शिक्षकले सोधेको विषयमा जवाफ दिन सधैं तयार हुन्थेँ । किताबका विषयवस्तुभन्दा मलाई बाहिरका कुराले बढी आकर्षित गर्दथ्यो ।

मेरो जन्म काठमाडौंको असनमा भए पनि बाल्यकालको अधिकांश समय भारतको उडिसामा बित्यो । मेरो बाबा (केशवराज पिँडाली) त्यहाँको एउटा सिनेमा हलमा व्यवस्थापकको रूपमा काम गर्नुहुन्थ्याे । हाम्रो क्वार्टर पनि फिल्म हलनजिकै थियो । यसले गर्दा सानैदेखि हिन्दी फिल्म हेर्ने मौका पाइयो र फिल्ममा रस बस्दै गयो । यो २००७ सालअघिको कुरा हो ।
काठमाडौंदेखि उडिसासम्म जाँदा रक्सौलको बाटो भएर जान्थ्यौं । थानकोट, चन्द्रागिरि, चित्लाङ, कुलेखानी भएर अमलेखगञ्जसम्म पैदल हिँड्दा बाटोमा देखिने प्राकृतिक दृश्यले मन लोभ्याउँथ्यो । त्यसबेला गंगा नदीमा जहाज चढ्नुपर्थ्याे । त्यसपछि हामी कलकत्तामा दुई–तीन दिन बिताएर मात्रै उडिसा पुग्थ्यौं ।
पहिलोपटक हवाईजहाज चढ्दाको अनुभव अझ पनि सम्झना बनेर दिमागमै घुमिरहन्छ । त्यसबेला डकोटा नाम गरेको चहाज चढ्न पाइन्थ्यो । ती जहाज आकाशमा उड्दाउड्दै ह्वात्तै तल झर्थे । जहाजको ब्यालेन्स नमिलेर कहिलेकाहीँ सामानै तल झर्थे । देश–विदेशका नयाँ–नयाँ ठाउँ र नयाँ कुरा हेर्दै सुविधासम्पन्न होटेलमा बसेर घुम्न पाउँदा खुब रमाइलो लाग्थ्यो । नयाँ अनुभव लिने र नयाँ ठाउँमा घुम्ने मेरो बानी पर्दै गयो ।
घुम्ने र हिँड्डुल गर्ने बानीले धेरै कुरा सिकिन्छ । घुम्दाका फाइदा धेरै छन् । मान्छे चिन्न अनि समाज देख्न पनि पाइन्छ । परिवारसँग घुम्दा अझ रमाइलो हुन्थ्यो । मलाई यसले विविध पक्षको ज्ञान हासिल गर्न सजिलो बनायो ।
०५१/०५२ सालमा म पैदलै हिँडेर जुम्ला पुगें । त्यहाँका मान्छेसँग प्रत्यक्ष संवाद गर्न पाउँदा आनन्द आयो । घुम्ने बानीले मेरो विचार फराकिलो बनाउन र धेरै कुरा सिक्न मद्दत गर्यो । त्यसको प्रभाव जीवनभर पार्यो ।
उडिसामा रहँदा हामी अंग्रेजी र उडिया भाषामा पढ्थ्यौं । त्यहाँ विभिन्न ठाउँका साथीसँग संगत भयो । असल संगत गर्नुपर्छ भन्ने चेत मलाई बाल्यकालदेखि भएको हो । आमाबुवाले पनि त्यो कुरामा राम्रो स्कुलिङ गर्नुभयो । असल संगतले मानिसलाई संकुचित हुनबाट रोक्दो रहेछ । आखिर मानिसहरूको व्यवहार र संगतबाटै असल जीवन बन्ने रहेछ । असल व्यक्ति र समाज निर्माणमा यसको महत्व ज्यादै हुँदो रहेछ ।
रेल पनि पहाड र हिमालसम्मै जाने कस्तो अचम्म ! टनेलमा छिरेर रेल पहाड माथि–माथि पुग्दा र हिउँमा समेत रेलमै हिँड्दा खुबै रोमाञ्चित हुन्थेँ ।
घुम्ने बानी मेरो बाबाबाट ममा विकास भएको हो । उहाँ घुम्न निकै सोखिन हुनुहुन्थ्यो । त्यसबखत भारतमा सुविधासम्पन्न रेल आइसकेको थियो । रेल चढ्दाको मज्जा शब्दमा व्यक्त गर्न कहाँ सकिन्छ र ! रेलको बाथरुम, ट्वाइलेट अत्यन्तै आकर्षक हुन्थे । अनेकन प्राकृतिक दृश्यको स्वाद लिन पाइने हुँदा मलाई हवाईजहाजको यात्राभन्दा रेलको यात्रा रोमाञ्चित लाग्छ । सानैमा रेल चढ्न रुचाउने बानी ठूलो हुँदासम्म पनि कायम छ । म स्विट्जरल्याण्ड गएका बेला जेनेभाबाट अन्य सहर जानुपर्दा रेलबाटै यात्रा गर्थें । म अहिलेसम्म ९ पटक त्यहाँ पुगेको छु । रेल पनि पहाड र हिमालसम्मै जाने कस्तो अचम्म ! टनेलमा छिरेर रेल पहाड माथि–माथि पुग्दा र हिउँमा समेत रेलमै हिँड्दा खुबै रोमाञ्चित हुन्थेँ ।
हामी उडिसाबाट नेपाल आउँदा घरमा साहित्यिक जमघट भइरहन्थे । साहित्यकार भवानी भिक्षु, नारायणप्रसाद बाँस्कोटा बाक्लै आउनुहुन्थ्याे । बाबा त्यतिबेला प्रगतिका सम्पादक हुनुहुन्थ्याे । भारतमा बालक र चन्दा नामका बालपत्रिका छापिँदा रहेछन् । ती पत्रिका ल्याएर भिक्षुले मलाई दिनुहुन्थ्यो । ती पत्रिका पढ्दा पनि मलाई आनन्दको अनुभव हुन्थ्यो । यसले मेरो पढ्ने बानीको विकास गर्न मद्दत गर्यो । बाबा प्रसिद्ध साहित्यकार, उहाँका साथी धेरैजसो साहित्यकार नै थिए । उहाँहरूलाई मैले सानैमा प्रत्यक्ष भेट्ने सौभाग्य पाएँ । उहाँहरुले लेखेका कृति पनि खोजेर पढ्न थालेँ ।
बाबाको नाउँमा सारिका, धर्मयोगलगायतका म्यागजिन र टाइम्स अफ इन्डिया घरमै नियमित आउँथे । ती पत्रपत्रिका राम्रोसँग पढ्थेँ । १० वर्षदेखि नै मैले पत्रपत्रिकाका साथै विभिन्न साहित्यकारका उत्तम कृति पढ्ने अवसर पाएँ । यसका अतिरिक्त राम्रा लेखकका पुस्तक र विभिन्न जासुसी उपन्यास पनि पढ्दै गएँ । त्यसमा मन बस्न थाल्यो । विद्यार्थीकालमा सबै विषयका किताब पढ्नुपर्ने रहेछ । साहित्यिक कृति हुन् वा अरु, सबैले ज्ञान बढाउन सघाउने नै रहेछन् ।
म सामान्य खालको विद्यार्थी थिएँ तर पढ्न कमजोर थिइनँ । कक्षामा शिक्षकले सोधेको विषयमा जवाफ दिन सधैं तयार हुन्थेँ । किताबका विषयवस्तुभन्दा मलाई बाहिरका कुराले बढी आकर्षित गर्दथ्यो । सरले दिनुभएको गृहकार्य विद्यालयमै सकाउनुपर्थ्याे । घरमा त बाह्य विषयवस्तु पढ्नमै म केन्द्रित हुन्थेँ ।
जीवनी पढ्ने सानैदेखिको मेरो बानी हो । भूगोल, इतिहास पढ्दा उत्तिकै आनन्द लाग्छ । नेपालको विषयमा लेखिएका किताब पाएसम्म पढ्ने गर्छु । बाबाका कारणले मात्रै होइन, मेरो साहित्यप्रति आफ्नै खालको झुकाव छ । किताब पढ्ने र आफ्ना विषयमा लेख्ने बानी यो उमेरमा पनि हटेको छैन ।
पढ्ने बानीको विकासले मेरो सञ्चार सीप साथै भाषणकला पनि राम्रो हुँदै गयो । ती किताबले मलाई जीवनमा संघर्ष गरी जिउन सिकाइरहेका छन् । तिनले मेरो ज्ञानका चक्षु खुलाइदिए । हामीले पढ्दा र किताब छनोट गर्दा आफ्नो रुचिअनुसारको गर्नुपर्छ ।
विद्यार्थीले निश्चय पनि पढाइमा ध्यान दिनैपर्छ तर कोर्स बुकको मात्र ज्ञान अधुरो हुन्छ । मैले एसएलसी पदमोदय हाइस्कुलबाट दोस्रो श्रेणीमा पास गरेको थिएँ । त्यसपछि बीएस्सी पढेँ अनि कानुनमा स्नातक गरे । कोर्स बुकको पढाइले निश्चित नै राम्रो नम्बर ल्याउन मद्दत गर्दछ तर त्यो मात्र सबथोक होइन । पढेर ज्ञान कति प्राप्त भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
राम्रो डिभिजन ल्याउँदैमा साइन्स पढ्नुपर्छ भन्ने सोच त्यति राम्रो होइन । अरु विषयमा पनि थुप्रै सम्भावना हुन्छन् । अभिभावकका करकाप र दबाबबाट चनाखो हुनुपर्छ । आमा र बुवाले मलाई पढ्न दबाब दिनुहुन्थेन । के पढिरहेको छ भनेर पनि सोधीखोजी गर्नुहुन्थेन । पढेको देखेपछि चुप लाग्नुहुन्थ्याे । कानुन विषय कसैको दबाबले र करले पढेको थिइनँ । स्वेच्छाले पढ्दा पनि करियर सफल बन्दो रहेछ, समर्पित भएर काम गरेमा किशोर अवस्थामा पनि बरालिने सम्भावना हुँदो रहेनछ ।
विद्यार्थी छँदा कानुन पढ्ने मेरो सपना थिएन । सपना थियो केवल डाक्टर हुने । त्यही भएर साइन्स पढेको थिएँ । बिएस्सी पनि गरेँ । त्यसबेला साइन्समा मास्टर गरेपछि केवल प्राध्यापक बन्नेबाहेक अरु केही विकल्पै थिएन । मलाई प्राध्यापनप्रति त्यति रुचि नै भएन । मलाई स्वतन्त्र रूपमा आफ्नो पेसा गर्न मन पर्दथ्यो तर धागो चुँडेको चंगाझैँ मेरो सपना पनि दिशाहीन बन्दै कतै बिलाउने अवस्था सृजना भइसकेको थियो । परिस्थितिले पनि कानुन पढ्न लागें तर वकिल हुने वा न्यायाधीश बन्ने मेरो सपना थिएन । यो त परिस्थितिले सिर्जना गरेको थियो । राइजिङ नेपालमा परीक्षा उत्तीर्ण गरेपछि काम गर्न दिएको भए म पत्रकार नै हुन्थेँ होला ।
हामीले पढेको विषय चरित्र निर्माणमा सहयोग गर्ने खालको हुनुपर्छ । मानिस भएर मानिसको चरित्र निर्माण गर्न सकिएन, समाजका लागि केही योगदान दिन सकिएन भने जीवन निरर्थक हुन्छ ।
म बाल्यकालमा धेरै ताल र पोखरी भएको ठाउँ उडिसामा हुर्कें । त्यहाँ चोक चोकमै पोखरी थिए । १६ किमी लामो त जलविद्युत् निर्माणका लागि बनाइएको विशाल ताल नै थियो ।
मलाई पौडी खेल्न औधी मन लाग्थ्यो । एकपटक पौडी खेल्ने क्रममा दाजु डुब्नुभयो । उहाँलाई पौडी खेल्न जान्ने मान्छेले निकै कष्टसाथ निकाल्नुभयो । उहाँ निकै कठिन अवस्थामा पुगेर बाँच्नुभयो ।
मेरो साइँलो मामा त पानीमा डुबेर गोकर्णनजिकै बित्नुभयो । यसपछि पानीका पोखरीमा पस्न र वरपर खेल्न बर्जित गरियो ।
पौडी खेल्न नजानेकोमा मलाई अहिले पनि ज्यादै दुःख लाग्छ । मेरो बाबाचाहिँ पौडी खेल्न सिपालु हुनुहुन्थ्यो । जीवनमा पढाइ मात्रै होइन, सानै सीप पनि अत्ति महत्वपूर्ण हुने रहेछ भन्ने ती घटनाले राम्रैसँग आँखा खोलिदिए ।
म उडिसामा १० कक्षासम्म पढें । सन् १९४५ मा पहिलो पटक उडिसा गएको थिएँ । त्यस बेला जम्मा एघार वर्षको थिएँ । आठ वर्ष त्यहीं बसेँ ।
मलाई पौडी खेल्न औधी खेल्न मन लाग्थ्यो । एकपटक पौडी खेल्ने क्रममा दाजु डुब्नुभयो । उहाँलाई पौडी खेल्न जान्ने मान्छेले निकै कष्टसाथ निकाल्नुभयो । उहाँ निकै कठिन अवस्थामा पुगेर बाँच्नुभयो । मेरो साइँलो मामा त पानीमा डुबेर गोकर्णनजिकै बित्नुभयो । यसपछि पानीका पोखरीमा पस्न र वरपर खेल्न बर्जित गरियो ।
१९५९ मा फेरि त्यहीँ गए । म दश कक्षासम्म उतै पढेँ । भारतमा त अंग्रेजले लडाकु उत्पादनका लागि पढाउने शिक्षा हामीले पढ्न पाएका थियौं । अंग्रेजी पढाउने एक गुरुआमाले निकै राम्रोसँग पढाउनुहुन्थ्यो । ७ बजेदेखि साँझ ५ बजेसम्म विद्यालयमै हुन्थ्यौं । दिउँसोको खाना र खाजा विद्यालयमै खान्थ्यौ । मैले त्यहाँ अंग्रेजी माध्यममै पढ्ने मौका पाएँ । गुरुआमाले निबन्ध लेख्न राम्रोगरी सिकाउनुभयो । अंग्रेजी व्याकरण पनि धेरै नै अभ्यास गराएर सिकाउनुभयो ।
भारत र काठमाडौं आउजाउले मेरो पढाइ एक वर्ष अलमलमा पर्यो । म काठमाडौं आएपछि पद्मोदय स्कुलमा भर्ना भएँ । यो भर्ना पनि रोचक छ ।
देशका तीनवटा विद्यालय त्यो बेला नामी थिए । दरबार स्कुल, पद्मोदय र जुद्धोदय स्कुल । बाबाले मलाई पद्मोदयमा पाँच कक्षामा भर्ना गरिदिनुभयो । यो स्कुल मेरो घरछेउमै थियो । भर्ना भएको भोलिपल्टबाट नियमित विद्यालय गएँ । गणित पढाउने शिक्षकले हिजो दिएको गृहकार्य किन नगरेको भन्दै नराम्रोसँग कुट्नुभयो । म हिजो आएकै छैन भन्न नपाउँदै मेरो दुवै गालामा थप्पड लाग्यो ।
मैले अन्यायमा परेको महसुस गरेँ । भोलिदेखि नआउने निर्णयका साथ भारी मन बनाएर विद्यालयबाट १२ बजे नै घर फर्र्र्कें । त्यसपछि घरमा आमाबाबाले किन छिटो आएको भनेर मसँग सोधीखोजी गर्नुभयो । मैले विद्यालयमा भएको घटनाको सबै विस्तार लगाएँ । बाबाले विद्यालय गएर ती शिक्षकसँग कुरा गर्नुभएपछि उहाँ विश्वस्त हुनुभयो । अनि सरासर म विद्यालय गएँ । त्यही बेलादेखि नै अन्यायविरुद्ध लड्नपर्छ भन्ने भित्र मनमा लागिरह्यो । न्यायका पक्षमा उभिन सिकायो ।
पढाइको गुणस्तर मन परे पनि शिक्षकले नराम्रोसँग सजाय दिने कुरा मलाई पटक्कै मन परेको थिएन । अहिले दण्ड, सजायरहित ढंगबाट बालबालिकालाई शिक्षा दिनुपर्छ भन्ने कुरालाई गम्भीरतापूर्वक लिएर विद्यालयका कक्षा कोठामा अभ्यास गराइएको छ, जुन कुरा राम्रो छ ।
कृष्णबहादुर मानन्धर प्रिय शिक्षक हुनुहुन्थ्थो । उहाँको बोली यति विनम्र थियो कि सुनिरहुँ लागिरहन्थ्यो । उहाँले निकै राम्रोसँग अंगे्रजी पढाउनुभयो । उहाँसँग पछि म कलेजमा मास्टर पढ्दा सहपाठी हुने अवसर प्राप्त भयो । देशका लागि सुयोग्य पात्र उत्पादन गर्नुमा विद्यालयका शिक्षकको पनि उत्तिकै हात हुन्छ । मलाई राम्रा शिक्षकको प्रेरणा जीवनभर रहिरह्यो ।
हाम्रो समयमा पढ्ने विषय सीमित थियो, अहिले धेरै विषय विद्यार्थीले पढ्न पाइरहेका छन् । जीवनमा औपचारिक शिक्षाभन्दा घरको शिक्षा महत्वपूर्ण हुन्छ । मेरो बाबा जम्मा ९ कक्षा पढ्नुभएको हो तर उहाँ राम्रो अंग्रेजी भाषा जान्नुहुन्थ्यो । देश–विदेशका अंग्रेजी साहित्यको राम्रो अध्ययन गर्नुभयो ।
प्रविधिले धेरै कुरा आजका बालबालिकालाई दिएको छ तर विद्यालय र परिवारले सही बाटोचाहिँ देखाउन सकिरहेका छैनन् । विद्यालय भव्य भएर भएन, शिक्षक पनि गतिला चाहिन्छ । आजभोलि विद्यार्थीको रुचि र क्षमता पहिल्याउन सक्ने र सही दिशा निर्देश गर्न सक्ने शिक्षकको खाँचो छ । राम्रो बानी बसाउने, सही कुरा सिकाउने, उनीहरुको रुचि स्वभाव बुझ्ने हिसाबमा समाजले सही स्कुलिङ गरिरहेको छैन । राम्रा र नाम कहलिएका विद्यालयमा त विद्यार्थीहरु महँगो फीकै कारण पढ्न नसक्ने अवस्था छ ।
नैतिकताको कुरा मैले परिवारबाटै सिकें । म आफ्नो पेसा र जीवनमा आदर्श, नैतिकता, निष्ठाको विकाससँगै त्यसमा लगाव हुनुमा बाल्यकालदेखि परिवारले गरेको स्कुलिङको देन हो ।
(पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्मासँग पत्रकार गोविन्द लुइँटेलले गर्नुभएको कुराकानीमा आधारित)
प्रतिक्रिया