राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सुवेदीको जित, ईशाको उत्कृष्ट प्रदर्शन

नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
हेटौंडास्थित होटल सामनामा सञ्चालन भएको चेस च्याम्पियनसिपमा नेपाल च्याम्पियन झापाका राजन सुवेदीले जित दर्ता गर्नुभएको छ ।
२४ औं राष्ट्रिय बुद्धिचाल विजेता राजनले पहिलो चरणको खेलमा ललितपुरका सरोज महर्जनलाई पराजित गर्नुभएको हो ।
महासंघले केही वर्षदेखि राष्ट्रिय च्याम्पियनसिपको फम्र्याटमा नेसनल सिनियर च्याम्पियनका शीर्ष तीन जना खेलाडी र नेशनल बीबाट शीर्ष ९ जना खेलाडी समावेश गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
दुवै विधाका समान १२ जना खेलाडीबीच ११ चरणको प्रतिस्पर्धामार्फत राष्ट्रिय बिजेता घोषणा गरिनेछ । आइतबार सम्पन्न पहिलो चरणको स्पर्धामा नेपाल द्वितीय शुश्रुत दाहालले पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालसँग हार ब्यहोर्नुपरेको छ ।
यस्तै नेपाल तेस्रो क्षितिज भण्डारीले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई लामो ¥याली खेलमा निराश पार्नुभएको छ ।
अर्को खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईलाई कठिन खेलमा हराउनुभयो भने पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई सहज रुपमा पराजित गर्नुभयो । दोलखाका युवा खेलाडी आशिष फुयाँलले रिजेन्द्र राजभण्डारीलाई हराउँदै जित हात पार्नुभएको छ ।
पहिलो चरणको खेलबाट राजन सुवेदी, रुपेश जैसवाल, क्षितिज भण्डारी, प्रेमकृष्ण महर्जन, नवीन तण्डुकार र आशिष फुयाँल समान १ अंक जोड्न सफल हुनुभयो ।
महिलातर्फको खेलमा उदीयमान खेलाडी ईशा गिरीले पुनम प्रसाईं र एञ्जल महर्जनले शान्ति धिमाललाई पराजित गर्नुभयो ।
बाँकेकी ईशाले झापाकी पुनमविरुद्ध विसप सेन्टरलाइज गर्दै महत्वपूर्ण स्क्वायर कभर गरी जित हासिल गर्नुभएको हो । काठमाडौंकी एञ्जेलले भने ओलम्पियाड खेलाडी शान्ति धिमाललाई एक्सिलेन्ट मुभ चालेर हराउनुभएको हो ।
त्यसैगरी वर्तमान नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठमाथि सहज जित प्राप्त गर्नुभयो । झापाका कृतिसारा अधिकारीले पनि नयुमा मगरलाई सहज पराजित गर्नुभएको छ ।
ताप्लेजुङकी सुशीला गुरुङले चितवनकी लक्ष्मी कँडेललाई र बिनिता कपालीले दानिशा पुरीलाई पराजित गर्नुभयो ।
ईशा, एञ्जल, सिन्दिरा, कृतिसारा, सुशीला र बिनिताले एक एक अंक जोडेर प्रतियोगितामा राम्रो शुरुआत गर्नुभएको छ ।
प्रतियोगिताका संयोजक महासंघका महासचिव धरमबहादुर लामाले दोस्रो दिन थप दुई चरणको खेल हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया