शुक्रबार ०१ चैत, २०८१

नेपाली समय

Facebook Live Youtube Live

काेरियाकाे शिक्षा प्रणाली : छानीछानी महँगाे विद्यालयमा पढाउन पाइँदैन

५ वर्षसम्म बालबालिकाले गीतसंगीत र खेलको माध्यमबाट आधारभूत ज्ञान हासिल गर्छन् । विद्यालयको औपचारिक शिक्षा सुरु हुनुअघि दुई वर्ष किन्डरगार्टेन (युछिवन) मा पढाइन्छ।

अंग्रेजी महिनाको मार्च २ तारिखबाट कोरियामा नयाँ कक्षा (सेसन) सुरु हुन्छ ।

कोरियन बालबालिकाहरू नयाँ साल लागेसँगै सात वर्ष (कोरियन उमेर आठ वर्ष) मा प्रवेश गर्छन्, बल्ल उनीहरू नजिकैको प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना हुन्छन् । 

कोरियामा बच्चा जन्मेको तीन महिना वा छ महिनादेखि नै नजिकैको डे केयर या प्ले ग्रुपमा पठाउन सकिन्छ जसलाई कोरियन भाषामा अरिनिचिब भनिन्छ । ०-५ वर्षसम्म बालबालिकाले गीतसंगीत र खेलको माध्यमबाट आधारभूत ज्ञान हासिल गर्छन् । तालिम प्राप्त शिक्षिकाहरूले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म आधारभूत सिकाइका कक्षा सञ्चालन गर्छन् । त्यो समयभन्दा अघि वा पछि पनि कामदार आमाबाबुको अवस्थाअनुसार राख्न सकिन्छ । 

विद्यालयको औपचारिक शिक्षा सुरु हुनुअघि दुई वर्ष किन्डरगार्टेन (युछिवन) मा पढाइन्छ। किन्डरगार्डेन पढ्ने उमेर ५-६ वर्षको हो । यहाँ पनि खेलकै माध्यमबाट अध्ययन गराइन्छ । यो बेलासम्म प्रायः बालबालिकाले अक्षर चिन्नुका साथै पढ्न लेख्न जानिसकेका हुन्छन् ।

नेपालमा अभिभावकले गाउँघरका स्कुल छाडेर सहरबजारमा आफ्ना छोराछोरीलाई रोजाइको स्कुलमा पढ्न पठाउँछन् । नेपालमा धनीमानीले आफ्ना छोराछोरीलाई महँगो विद्यालयमा पढाउँछन् तर कोरियामा भने त्यस्तो हुन्न । पायक पर्ने नजिकको विद्यालयमा आफ्ना बच्चालाई पठाउनुपर्छ ।

विद्यालय भर्ना हुनुअगावै आफ्नो क्षेत्रमा रहेको सरकारी कार्यालयबाट कुन विद्यालयमा पठाउने, कुन दिन भर्ना गर्ने भनेर चिठी आउँछ । त्यहीअनुसार आफ्नो बच्चालाई लिएर अभिभावक तोकिएको समयमा विद्यालय पुगिसक्नु पर्छ ।

आफ्ना छोराछोरी कक्षा १ मा भर्ना हुने बेला साँच्चिकै उत्सवकै रुपमा लिइन्छ । अभिभावकले मात्र नभएर आफन्तजनले समेत स्कुल ब्याग, कपडा वा पैसा उपहार दिने चलन छ । 

नेपालको विद्यालयमा विषयअनुसारको फरक शिक्षकहरुले पालैपालो कक्षा लिन्छन् तर कोरियाको प्राथमिक तह कक्षा ६ सम्म वाह्य शिक्षक अर्थात् कहिलेकाँहि आउने भिजिटिङ शिक्षकबाहेक एउटा कक्षामा एक जना शिक्षकले सबै विषय पढाउने गर्छन् । एउटा कक्षामा विद्यार्थी धेरै भए सेक्सन छुट्टाएर राखिन्छ । एउटा सेक्सनमा २०-२५ जनाभन्दा बढी विद्यार्थी राखिँदैन ।

४० मिनेटको पिरियडपछि १० मिनेट ब्रेक टाइम राखिन्छ । प्राथमिक तहको कक्षा ९ बजे सुरु भएर प्रायः २ बजे सकिन्छ तर बिहान ८:३० बजे नै विद्यालय पुग्नुपर्छ ।

कोरियाको प्राथमिक तह अर्थात् कक्षा ६ सम्म विद्यार्थीहरुको युनिफर्म लागू गरिएको छैन । तर माध्यमिक तह कक्षा ७ बाट भने अनिवार्य युनिफर्म लगाउनु पर्छ । युनिफर्म एक सेट सुरुमा विद्यालयले नै किनिदिन्छ । एक्स्ट्रा युनिफर्म र स्पोर्टस ड्रेस भने आफैले किन्नुपर्छ। 

माध्यमिक तहमा पनि आफूखुशी जुनसुकै विद्यालयमा भर्ना हुन सकिँदैन । अगाडि नै विद्यालयबाट फारम भर्दा आफ्नो नजिकको पायक पर्ने विद्यालय १ नम्बरमा राखेर आफू विकल्पमा जान चाहेको विद्यालयको नाम क्रमशः २, ३ नम्बरमा राख्नुपर्छ । डिसेम्बर अन्तिम र जनवरी पहिलो साताभित्र कुन विद्यालयमा जाने हो नाम निस्कन्छ । 

माध्यमिक विद्यालय पनि बिहान ९ बजेदेखि सुरु हुन्छ । माध्यमिक तहमा ४५ मिनेटको कक्षा र १० मिनेट ब्रेक टाइम हुन्छ भने उच्च माध्यमिक तहमा ५० मिनेटको एक पिरियड हुन्छ । माध्यमिक र उच्च माध्यमिक तहमा भने प्राथमिक विद्यालयमा जस्तो एउटै शिक्षक नभई विषयअनुसारको फरक–फरक शिक्षकले कक्षा लिन्छन् ।

कोरियाको शिक्षा प्रणालीले प्राथमिक शिक्षा ६ वर्ष, माध्यमिक शिक्षा तीन वर्ष र उच्च माध्यमिक शिक्षा तीन वर्ष गरी १२ वर्षसम्मको विद्यालयस्तरको शिक्षा तोकेको छ । र, यो निःशुल्क हुन्छ । प्राथमिक तह र माध्यमिक तह गरी नौ वर्षको शिक्षा अनिवार्य शिक्षा हो । अभिभावकले आफ्ना बच्चाहरूलाई अनिवार्य रूपमा विद्यालय पठाउनुपर्छ । छोराछोरीलाई विद्यालय नपठाउने अभिभावकले जरिबाना तिर्नुपर्छ ।

थप तीन वर्षको उच्च माध्यमिक तहको शिक्षा अनिवार्य नभए पनि अनिवार्य जस्तै छ, जहाँ विद्यार्थीले आफ्नो रुचिअनुसारका विषयहरू पढ्छन् । यही आधारमा भविष्यमा के बन्ने भनेर उनीहरूले तय गर्छन् । उच्च माध्यामिक विद्यालयमा कुन विषय पढ्ने ? कुन विद्यालयमा पढ्ने ? भन्ने माध्यमिक तहमा विद्यार्थीको पढाइको स्तरमा भर पर्छ । सबैभन्दा राम्रो विषय वा विश्वविद्यालय पढ्नका लागि माध्यमिक तहबाट नै विद्यार्थीले धेरै मिहिनेत गर्नुपर्छ ।

३ वर्षको माध्यमिक तहमा राम्रो पढ्ने विद्यार्थी मात्र राम्रो उच्च माध्यमिक विद्यालयमा पढ्नका लागि नाम निकाल्न सफल हुन्छ । त्यसैले माध्यमिक तहबाट कोरियाका विद्यार्थीले पढाइमा धेरै मिहिनेत गर्न थाल्छन् ।

कोरियामा एक वर्षलाई दुई सेमेस्टरमा विभाजित गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरिन्छ । प्रथम सेमेस्टर मार्चमा सुरु हुन्छ भने दोस्रो सेमेस्टर अगस्टको अन्तिम वा सेप्टेम्बरको सुरुमा सुरु हुन्छ । लगभग एक महिना जति गर्मी र जाडो बिदा हुन्छ । प्राथमिक र माध्यमिक विद्यालयको शैक्षिक प्रणालीमा पाठ्यपुस्तक क्रियाकलाप र अन्य क्रियाकलापअन्तर्गत सिर्जनात्मक कक्षा पढाइ हुन्छ।

प्राथमिक शिक्षामा सही चरित्र विकास, जीवनका आधारभूत बानी तथा सिकाइमा जोड दिइन्छ । दैनिक जीवनका लागि आवश्यक आधारभूत क्षमताहरूमा पनि जोड दिइन्छ । 

पहिलो र दोस्रो कक्षाका विद्यार्थीले कोरियन, गणित, सही ढंगले जीवन यापन गर्ने सीप, जीवनका लागि आवश्यक पर्ने विवेक आदि बारेमा सिक्छन् । तेस्रोदेखि छैटौं कक्षाका विद्यार्थीले कोरियन, सामाजिक शिक्षा र नैतिक शिक्षा, गणित, विज्ञान र गृहविज्ञान, शारीरिक शिक्षा, संगीत र कला, अंग्रेजी आदि सिक्छन् । 

कोरियाका विद्यार्थीलाई तिमी कति वर्षको भयौं ? भनेर उमेर सोधियो भने उसले जवाफमा भन्छ, ‘म यति कक्षाको विद्यार्थी हुँ ।’ यसरी कक्षाको आधारमा उसको उमेर थाहा हुन्छ । किनकि कोरियामा एकै सालभित्र जन्मेकाहरू मात्र साथी हुन्छन् र उनीहरू एउटै कक्षामा पढ्छन् । आफूभन्दा एक वर्ष जेठोलाई दाइ, दिदी र कान्छोलाई भाइ, बहिनी भनेरै सम्बोधन गर्नुपर्छ। 

कोरियन विद्यार्थीको जाँच लिइए पनि विद्यालयस्तरको कक्षामा फेल गरिँदैन तर उनीहरूको पढाइको ग्रेड हेरेर उच्च माध्यमिक तहमा त्यहीअनुसारको विषय र विद्यालयमा पढ्न पढाइन्छ । कोरियामा विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा पनि बढी बाहिर फिल्डमा लगेर प्रयोगात्मक शिक्षा दिइन्छ । त्यसैले विद्यार्थीले किताबी ज्ञानसँगै बाहिरी ज्ञान पनि हासिल गर्दछन् ।

कोरियामा निःशुल्क शिक्षा, पाठ्यपुस्तकसहित निःशुल्क खानाको व्यवस्थासमेत विद्यालयभित्र हुन्छ । विद्यालयको पढाइ सकिएपछिको समयमा विद्यार्थी विद्यालयभित्रै कम शुल्कमा सञ्चालित ट्युसनका क्लास वा बाहिर खोलिएका गणित, अंग्रेजी वा अन्य भाषासहितका खेल तथा आफूले सिक्न चाहेको क्लासहरू लिन सक्छन् ।

कोरियाको विद्यालयमा निःशुल्क शिक्षा प्रणाली लागू भए पनि बाहिर खोलिएका इन्स्टिच्युटमा महँगो शुल्क तिरेर ट्युसन पढाउने प्रवृत्ति छ । कोरियामा सरकारी विद्यालयहरुमा विदेशी विद्यार्थीहरुले कोरियन विद्यार्थीसरह नि:शुल्क सेवा सुविधासहित पढ्न पाउँछन् । यद्यपि विदेशीहरुको बाहुल्यता भएको ठाउँहरुमा निजीस्तरका अंग्रेजी विद्यालय पनि सञ्चालित छन् । ती विद्यालयहरुमा भने शुल्क तिर्नुपर्ने हुन्छ।

बाला थुलुङ

(थुलुङ कोरियामा कार्यरत पत्रकार हुनुहुन्छ ।)