केराउको कुरा (बालकथा)
"जोखिम लिनैपर्छ । यदि तिमीले टुसा ननिकाले, तिमी केवल माटोभित्रै सड्नेछौ । के जीवनको अर्थ यत्ति हो ?" पहिलो केराउले दृढतापूर्वक भन्यो ।

"हेर न, मित्र ! घाम झुल्किसकेको छ, पानीको गन्धले माटो ताजगीले भरिएको छ," एउटा सानो केराउले भन्यो ।
उसले उत्साहले अर्कोलाई हेर्यो र थप्यो- "अब समय आयो । जमिनको गर्भबाट बाहिर निस्केर हामी खुला संसार हेर्नेछौं ।"
दोस्रो केराउले सुस्ताउँदै उत्तर दियो, "अलि धैर्य गर, साथी । बाहिर संसार कस्तो छ भन्ने कुरा ठ्याक्कै कसरी थाहा हुन्छ ? जमिन सुरक्षित छ । हामीलाई त यहाँ कसैले देखेको छैन, न खतराको कुनै डर छ ।"
पहिलो केराउले हाँस्दै भन्यो, "तर, मित्र, सुरक्षित भएर मात्रै के गर्नु ? जीवन भनेको बाहिर निस्कनु, चुनौती लिनु, अनि रमाइलो गर्नु हो । संसार कति सुन्दर होला ! घामको न्यानो स्पर्श, शीतले टल्किने हाम्रा पातहरू, अनि हावासँग खेल्ने हाम्रो टुसा ! के तिमीले यी सबै कुराहरू अनुभव नगरी बिताउन सक्छौ ?"
दोस्रो केराउ गहिरो सोचमा पर्यो- "तर, बाहिर संसार यति सरल छैन । जमिनमा जरा फैलाउँदा सुक्खा माटो या ढुंगा भेटिए भने ? पानी अभाव भयो भने ? अनि चिप्लेकिरा वा चराहरूले खाए भने ? सोच, मित्र ! म यति सजिलै जोखिम मोल्न सक्दिनँ ।"
"जोखिम लिनैपर्छ । यदि तिमीले टुसा ननिकाले, तिमी केवल माटोभित्रै सड्नेछौ । के जीवनको अर्थ यत्ति हो ?" पहिलो केराउले दृढतापूर्वक भन्यो ।
"म सुरक्षित रूपमा निकास खोज्न चाहन्छु । म सोचेर, तयारी गरेर मात्र बाहिर निस्कन्छु," दोस्रो केराउले अन्तिम निर्णय सुनायो ।
पहिलो केराउले आफ्नो ऊर्जा बटुल्यो । त्यस रात उसले जमिनको माथिल्लो सतहमा एउटा सानो हरियो टुसा निकालेको थियो ।
"ओहो ! यो संसार त अकल्पनीय छ ।" उसले भन्यो । घामको किरणले उसलाई न्यानो बनायो, शीतले उसको पातलाई सजायो। हावाले उसको टुसालाई हल्लायो।
केही दिनभित्रै ऊ एउटा सानो बिरुवामा परिणत भयो । अब ऊ अरू बिरुवाहरूसँग रमाउँदै, आफ्ना पातहरू फैलाउँदै, घामतिर तानिन थाल्यो ।
दोस्रो केराउ भने जमिनभित्रै आफ्नो सुरक्षित खोलमा थन्किएको थियो- "सुरक्षित छु, म यहाँ नै ठीक छु ।" उसले बारम्बार आफैलाई सम्झायो ।
केही दिनपछि, एउटा परेवा बारीमा चरिरहेका बेला उसले जमिनमाथि फैलिएका हरिया पातहरू देख्यो । "कस्तो सुन्दर बिरुवा ! यसको पातहरूले बारीलाई कति सुन्दर बनाएको छ !" परेवा मुस्कुरायो र पर सर्दै गयो ।
तर, उसको ध्यान जमिनमुनि रहेको नउम्रिएको केराउमा गयो। परेवाले हर्षले भन्यो, "यो त सजिलै मेरो चारो बन्न सक्छ ।"
परेवाले त्यो केराउ टिप्यो, आफ्नो खुराक बनायो, अनि उड्यो ।
घाममा रमाउँदै बिरुवा बनेको केराउले आफ्नो शीतस्नात पातहरूमा उज्यालो महसुस गर्यो । उसले मनमनै भन्यो, "जोखिम लिने मेरो निर्णयले आज मलाई यो अद्भुत संसार देखायो ।"
उसले आफ्नो बिरुवा मित्रहरूलाई हेर्दै थप्यो, "जीवन भनेको डराएर सुरक्षित बस्नु होइन, खतरा उठाएर आफूलाई प्रकट गर्नु हो । अस्तित्वलाई सार्थक बनाउनु नै असली विजय हो ।"
२०८१ पुस २१ गते
प्रतिक्रिया