नेपालको पहिलो नमुना माध्यमिक विद्यालय (भिडियाे)
अंग्रेजी माध्यमबाट पठनपाठन थालेपछि विद्यार्थीको चाप थेगिनसक्नु छ । प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्येबाट छानेर भर्ना लिने गरिएको छ । तीन सय भर्ना गर्न तीन हजारभन्दा बढीले प्रवेश परीक्षा दिन्छन् ।
सबै लागेकैले हुनुपर्छ, देशको सामुदायिक विद्यालयमध्ये पहिलो नमुना माध्यमिक विद्यालय कुन हो भनेर । त्यसको सही जवाफ हो– चितवनको नारायणी माध्यमिक विद्यालय ।
नमुना हुनुको कारणचाहिँ के होला त ? नारायणी नमुना माविका प्रधानाध्यापक रामशरण दुवाडी भन्नुहुन्छ, ‘सरकारले तोकेको मापदण्ड नै हो ।’
शिक्षा मन्त्रालयअन्तर्गत तत्कालीन शिक्षा विभागबाट २०६९ मा यो विद्यालय नमुना घोषणा भएको हो । विभागले १ सय ५१ वटा क्राइटेरिया पूरा गरेमात्र नमुना बन्नसक्ने आधार तय गरेको थियो ।
लगातार पाँच वर्षसम्मको नतिजालाई आधार मानिएको थियो । त्यसमा कक्षा ८, कक्षा १० र कक्षा १२ को नतिजालाई आधार मानिएको थियो । विद्यालयले शैक्षिक, भौतिक वातावरण, कक्षाकोठा, विद्यार्थी बसाइको व्यवस्थापन, फूलबारी र मल्टिमिडियाको प्रयोगलगायत क्राइटेरिया पूरा गरेको थियो, जुन अहिलेसम्म निरन्तर छ ।
कक्षा १ मा पुग्नुअघि नर्सरी र केजीको पढाइ हुन्छ । नर्सरीदेखि १२ सम्म, तीनवर्षे डिप्लोमा र दुई वर्षे प्रि–डिप्लोमा पढाइन्छ । सबै कक्षाका गरी चार हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषय पढाइन्छ । कक्षा ११ मा दुवै विषयका चार–चार सेक्सन भर्ना लिइन्छ । विद्यालयमा १ सय ३० जना शिक्षकलगायत जम्मा १ सय ५१ जना कार्यरत हुनुहुन्छ ।
प्रत्येक शुक्रबार २ बजेसम्म पठनपाठन हुन्छ । त्यसपछि अतिरिक्त क्रियाकलाप हुने गर्छ । कक्षागत र तहगत आधारमा खेलकुदलगायत क्रियाकलाप हुने गर्छ ।
शैक्षिक सुधारका निम्ति अभिभावकले वर्षभरिका निम्ति १२ सय रुपैयाँभन्दा माथि चन्दा सहयोग गर्नुहुन्छ ।
२०७२ सालपछि प्रोजेक्टरमार्फत् पठनपाठन सुरु गरिएको हो । कोभिडको बेलादेखि जुम एप्स, गुगलमिट र माइक्रोसफ्ट टिमबाट पठनपाठन गर्ने गरिएको प्रधानाध्यापक दुवाडी बताउनुहुन्छ । अहिले प्रोजेक्टर र स्मार्ट टीभीबाट पठनपाठन गर्ने गरिएको छ ।
२०२० सालमा स्थापना भएको यो विद्यालय २०३८ सालको एसएलसीमा नतिजाविहीन (नील) बनेको थियो । २०२८ सालदेखि शिक्षक, प्रअ हुँदै हाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनुभएका टेकबहादुर थापाका अनुसार त्यसपछि सुधारको पहल गर्दै जाँदा २०५७ सालमा चितवन जिल्ला प्रथम भयो । त्यसयता जिल्लामै अग्रस्थानमा छ ।
अध्यक्ष थापाले ५३ वर्ष यही विद्यालयमा बिताउनुभएको छ । ८० वर्षीय उहाँले अहिले पनि नियमित विद्यालय आएर विद्यालयका गतिविधिमा ध्यान दिने गर्नुभएको छ ।
विद्यालय परिवारको यही अथक मिहिनेतकै कारण नारायण नमुना मावि २०६८ सालमा मध्यमाञ्चल विकास क्षेत्रको छैटौं र २०६९ मा पाँचौं स्थानमा पर्न सफल भयो । २०७९ मा शैक्षिक गुणस्तर मापन केन्द्र (इआरओ) ले गरेको मूल्यांकनमा देशभरिका सामुदायिक विद्यालयतर्फ पोखराको विन्ध्यवासिनी मावि पहिलो र नारायणी नमुना मावि दोस्रो भएका थिए ।
अंग्रेजी माध्यमबाट पठनपाठन थालेपछि विद्यार्थीको चाप थेगिनसक्नु छ । प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्येबाट छानेर भर्ना लिने गरिएको छ । तीन सय कोटाका लागि तीन हजारभन्दा बढीले प्रवेश परीक्षा दिन्छन् ।
कम्प्युटर साइन्स विषय लिएर कक्षा ११ मा पढ्दै गर्नुभएका अनमोल काप्री पढाइसँगै प्राविधिक ज्ञान पनि सिकिरहेको बताउनुहुन्छ ।
कक्षा १० की छात्रा अनिशा पौडेल विषयगत ल्याबको व्यवस्थाले विद्यार्थीलाई आफ्नो भविष्य पहिल्याउन सजिलो हुने बताउनुहुन्छ ।
यहाँ ‘म्याथमेटिक्स ल्याब’, आईसीटी क्लब, नेपाली ल्याब, सामाजिक ल्याबजस्ता विषयगत ल्याबको व्यवस्था रहेको छ । गणित शिक्षा भेगलाल बराल गणित विषयलाई दैनिक जीवनमा प्रयोग गर्ने र म्याथ ल्याबमा समेत आईटीसँग जोडेर प्रयोग गर्ने गरिएको बताउनुहुन्छ ।
विज्ञान विषय संयोजक निरोज बास्तोलाका अनुसार विद्यालयमा ११–१२, ९–१० र ६–८ सम्मका विद्यार्थीलाई छुट्टाछुट्टै विज्ञान ल्याबको व्यवस्था गरिएको छ । ‘विद्यार्थीलाई ४ बजेको छुट्टीपछि पनि विज्ञानका विभिन्न प्रयोगमा समावेश गराउने गरेका छौं,’ उहाँले भन्नुभयो ।
प्रधानाध्यापक रामशरण दुवाडी सरकारले पूरा गरेका सबै मापदण्ड पूरा गरेको र चुस्त व्यवस्थापनमा ध्यान दिएका कारण नमूना बन्न सफल भएको बताउनुहुन्छ ।

शिक्षकका माग पूरा, आन्दाेलन फिर्ता
ललितपुर महानगरले भन्याे– वैशाख १६ देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्नू

४५ लाख विद्यार्थीको भविष्यमाथि खेलवाड तर सडकमै पाक्छ शिक्षककाे तलब

कक्षा १२ काे परीक्षा निर्धारित मितिमै गर्ने निर्णय

शिक्षा समिति सभापतिले अपमान गरेकाे भन्दै शिक्षकहरू आक्राेशित

विद्यार्थीलाई प्राविधिक क्षेत्रमा सक्षम बनाउँदै पद्मकन्या विद्याश्रम (भिडियो)

देश निर्माणकाे काम गर्ने हो भने बालबालिकाबाट सुरु गर्नुपर्छ : डंगोल (भिडियाे)

प्रतिक्रिया