बिहीबार ०४ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

जुनियर चेस उपाधि अग्रिम सैंजुलाई

यु १५ समूहमा भने भारतका अभनिश प्रधानले उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि उचाल्नुभएको छ ।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा शनिबारदेखि तीन दिनसम्म चलेको नेपाल भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगितामा नेपालका अग्रिम सैंजुले भारतका एस एबर भुटियामाथि जित दर्ता गर्दै उपाधि जित्न सफल हुनुभएको छ । 

यु ११ उमेर समूहको चौथो चरणमा पेभेलियन चेस एकेडेमीका सैंजुले सिक्किम चेस एशोसिएसन, भारतका चेस खेलाडी भुटियालाई पराजित गर्नसक्नु नै उपाधि जितको कारण बनेको थियो । 

यसै समूहमा पाँचौं चरणको खेल विजेतासँग पराजित हुँदा आयोजक पुष्पसदन स्कुलका हार्दिक पन्त ६ अंकका साथ दोश्रो हुनुभयो । भारतका भुटिया टाइब्रेकरमा तेश्रो हुनुभएको छ । 

यसैगरी गोल्डेन पिक हाइस्कुलका आयुष शर्मा र लेबोरोटरी स्कुलका अंकुर पोखरेल समान ५.५ अंक जोड्दै चौथो र पाँचौ हुनुभएको छ । 

क्रमशः माछापुच्छ्रे आइ बोर्डिङ स्कुलका साहस श्रेष्ठ, अन्नपूर्ण स्कुलका अबिरल तामाङ, पुष्पसदनका शुभम् बास्कोटा, सिक्किम चेसका यधन्त अग्रवाल, स्वस्तिश्री गुरुकलका एआईएम आर्नभ अर्याल समान ५ अंक जोडेर दसौं स्थानमा उभिन सफल बन्नुभएको छ । 

यसैगरी यु १३ छात्रतर्फको प्रतिस्पर्धामा ६.५ अंकका साथ सिक्किम चेस एसोसिएसनका निरभ ढकालले पहिलो स्थान हात पार्नुभएको छ । पाठशाला सेकेन्डरी स्कुलका ओस्कार पन्थी ६ अंक बनाएर द्वितीय स्थानमा रहनुभयो भने समान ६ अंक जोड्दै त्रियोग हाइस्कुलका आभाष रिमाल तृतीय स्थानमा रहन सफल हुनुभयो । 

यसै समूहमा अन्नपूर्ण स्कुलका युनिष खड्का ५.५ अंक बनाइ चौथो हुनुभयो । ज्ञानोदय बालबाटिकाका प्रविर केसी, हिमालयन चेस एकेडेमीका सात्विकमान तुलाधर, त्रियोगका सम्पन्न बज्राचार्य, श्रीजनकल्याण सेकेन्डरीका सोहन श्रेष्ठ, माउन्ट भ्यु स्कूलका सत्यम पाठक र हिमालयन बोर्डिङ स्कुलका गौरव पौडेल समान ५ अंक बनाउँदै दशौंसम्म रहनुभएको छ । 

यु १५ समूहमा भारतका अभनिश प्रधानले उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि उचाल्नुभएको छ । सिक्किम चेस एसोसिएसनबाट प्रतियोगितामा सहभागी हुनुभएका प्रधानले सात चरणको खेलमा अपराजित ७ अंक जोड्नुभएको हो ।

पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलले आयोजना गरेको विद्यालयस्तरीय प्रतियोगिता यसै समूहमा आयोजक स्कुलका सुप्रभसागर श्रेष्ठले ५.५ अंक बनाउँदै दोश्रो स्थान हात पार्नुभएको छ । समान ५.५ अंक प्रोग्रेसिभ टाइब्रेकर प्वाइन्ट आधारमा मातृभूमि स्कुलका सविद प्रजापति तृतीय हुनुभएको छ ।

यस्तै त्रियोग हाइस्कुलका सइस घिमिरे, संस्कृति अन्तर्राष्ट्रिय स्कुलका स्पर्श सरावगी, अन्नपूर्ण सेकेन्डरीका आयुष बोहरा, पेभेलियन चेस एकेडेमीका कसिभ कार्की, हिलटाउन सेकेन्डरी स्कुलका रसिल महर्जन र हिमालयन चेस एकेडेमीका रिचेन डोमजोन समान ५ अंक प्राप्त गर्दै क्रमशः चौथोदेखि नवौं स्थान ओगट्न सफल हुनुभयो । त्रियोग हाइस्कुलका सक्रित कुइँकेल ४.५ अंक जोडेर दशौं हुनुभयो । 

समापन समारोहमा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले विजेता विद्यार्थी खेलाडीलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । उहाँले पुष्पसदन स्कुलको सानो प्रयासमा नै २४७ जना खेलाडी सहभागी भएको अवगत गराउँदै अर्को संस्करणको अन्तर्राष्ट्रिय खेल पनि आयोजना गर्ने बताउनुभयो ।