बिहीबार ०४ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

भारतका आभानिष र डेसियल बुद्धिचाल स्पर्धामा अगाडि

आभानिषले आयन्स पौडेल, रेन्बो एकेडेमीका आर्यन पुन, गुरुकुलका स्पर्श सराबगी, बज्र एकेडेमीका विभष जोशी र त्रियोग हाइस्कुलका सइस घिमिरेलाई पराजित गर्नुभएको हो ।

पुष्पसदन सेकेन्डरी बोर्डिङ्ग स्कुलको आयोजनामा सञ्चालन भइरहेको नेपाल तथा भारतको सिक्किमका विद्यार्थी सम्मिलित यु ११, यु १३ र यु १५ अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन् । 

काठमाडौंको कीर्तिपुरस्थित पुष्पसदन विद्यालयको प्राङ्गणमा छात्रातर्फ यु १५ समूहअन्तर्गत सिक्किम चेस एसोसिएसनबाट प्रतिस्पर्धा गरिरहेका आभानिष प्रधानले सतप्रतिशत जित दर्ता गर्न सफल हुनुभएको छ ।

आभानिषले ५ अंक जोड्ने क्रममा क्रमशः आयन्स पौडेल, रेन्बो एकेडेमीका आर्यन पुन, गुरुकुलका स्पर्श सराबगी, बज्र एकेडेमीका विभष जोशी र त्रियोग हाइस्कुलका सइस घिमिरेलाई पराजित गर्नुभएको हो ।

छात्रातर्फको यु१५ प्रतिस्पर्धामा भारतका डेसियल ओङ्गमु भुटियाले ४.५ अंक जोडेर एकल अग्रता कायम गर्नुभएको छ । उहाँले चौथो चरणको एकमात्र खेल हिमालयन चेस एकेडेमीका प्रज्ञा पन्तसँग बराबरी गर्नुभयो भने बाँकी ४ जना प्रतिस्पर्धीलाई हराउन सफल भएको थियो । 

यसै समूहमा आयोजक पुष्पसदन बोर्डिङ स्कुलका शिवानी रिजाल र सबनम रिजालले समान ४ अंक बनाउँदै संयुक्त दोश्रो स्थानमा उभिन सफल हुनुभएको छ । 

१३ वर्ष उमेर समूहको छात्रतर्फ पाठशाला सेकेन्डरी स्कुलका ओस्कार पन्थीले ५ अंक जोडेर एकल अग्रता कायम गर्नुभएको छ । 

पेभेलियन चेस एकेडेमीका उत्पादक पन्थीले क्रमशः हिलटाउन स्कुलका ओरेन महर्जन, हिमालयनका आयन जोशी, जेनिश गुरुङ्ग र ज्ञानोदय बालबाटिकाका प्रविर केसीमाथि जित दर्ता गर्नुभएको हो । दोश्रो स्थान ओगट्न सफल भारतका निरभ ढकालले ४.५ अंक बनाएर छैटौं चरणको खेल पन्थीसँग खेल्ने पक्का गर्नुभएको छ ।

यसै समूहको छात्रातर्फ बिएन एकेडेमीका विविशा तामाङले पूर्ण ५ अंक बनाएर अग्रता कायम गर्नुभएको छ । उहाँलाई भारतका मानश्वी आचार्य र मार्भलस इङ्गिलस स्कुलकी कृति रिजालले समान ४ अंकसहित पछ्याइरहनुभएको छ । 

यसैगरी यु ११ छात्रतर्फ सूर्योदय सेकेन्डरी स्कुलका अग्रिम सैंजुले सबै खेल आफ्नो पक्षमा पार्दै समूहमा अग्रता बनाउन सफल हुनुभएको छ । पेभेलियन चेस एकेडेमीका उत्पादक अग्रिम सैंजुलाई पछ्याउने क्रममा ग्रीनल्याण्ड स्कुलका सुलभ पन्थी र गोल्डेन पिक स्कुलका आयुष शर्माले समान ४.५ अंक जोड्नुभएको छ ।

यु ११ छात्रा समूहमा मार्भलस इङलिस स्कुलकी निहाना श्रेष्ठले सबै खेल जितेर ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल हुनुभएको छ । हिमालयन चेस एकेडेमीकी उत्पादक निहानाले क्रमशः रुबेर्सी चौलागाईं, नयुमा मगर, प्रशंसा चौधरी, ओजस्वी श्रेष्ठ र भारतका पालक अग्रवालमाथि जित प्राप्त गर्नुभएको हो । 

यसै समूहमा अन्नपूर्ण सेकेण्डरी स्कुलका ओजस्वी श्रेष्ठ, मार्भलसका सुहानी सिंह र सिक्किमका पालक अग्रवाल समान ४ अंकमा रहँदै दोश्रो स्थानमा हुनुहुन्छ ।

प्रतियोगिताका संयोजक एवं पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठले २४७ नेपाली विद्यार्थी र सिक्किम चेस एशोसिएसनका तर्फबाट सहभागी भएका ११ जनामध्ये प्रतिस्पर्धामा प्रत्येक समूहका विजेता खेलाडीलाई आकर्षक ट्रफी, गोल्ड, सिल्भर र ब्रञ्ज मेडलसहित प्रमाणपत्र प्रदान गरिने जानकारी गराउनुभएको छ । उहाँका अनुसार ७ चरणको खेलका बाँकी २ चरण सोमबार खेलाइने छ ।