राेग लाग्नै नदिनु र राेग लागेपछि उपचार गर्नु राज्यकाे दायित्व हाे : स्वास्थ्यमन्त्री पाैडेल (भिडियो)
‘बालबालिका मात्रै होइन, अन्य उमेर समूहका लागि पनि उपचार महँगो भएकामा हामी संवेदनशील छौं र उपचारलाई सहज बनाउन प्रयासरत छौं ।’
बालसंसार डटकमको बालबालिकाकेन्द्रित नवीन कार्यक्रम ‘बालकास्ट’ मा यसपटक हामीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग संवाद गरेका छौं ।
मन्त्री पौडेलले आफ्नो बाल्यकाल, राजनीतिप्रतिको झुकाव, स्वास्थ्यमन्त्री बनेपछि गरेका काम आदिबारे प्रकाश पार्नुभएको छ । उहाँले बालबालिकाको स्वास्थ्य संरक्षण, किशोरकिशोरीको स्वास्थ्य सुदृढीकरण, स्वास्थ्य बीमाको दायरा वृद्धिसम्बन्धी आफ्ना योजना तथा नीतिहरूबारे विस्तृतमा जानकारी गराउनुभएको छ ।
मन्त्री पौडेलले १४ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि क्यान्सर उपचार सरकारले पूर्ण रूपमा निःशुल्क गर्ने निर्णय गरेको र त्यसलाई कार्यान्वयन गर्न व्यवस्थित ढाँचा बनाएको बताउनुभएको छ । ‘आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सरजस्तो जटिल रोगको उपचारबाट वञ्चित हुनु हुँदैन भनेर याे निर्णय गरेका हाैं,’ उहाँले भन्नुभयो, ‘बालबालिका मात्रै होइन, अन्य उमेर समूहका लागि पनि उपचार महँगो भएकामा हामी संवेदनशील छौं र उपचारलाई सहज बनाउन प्रयासरत छौं ।’
नेपालमा किशोरीहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि सरकारले यही माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन गर्दैछ । मन्त्री पौडेलका अनुसार, कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरूलाई लक्षित गरी यो खोप लगाउने व्यवस्था मिलाइएको छ । ‘पाठेघरको मुखको क्यान्सर महिलामा ठूलो समस्याका रुपमा रहेको छ, यो खोपले किशोरीहरूलाई भविष्यमा क्यान्सरबाट बच्न मद्दत गर्नेछ,’ उहाँले भन्नुभयो ।
मन्त्री पौडेलले स्वास्थ्य बीमाका योजनालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो । हाल स्वास्थ्य बीमाअन्तर्गत प्रदान गरिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्याउने योजना अघि सारिएको उहाँले बताउनुभयो । यसबाट आर्थिक रूपमा कमजोर वर्गलाई थप राहत पुग्ने उहाँको विश्वास छ ।
राेग लागेपछि उपचार गर्नु राज्यकाे दायित्व भएजस्तै राेग नै लाग्न नदिनु पनि राज्यकाे दायित्व भएकाले त्यसैलाई केन्द्रमा राखेर काम गरिरहेकाे उहाँले बताउनुभयाे ।
विद्यालय तहमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउन आवश्यक रहेकाले शिक्षामन्त्री र अन्य सरोकारवाला निकायसँग समन्वय गरी पाठ्यपुस्तकलाई परिष्कृत बनाउन पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रस्तुत छ, मन्त्री पौडेलसँग काठमाडौंको कोटेश्वरस्थित ट्रिटन कलेजमा कक्षा ११ मा अध्ययनरत छात्रा सिम्रिका खवासले गर्नुभएको कुराकानी (हेर्नुहोस् भिडियो) ।
प्रतिक्रिया