विद्यालयस्तरीय खुला बुद्धिचाल प्रतियोगिता सुरु
प्रतियोगिताको दोश्रो दिन आइतबार थप तीन चरणका खेल सञ्चालन हुनेछन् ।

कीर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयकाे आयोजनामा खुला विद्यालयस्तरीय बुद्धिचाल प्रतियाेगिता सुरु भएकाे छ । यु ११, यु १३ र यु १५ उमेर समूहका छात्रछात्राबीच भएकाे प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा नेपालका २३६ जना तथा भारतका ११ जना खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । तीन दिनसम्म चल्ने स्पर्धा ३० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट सेमी क्लासिकल विधाअन्तर्गत फरक उमेर समूहका विजेता खेलाडीले ट्रफी, गोल्ड, सिल्भर, ब्रञ्ज मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट १० स्थान ओगट्ने खेलाडीले पनि मेडल हात पार्ने छन् ।
शनिबार सम्पन्न दुई चरणको खेल नतिजाअनुसार यु १५ छात्रतर्फ हिल टाउन सेकेण्डरी स्कुलका रसिल महर्जन २ अंक जोडेर पहिलो स्थानमा हुनुहुन्छ ।
समान २ अंक बनाउँदै अन्नपूर्ण सेकेण्डरी स्कुलका आयुष बोहरा, भारत सिक्किम चेस एशोसिएसनका अभनिष प्रधान, त्रियोग हाई स्कुलका सक्रिट कुइँकेल, आयोजक पुष्पसदन स्कुलका सागर सुप्रभ श्रेष्ठ, बज्र एकेडेमीका विभव जोशीले संयुक्त अग्रस्थान हासिल गर्नुभएकाे छ।
यस्तै पेभेलियन चेस एकेडेमीका स्पर्श सारावगी, हिमालयन चेस एकेडेमीका रिन्छेन डोम्जोन, आशीर्वाद थापा, त्रियोग स्कुलका सईस घिमिरे र ललितपुर चेस एकेडेमीका सहर्ष श्रेष्ठले अग्रता कायम गर्न सफल हुनुभएकाे छ ।
यसैगरी यु १५ छात्रातर्फ आयोजक पुष्पसदन बाेर्डिङ स्कूलकी सबनम रिजाल २ अंकका साथ अगाडि हुनुहुन्छ । उहाँसँगै त्रियोग स्कुलका कृपा बेलबासे, सिक्किमका डेसियल ओङ्गमु भुटिया र हिमालयन चेसका प्रज्ञा पन्त समान अंक जोडेर संयुक्त अग्रस्थानमा रहनुभएकाे छ ।
प्रतियोगितामा यु १३ समूह छात्रतर्फ ज्ञानोदय बालबाटिकाका प्रविर केसी, सिक्किमका निरव ढकाललगायत १४ खेलाडीले संयुक्त अग्रता हासिल गर्नुभएकाे छ ।
यता यु १३ छात्रा विधामा सिक्किमका मानश्वी आचार्य २ अंक जोडेर अगाडि हुनुहुन्छ भने मनकामना सेकेण्डरी स्कुलका प्रिसिअस अधिकारी, पेभेलियन चेस एकेडेमीका नेलिसा ओझा, बिएन एकेडेमीका बिविषा तामाङ्ग र त्रियोग स्कुलका नोएल थापाले संयुक्त अग्रता लिनुभएकाे छ ।
यु ११ छात्र विधामा ग्रिनल्याण्ड स्कुलका सुलभ पन्थी २ अंक जोडेर पहिलो स्थानमा हुनुहुन्छ । सुलभसँगै अन्य १५ जना खेलाडी समान अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल हुनुभएकाे छ ।
यस्तै छात्रा यु ११ तर्फ सिक्किमका पालक अग्रवाल, हिमालयन चेस एकेडेमीका निहाना श्रेष्ठ, अन्नपूर्ण सेकेण्डरीका ओजस्वी श्रेष्ठ, त्रियोग स्कुलका श्रीयश्री तुलाधर र कस्यप एकेडेमीका प्रशन्ना चौधरीले २ अंकका साथ सुखद सुरुवात गर्नुभएकाे छ ।
यसैबीच पुष्पसदन विद्यालयका अध्यक्ष महेश श्रेष्ठले उदघाटन समारोहमा युवा विद्यार्थीलाई बौद्धिकतातर्फ उत्प्रेरित गर्ने उद्देश्यले मानसिक क्षमता अभिवृद्धि गर्ने तथा जीवनका हरेक पलमा रणनीतिक बन्न सिकाउने अभियानमा शिक्षा क्षेत्र अग्रसर हुनु अनिवार्य रहेको धारणा राख्नुभयाे ।
समारोहमा विभिन्न विद्यालयका शिक्षकहरु, बुद्धिचाल महासंघका अग्रज खेलकर्मी एवं राष्ट्रिय अन्तर्राष्ट्रिय निर्णायकहरुको उपस्थित रहेको थियो । प्रतियोगिताको दोश्रो दिन आइतबार थप तीन चरणका खेल सञ्चालन हुनेछन् ।
प्रतिक्रिया