शुक्रबार २६ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

विद्यालय तहमा अब निःशुल्क रजिष्ट्रेसन हुन्छ : शिक्षामन्त्री भट्टराई

‘अबदेखि कक्षा ९ मा रजिष्ट्रेसन शुल्क उठाउन नपाउने र राजस्वमा पनि नजाने निर्णय भएको छ ।'

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अबदेखि विद्यालय तहमा निःशुल्क रजिष्ट्रेसन गरिने बताउनुभएको छ । अहिलेसम्म कक्षा ९ र कक्षा ११ मा दुई पटक शुल्क तिरेर विद्यार्थीले रजिष्ट्रेसन गरिँदै आएको छ । उक्त शुल्क सरकारको खातामा राजस्वका रूपमा जम्मा हुने गरेको छ । 

संविधान र शिक्षा ऐनले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क उल्लेख भए पनि अहिलेसम्म रजिष्ट्रेसन असुल्ने गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ र ११ मा रजिष्ट्रेसन शुल्क अुुल्दै आएको छ । 

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) ले बिहीबार काठमाडौंमा आयोजना गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसँग साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले उक्त जानकारी गराउनुभएको हो ।   

‘अबदेखि कक्षा ९ मा रजिष्ट्रेसन शुल्क उठाउन नपाउने र राजस्वमा पनि नजाने निर्णय भएको छ,’ आगामी बजेटबाट यसको सम्बोधन हुने उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो, ‘रजिष्ट्रेसन एकपटक कक्षा ९ मात्र निःशुल्क रूपमा गरिनेछ । संविधान र ऐनमा उल्लेख विद्यालय शिक्षा निःशुल्कको सुरुवात यसैबाट हुनेछ । विलम्ब शुल्क लिन पाइने छैन ।’ 

यसैगरी कक्षा १० को परीक्षा प्रदेश सरकार र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने जानकारी दिनुभयो । 

शिक्षामन्त्री भट्टराईले बझाङ, बाजुरा र दार्चुलामा दिवा खाजा निरन्तर राखिएको बताउनुभयो । त्यसनिम्ति दीगो विकास लक्ष्य (एसडीजी) का विकास साझेदार संस्थाहरूसँग अनिवार्य तथा निःशुल्क शिक्षामा समेत सहकार्य गरिएको उल्लेख गर्नुभयो । 

यसैगरी समयसापेक्ष राष्ट्रिय पाठ्यक्रम परिमार्जन गरिने निर्णय भएको मन्त्री भट्टराईले बताउनुभयो । स्वास्थ्य शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रममा राखिनेछ । साथै, इतिहास र वातावरण विषयलाई समयसापेक्ष राष्ट्र र स्रोतसँग जोडेर परिमार्जन उल्लेख गर्नुभयो ।