सारेगमपा लिटिल च्याम्प्स मेरो करियरको ढाेका हो : आयुष केसी (भिडियाे)
‘त्यति धेरै मान्छेका बीचमा छनोट भएर प्रतिस्पर्धामा चौथो स्थानमा आउँदा र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको थियो ।’
किशोर आवाजको चौथो श्रृंखलामा हामीले संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक आयुष केसीसँग कुराकानी गरेका छौं ।
सुरसाला आइडल जुनियर १ मा पहिलो र भारतको चर्चित गायन शो सारेगमपा लिटिल च्याम्प्स २०१९ मा चौथो स्थान हासिल गर्नुभएका आयुषले आफ्नो सांगीतिक यात्रा, संघर्ष र अनुभवहरू साझा गर्नुभएको छ ।
आयुषले सुरशाला आइडल जुनियरबाट आफ्नो सांगीतिक यात्राको सुरुआत कसरी भयो भन्नेबारे प्रकाश पार्नुभएको छ । ‘मेरा गुरुहरू क्षितिज कुलुङ र अमृत क्षेत्रीको प्रेरणाले मैले सुरशाला आइडलमा अवसर पाएँ, त्यो एउटा ठूलो अवसर थियो,’ उहाँले भन्नुभयो, ‘त्यहाँको अनुभवले मलाई आत्मविश्वास दिलायो र मेरो प्रतिभालाई निखार्न सहयोग गर्यो ।’
आमा र दिदीहरुको सपोर्ट र प्रेरणाका कारण आजको ठाउँसम्म आइपुग्न सकेको आयुष बताउनुहुन्छ । ‘उहाँहरुले सधैं जहाँ म जान्छु, त्यहाँ सफल भइदिए हुन्थ्यो भन्ने नै चाहना राख्नुभयो,’ उहाँ भन्नुहुन्छ ।
करिअरका क्रममा आयुषले पाएको सबैभन्दा ठूलो प्लेटफर्म हो– सारेगमपा लिटिल च्याम्प्स । ‘सारेगमपामा जाँदा म १२ वर्षको थिएँ, त्यसबेला छनोटमा इस्क सोफियाना भन्ने गीत गाएँ,’ आयुष भन्नुहुन्छ, ‘छनोटको अडिसनमा दिल्लीबाट मात्रै एक लाखभन्दा बढी व्यक्ति सहभागी थिए ।’
त्यहाँ पुग्ने सपना देखे पनि त्यो अवसर नै पाउँछु भन्नेचाहिँ आयुषलाई लागेको रहेनछ तर देशको प्रतिनिधित्व गरेर त्यहाँ पुगिसकेपछि आत्मविश्वास जागेको उहाँ बताउनुहुन्छ ।
उक्त शोका क्रममा पाएको प्रशिक्षण र मार्गदर्शनले आफ्नो जीवन परिवर्तन गरेको उहाँले बताउनुभयो । आयुष भन्नुहुन्छ, ‘त्यति धेरै मान्छेका बीचमा छनोट भएर प्रतिस्पर्धामा चौथो स्थानमा आउँदा र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको थियो ।’
आजका दिनमा आयुष म्युजिकलाई केले सपोर्ट पुर्याउँछ भन्नेमा फोकस हुनुहुन्छ । ‘सारेगमपाको प्रतिस्पर्धाबाट फर्किएपछि मेरो करियरको ढोका खुलेको ठान्छु,’ उहाँ भन्नुहुन्छ ।
बालबालिकाका रुचि र प्रतिभालाई अभिभावकले पहिचान गर्न र बुझिदिन पर्ने उहाँ बताउनुहुन्छ । ‘अभिभावकको सपोर्ट बिना अघि बढ्न सकिँदैन, त्यसैले बालबालिकालाई सधैं उहाँहरुको साथ आवश्यक हुन्छ ।’
आगामी योजनाबारे चर्चा गर्दै आयुषले विदेशमा गएर सिक्ने र देशमा फर्किएर सिकाउने चाहना व्यक्त गर्नुभयो । ‘युवा विदेशिनुको कारण अवसरको कमी हो तर त्यहीँ पलायन हुनुहुँदैन भन्ने मेरो सोच छ,’ आयुष भन्नुहुन्छ ।
सुनौं आयुषका विचार उहाँकै शब्दमा ।
‘विवाह अभिभावकको दबाबमा होइन, आफ्नो इच्छाअनुसार गर्नुपर्छ’ (भिडियाे)

चाहना र आयुश्नाकाे डाक्टर बन्ने लक्ष्य (भिडियाे)
‘आफ्ना समस्या सेयर गर्न नसक्दा किशोरकिशोरीमा मानसिक तनाव बढ्दो छ’ (भिडियाे)

‘युवा पुस्ता राजनीतिबाट भाग्नु हुँदैन’ (भिडियाे)
‘प्रेमसम्बन्ध बुबाआमाको जस्तो होस्, जुन अहिलेको जेनेरेसनमा छैन’

‘आफ्ना बच्चालाई अर्कोसँग तुलना गरेकाे मन पर्दैन’ (भिडियाे)

प्रतिक्रिया