हात्ती महाेत्सवले जगाउँछ साैराहाकाे पर्यटन (भिडियाे)
नेपाल भ्रमण वर्ष १९९८ मा शुभारम्भ गरिएको हात्ती महोत्सव प्रत्येक वर्ष एउटै मिति र समयमा हुँदै आएको छ ।
चितवनको सौराहामा १८औं हात्ती तथा पर्यटन महोत्सव सम्पन्न भएको छ । क्षेत्रीय होटल संघ (हान) सौराहाले महोत्सव आयोजना गरेको हो ।
यो महोत्सव हरेक वर्ष क्रिसमसको भोलिपल्ट अर्थात् डिसेम्बर २६ देखि ३० (पाँच दिन) सम्म आयोजना हुन्छ ।
नेपाल भ्रमण वर्ष १९९८ मा शुभारम्भ गरिएको हात्ती महोत्सव एउटै मिति र समयमा हुँदै आएको छ । कोभिड–१९ महामारी लगायत कारणले केही वर्ष हुन सकेको थिएन । दुई वर्षयता नियमित रूपमा महोत्सव भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । सबैभन्दा धेरै हात्ती यो निकुञ्जमा छन् । हात्ती पृथ्वीको सबैभन्दा ठूलो शाकाहारी जनावर हो, जुन घाँसपात र झारहरू खाएर बाँच्छ । हात्ती मान्छेजस्तै सामाजिक प्राणी हो । ठूलो झुन्डमा बस्छ । चितवन निकुञ्जमा जंगली र मान्छेले पालेका दुवैथरी हात्ती छन् ।
हात्ती लोपोन्मुख जनावरमा पर्दछ । त्यसकारण नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत खोरसोरमा हात्ती प्रजनन तथा तालिम केन्द्रको व्यवस्था गरेको छ । यहाँ १० वटा बच्चा र ११ वटा माउ गरी २१ वटा हात्ती छन् । यसका साथै पर्यटन प्रवद्र्धनका निम्ति अरु व्यवसायीले समेत हात्ती पाल्ने गरेका छन् ।
क्षेत्रीय होटल संघका महासचिव तथा महोत्सवका सदस्यसचिव गुणराज थपलियाका अनुसार हात्तीको संरक्षण र सदुपयोग गर्ने अवधारणाअनुसार हात्ती तथा पर्यटन महोत्सव गरिएको हो ।
यो वर्ष पनि सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा महोत्सव आयोजना गरिएको थियो । महोत्सव उद्घाटनअघि सिंगारिएका हात्तीको लस्करसहित आदिवासी थारूलगायतका समुदायको सांस्कृतिक झाँकीले नगर परिक्रमा र प्रदर्शनी गरिएको थियो ।
महोत्सवमा हात्तीको फुटबल खेल खेलाइएको थियो । यस अवसरमा हात्तीलाई मन पर्ने फलफूल र खानेकुरा खुवाएर हात्तीको पिकनिक मनाइन्छ । यो वर्ष ३५ वटा हात्तीलाई ड्रागन फ्रुट, मेवा, स्याउ, उखु, केरा, घाँस, खर्बुजा, भुइँकटहर, मकै, बन्दा, फर्सी, सुन्तला, पाउरोटी, भेलीमा पकाएको चामलजस्ता खानेकुरा खुवाइएको थियो ।
माहुतेले हात्तीलाई श्रृंगारपटार गराएर हात्ती सुन्दरी प्रतियोगिता गराइएको थियो । जसमा पुरस्कारको व्यवस्था पनि थियो । आगामी वर्ष हात्तीको लस्करलाई म्युजिकअनुसार नृत्य गराउने जनाइएको छ ।
पशुअधिकार अभियन्ताहरूले हात्ती महोत्सव गर्न नहुने भन्दै आएका छन् । महोत्सवमा हात्तीलाई प्रतिकुल असर हुने कार्यक्रम नराख्ने गरी महोत्सव आयोजक समिति र एनिमल राइट क्लबबीच सहमति भएर कार्यक्रम हुने गरेको छ ।
‘महोत्सवको प्रमुख आकर्षण भनेकै हात्तीका खेल, हात्ती पिकनिक, हात्ती ब्युटी कन्टेस्ट हो,’ चितवन हात्ती तथा पर्यटन महोत्सवका सदस्य–सचिव थपलिया भन्नुहुन्छ, ‘हात्ती हाम्रो परिवारको सदस्यसरह हो । आर्थिक हिसाबले हात्ती पाल्न साह्रै महँगो छ । यसलाई नयाँ र वैज्ञानिक विधिबाट अगाडि लाँदै गर्दा हात्तीलाई कसरी सदुपयोग गर्न सकिन्छ, संरक्षण सँगसँगै व्यवसाय कसरी गर्न सकिन्छ भनेर महोत्सव आयोजना गर्ने गरिएको छ ।’
हिन्दु धर्मग्रन्थका अनुसार हात्तीलाई भगवानका रुपमा पुज्ने गरिन्छ । त्यसैले हात्तीलाई परिवारका सदस्यलाई जसरी माया गर्ने गरिएको थपलियाको कथन छ । यसैगरी सौराहामा स्थानीय संस्कृति, निकुञ्जको महत्व, विभिन्न व्यवसाय, कृषिलाई जोडेर महोत्सवको महत्व बढाउने गरिएको छ ।
यो वर्ष एक लाखभन्दा बढी स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहेको थियो ।

शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह

विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

प्रतिक्रिया