यसरी उत्कृष्ट बन्यो विश्वनिकेतन (भिडियाे)
प्रधानाध्यापक हेरम्बराज कँडेल भन्नुहुन्छ– यहाँ ४५ सय विद्यार्थी अध्ययनरत छन्
काठमाडौं महानगरपालिकामा ८७ सामुदायिक विद्यालय छन् । तीमध्ये तीनवटा विद्यालय कारागारभित्र छन् । सामुदायिक विद्यालयमध्ये नतिजाका आधारमा विश्वनिकेतन माध्यमिक विद्यालय उत्कृष्टमा पर्दछ ।
महानगर शिक्षा विभाग प्रमुख गोविन्द शर्मा भन्नुहुन्छ, ‘एसईई र कक्षा १२ को नतिजाको आधारमा विश्वनिकेतन मावि सामुदायिक विद्यालयमध्ये उत्कृष्टमा पर्छ ।’
विश्वनिकेतन माविले शिक्षा मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कार २०८१ प्राप्त गरेको छ । त्यसअघि २०७४ र २०७५ सालको राष्ट्रिय पुरस्कार पाएको थियो ।
विश्वनिकेतन मावि वि.सं. २००३ सालमा स्थापना भएको हो । यो विद्यालय राजधानी काठमाडौंको मुटु त्रिपुरेश्वरमै रहेको छ । यस विद्यालयमा पढेका विद्यार्थी देशमा चिनिएका व्यक्तित्वहरू हुनुहुन्छ । समयको अन्तरालमा विद्यालयको शैक्षिक गुणस्तर खस्किएको थियो । जसका कारण विद्यार्थी संख्या ह्वात्तै घटेको थियो । त्यसरी शैक्षिक गुणस्तर खस्किएप्रति स्थानीय शिक्षाप्रेमीहरूको स्वाभीमानमा ठेस लाग्यो । त्यसपछि जागरुक भएर विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू सुधारका निम्ति लागिपर्नुभयो ।
सुधारका अनेक उपायहरू अपनाउनुभयो । त्यसमा अंगे्रजी माध्यमबाट पठनपाठन गर्ने, पाठ्यपुस्तकका अतिरिक्त क्रियाकलापहरूलाई जोड दिने, सबै शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई आफू कार्यरत विद्यालयमै पढाउनुपर्नेलगायत थिए ।
शिक्षा मन्त्रालयले शिक्षक तलबका अतिरिक्त थोरैमात्र वार्षिक अनुदान दिने भएकाले विद्यालयको आर्थिक पक्ष सुधार गर्न आयस्रोतका उपायहरू अवलम्बन गरिएको प्रधानाध्यापक हेरम्बराज कँडेल बताउनुहुन्छ ।
अहिले शिशु कक्षादेखि कक्षा १० सम्म १ हजार ८ सय विद्यार्थी पढिरहनुभएको छ । यसैगरी कक्षा ११ र १२ मा २ हजार ६ सय जना अध्ययनरत हुनुहुन्छ । त्यसमा विज्ञान, कानुन र व्यवस्थापन विषय पढाइ हुन्छ ।
त्यसपछिका वर्षहरू एकपछि अर्को गरी सुधारका सकारात्मक नतिजाहरू देखिन थाले । अभिभावकहरूका निम्ति आकर्षणको शैक्षिक थलो बन्न थाल्यो । विद्यार्थीको चाप बढ्न थालेपछि अहिले शिशु कक्षाबाहेक प्रवेश परीक्षा लिइन्छ । नतिजाको आधारमा विद्यार्थीले भर्ना हुन पाउँछन् ।
सहायक प्रधानाध्यापक केदारप्रसाद दाहालले दिनुभएको जानकारीअनुसार विद्यार्थी चापकै कारण कक्षा १ देखि ५ सम्म दुई–दुई वटा सेक्सन छुटाएर पढाइएका छन् । कक्षा ६ र ७ मा तीन–तीन वटा सेक्सन छन् । कक्षा ८ मा चारवटा सेक्सन छन् । कक्षा ९ र १० पाँच–पाँचवटा सेक्सन छन् ।
विद्यालय तहमा १ सय ६० जना शिक्षक र कर्मचारी कार्यरत हुनुहुन्छ । उहाँहरूमध्ये ६२ जना सरकारको अनुदानमा काम गर्दै आउनुभएको छ भने बाँकी विद्यालयको आन्तरिक स्रोतबाट तलब पाउनुहुन्छ ।
विश्वनिकेतन मावि उत्कृष्ट विद्यालय बन्न सक्नुको कारणबारे प्रधानाध्यापक हेरम्बराज कँडेलसँग प्रेरणादायी कुराकानी गरेका छौं ।
प्रतिक्रिया