आइतबार २१ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

दश देशका किताब प्रदर्शनी एकै ठाउँमा (भिडियाे)

बालबालिका लक्षित पजल गेम र कथावाचन

दोस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा पाठक र दर्शकको भिड बढेको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबार सुरु भएको प्रदर्शनीमा १० देशको सहभागिता रहेको छ । नेपाल, चीन, भारत, बंगलादेश, श्रीलंका, जिम्बाबे, क्यानडा, थाइल्याण्डलगायत मुलुक प्रदर्शनीमा सहभागी छन् । 

प्रदर्शनीमा स्वदेशी र विदेशी व्यवसायीका १५० स्टल छन्, जसमा किताब, स्टेसनरी, खेलकुदलगायत सामग्री राखिएका छन् । पठन संस्कृतिको विकास तथा पठन शैलीको निरन्तरताका लागि प्रदर्शनी गरिएको हो ।

स–साना बालबालिकाका निम्ति विभिन्न प्रकाशन तथा स्कुले पजल गेम, कथावाचन, आर्ट एन्ड क्राफ्टलगायत क्रियाकलापहरू गराइएको छ । त्यसनिम्ति पुस्तक प्रदर्शनी थलोभन्दा छुट्टै कक्षको व्यवस्था गरिएको छ । 

‘बालबालिकालाई लक्षित गरेर प्रकाशन गरिएका किताबहरू प्रदर्शनीमा राखेका छौं,’ कोपिला किताबका निर्देशक अर्पिता शाक्यले भन्नुभयो, ‘हामीले अहिलेसम्म ५५ शीर्षकका चित्रमय कथ्यतथ्य किताबहरू प्रकाशित गरेका छौं । यो प्रदर्शनीमा उनीहरूलाई खेल्ने र कथा भन्ने मौका पनि दिएका छौं ।’

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो । प्रदर्शनीको सहआयोजक भने चीन हो । चिनियाँ कक्षमा अतिथिहरूलाई सेमिनार तथा अन्तरक्रिया गराउने गरिएको छ । प्रदर्शनी स्थलमा १० देशका लेखक, प्रकाशक र व्यवसायीबीच अन्तरक्रिया गरिएको छ ।

सन् २०२३ मा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीका पहिलो संस्करण सम्पन्न भएको थियो । ‘नेपालमा अहिलेसम्म पुस्तक प्रदर्शनी नाममात्रको हुन्थ्यो,’ आयोजकमध्ये रिसर्च सेन्टरका मेनेजिङ डाइरेक्टर किरण गौतमले भन्नुभयो, ‘वाह, पुस्तक प्रदर्शनी भनेको त यस्तो पो हुनुपर्ने रहेछ भनेर मानक निर्माण गर्नेगरी आयोजना गरेका हौं ।’

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले प्रर्दशनीमा स्वदेश तथा विदेशी प्रकाशबीच कपिराइट टेबल म्याचिङ हुने जानकारी दिनुभएको छ । नेपालमा पहिलो पटक कपिराइट टेबल म्याचिङ अभ्यास गरिएको हो । 

प्रदर्शनीमा प्रकाशक, लेखक, शैक्षिक सामग्री उत्पादक, आयात तथा निर्यातकर्ताहरू सहभागी छन् । त्यसमा नेपालका २ हजारभन्दा बढी र विदेशबाट एक सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । 

‘खेलकुदका सामग्रीसमेत उत्पादन गरेर देशभरि होलसेलमा बिक्रीबितरण गर्दै आएका छौं,’ चितवनबाट सहभागी अफिस होलसेलका निर्देशक राजेन्द्र तिवारीले भन्नुभयो, ‘दक्षिण एसियाली शैक्षिक प्रदर्शनीमा सहभागी हुन पाउँदा ज्यादै खुसी लागेको छ ।’ 

प्रदर्शनी पुस २१ गते आइतबारसम्म चल्नेछ ।