शुक्रबार १९ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

नारायणी नमुना माविमा गणित र विज्ञानकाे जिल्लास्तरीय प्रतियाेगिता (भिडियाे)

विद्यालयले आफ्नो ६२औं वार्षिक उत्सवको अवसरमा जिल्लास्तरीय म्याथमेटिक्स ओलम्पियाड र साइन्स टास्क बेस्ड कम्पिटिसन आयोजना गरेकाे हाे।

नारायणी नमुना माध्यमिक विद्यालयले आफ्नो ६२औं वार्षिक उत्सवको अवसरमा जिल्लास्तरीय म्याथमेटिक्स ओलम्पियाड र साइन्स टास्क बेस्ड कम्पिटिसन कार्यक्रम आयोजना गरेकाे छ।

गणित प्रतियोगितामा विद्यालयका गणित शिक्षक भेगलाल बरालको संयोजकत्वमा १७ विद्यालयका ३४ विद्यार्थीहरूको सहभागिता रहेको थियो।

छनोट चरणबाट २० जना विद्यार्थी फाइनल चरणमा पुगेका थिए । फाइनल चरणको प्रतिस्पर्धाबाट अरोमा इङ्लिस स्कुलका ड्रोन चौधरी प्रथम, नारायणी पब्लिक स्कुलका रिग्देस अर्याल द्वितीय, अर्किड स्कुलका स्वीकार देवकोटा तृतीय र डेजी इङ्लिस स्कुलका कुशल अधिकारी सान्त्वना स्थान हासिल गर्न सफल हुनुभयाे ।

त्यसैगरी, साइन्स टास्क बेस्ड कम्पिटिसन कार्यक्रम संयोजक निरोज बास्तोलाको नेतृत्वमा सम्पन्न भयो । यस प्रतियोगितामा वाल्मीकि शिक्षा सदनका विद्यार्थी प्रथम, नारायणी इङ्लिस पब्लिक बोर्डिङ स्कुलका विद्यार्थी द्वितीय, श्री दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयका विद्यार्थी तृतीय र पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थी सान्त्वना स्थानमा पर्न सफल भए।

दुवै प्रतियोगिताका विजयीहरूलाई प्रमुख अतिथि नगर शिक्षा अधिकारी सुभाष आचार्यले नगद पुरस्कार, ट्रफी, र प्रमाणपत्रले सम्मान गर्नुभयो। प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः रु ८,०००, रु ६,०००, रु ४,०००, र रु २,००० नगद पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले गर्नुभएको थियो भने विशिष्ट अतिथिका रूपमा पूर्णप्रसाद दवाडीको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक राजकुमार कँडेलले गर्नुभएको थियो।

विद्यालयका प्रधानाध्यापकका अनुसार वार्षिक उत्सवका यी प्रतियोगिताहरूले जिल्लाका विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान क्षमताको विकास र प्रतिस्पर्धात्मक भावना बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।