शनिबार २० पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

‘अभिभावकले समय दिए किशोरकिशोरीलाई दुर्व्यसनमा फस्नबाट बचाउन सकिन्छ’ (भिडियाे)

‘हामी जीवनको संवेदनशील मोडमा छौं । यो शारीरिक, मानसिक र सामाजिक रूपमा परिपक्व बन्ने समय पनि हो । यो उमेरलाई हामीले समग्र विकासको सुनौलो अवसरको रूपमा प्रयोग गर्नुपर्छ ।’

‘हामी जीवनको संवेदनशील मोडमा छौं । यो शारीरिक, मानसिक र सामाजिक रूपमा परिपक्व बन्ने समय पनि हो । यो उमेरलाई हामीले समग्र विकासको सुनौलो अवसरको रूपमा प्रयोग गर्नुपर्छ ।’

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत कुसुम पौडेल र अनामनगरस्थित अक्सिडेन्टल स्कुलमा कक्षा १० मा अध्ययनरत कुशल खत्रीको अनुभव हो । 

बालसंसार डट कमको ‘किशोर आवाज’को तेस्रो श्रृंखलामा अतिथिका रुपमा आउनुभएका उहाँहरुले आफ्ना रुचि, चाहना र योजनाबारे खुलेर कुरा गर्नुभएको छ । 

‘मलाई नाच्न, गाउन मन पर्छ, मुख्यचाहिँ नाच्नै मज्जा लाग्छ,’ कुसुम भन्नुहुन्छ, ‘म अभिनय पनि गर्छु ।’ 

‘मलाई चाहिँ फुटबल खेल्न मन पर्छ,’ कुशल भन्नुहुन्छ, ‘भोलि मैले विद्यालय खोल्ने अवसर पाएँ भने पैसा अभावमा पढ्नबाट वञ्चित बालबालिकाका लागि छात्रवृत्तिको व्यवस्था गर्छु, विद्यार्थीलाई खेल खेल्न प्रोत्साहित गर्छु ।’

‘मैले विद्यालय खोल्ने अवसर पाएँ भने विभिन्न श्रममा लागेर पढ्न नपाएका बालबालिकालाई पढाउने प्रबन्ध गर्छु,’ कुसुम थप्नुहुन्छ । 

किशोरावस्थाका धेरै जना साथीहरुको लहैलहैमा लागेर लागुऔषधको दुर्व्यसनमा फसेको र निकै दुःख पाएको हामीले देखेका छौं । ‘उनीहरुलाई अभिभावकले साथ, सहयोग दिएर, आफैंसँग राखेर सरसल्लाह दिने, समय दिने गर्न सके दुर्व्यसनबाट धेरै किशोरकिशोरीलाई बचाउन सकिन्थ्यो,’ कुशल भन्नुहुन्छ । 

‘यो संवेदनशील समय भएकाले अभिभावकले कुरा बुझाउने र समय दिएर उनीहरुका कुरा सुन्ने गर्नुपर्छ,’ कुसुमको सुझाव छ । 

तपाईंले कुनै एउटा कुरा डिलिट गरेर फाल्ने पावर पाउनुभयो भने के कुरा फाल्नुहुन्छ ? भन्ने प्रश्नमा कुसुम भन्नुहुन्छ, ‘म त्यस्तो पावर पाएँ भने काम नगरी बीचमा बसेर कमाउने बिचौलिया फाल्छु ।’ कुशलले चाहिँ त्यस्तो पावर पाए भ्रष्टाचार र नातावादको अन्त्य गर्ने बताउनुभयो । 

तपाईंले भविष्यमा कुशल नेता बन्ने सपना देख्नुभएको छ ? भन्ने प्रश्नमा कुशल भन्नुहुन्छ, ‘सपना देखेको छु तर नेता बन्न सम्भव छैन किनभने नेपालमा राजनीति गर्न पैसा चाहिन्छ, मसँग त्यसरी खर्च गर्ने पैसा छैन ।’

कुसुमलाई पनि नयाँ पुस्ताका नेताहरु मन पर्छ । ‘युवा राजनीतिमा छिर्न सके देशको विकास गर्न सकिन्छ,’ उहाँ भन्नुहुन्छ ।

नेपालको खेल क्षेत्रमा अझै राम्रो भविष्य देखिनसकेको बताउनुहुन्छ कुशल । कुसुम भने खेलाडी राम्रा भए पनि उनीहरुलाई अवसर प्रदान गर्न नसकिएको बताउनुहुन्छ । ‘नेपाललाई खेलबाट विश्वसामु चिनाउन भौतिक पूर्वाधारको विकासमा ध्यान दिनुपर्छ,’ कुशल भन्नुहुन्छ ।

सुनौं, समग्र विषयमा कुसुम र कुशलका विचार ।