शुक्रबार १९ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

जीवनचक्र (बालकथा)

बकुल्लाको मनमा अनेक कुरा खेल्न थाल्यो, 'म बाँच्नका लागि अरू प्राणी खानुपर्छ । यो मेरो दोष हो र ? के सबैले मलाई नराम्रो भन्छन् ?'

एक पटकको कुरा हो । सिमसारको छेउमा एउटा ठूलो सेतो बकुल्ला बसिरहेको थियो । उसको आँखा भोकले चम्किएको थियो । उसले छेउमै खेलिरहेकी एउटी सानाे चराको बच्चालाई हेरिरहेको थियो ।

बकुल्लाको मनमा अनेक कुरा खेल्न थाल्यो । 'म बाँच्नका लागि अरू प्राणी खानुपर्छ । यो मेरो दोष हो र ? के सबैले मलाई नराम्रो भन्छन् ?' उसले आफैंसँग सोध्यो ।

त्यही बेला नजिकै एउटा गिलहरी आयाे । उसले बकुल्लालाई हेर्दै भन्यो, 'हे बकुल्ला ! तिमी किन यति निर्दयी छौ ? सानी बच्चालाई किन खान खोज्दै छौ ?'

बकुल्लाले गिलहरीतिर हेर्‍यो र मुस्काउँदै भन्यो, 'गिलहरी दिदी, म निर्दयी होइन । यो मेरो प्रकृति हो । तिमी फलफूल खाएर बाँच्न सक्छौ तर म मासु खाएरमात्रै बाँच्न सक्छु । यो मेरो जीवन जिउने तरिका हो ।'

गिलहरी केही नबोली टाढा भाग्याे । बकुल्लाले फेरि सानी चरालाई हेर्दै सोच्न थाल्यो, 'यो संसारको नियम हो । कमजोर प्राणी बलियोको आहार बन्छ । म पनि बाँच्न चाहन्छु ।'

त्यसपछि उसले सानी चरालाई समातेर खायो । उसको पेट त भरियो तर मन गह्रौं भयो । 'सायद मेरो जीवनमा करुणा छैन तर यसलाई म बदल्न सक्दिनँ.' बकुल्लाले मनमनै भन्यो ।

त्यो दिनदेखि बकुल्लाले जीवनलाई बुझ्न थाल्यो । प्रकृतिको नियम हरेक प्राणीको लागि फरक हुन्छ । कसैको खाना अर्को प्राणीको जीवन हुन सक्छ ।

यसरी, सिमसारमा बस्ने सबै प्राणीले आफ्नो-आफ्नो जीवनचक्रअनुसार जिउन थाले । बकुल्ला पनि आफ्नो जीवनलाई स्वीकार गर्दै प्रकृतिसँगै घुलमिल भयो ।

नन्दलाल आचार्य

बेलका- २, सिद्धार्थटोल, उदयपुर [email protected]