शनिबार २० पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

विश्वनिकेतन माविमा ‘शिक्षामा सीप’ र ‘बुक फ्री फ्राइडे’ सिक्दै विद्यार्थी (भिडियाे)

बुक फ्री फ्राइडेमा विद्यार्थीलाई आफ्नो रूचिअनुसारका काम, व्यावसायिक सीप र कलाको अभ्यास गर्न सिकाइन्छ ।

विश्वनिकेतन माध्यमिक विद्यालय काठमाडौं महानगरपालिकामा रहेका उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक हो ।

यस विद्यालयले शिक्षा मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कार २०८१ प्राप्त गरेको छ । त्यसअघि २०७४ र २०७५ सालको राष्ट्रिय पुरस्कार पाएको छ । नमुना विद्यालय व्यवस्थापन, शैक्षिक प्रशासनको चुस्तता र नतिजाका आधारमा यो पुरस्कार प्रदान गरिन्छ । 

यहाँ बालकक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुन्छ । त्यसभन्दा माथि विश्वदीप क्याम्पस पनि छ । महानगरभित्रका ८९ सामुदायिक विद्यालयहरूमा पढ्दै गर्नुभएका विद्यार्थीले विगत तीन वर्षदेखि हरेक शुक्रबार ‘शिक्षामा सीप’ र ‘बुक फ्री फ्राइडे’ मनाउँदै आउनु भएको छ । शुक्रबार किताब पढ्नु पर्दैन । आफूले रुचाएको सीप र कला सिक्न पाइन्छ । यो वर्ष पुस पहिलो सातासम्म छैटौं हप्ताको बुक फ्री फ्राइडे मनाइसक्नु भएको छ ।

बुक फ्री फ्राइडेमा विद्यार्थीले आफ्नो रूचिअनुसारका काम, व्यावसायिक सीप र कलाको अभ्यास गर्न सिक्नु पाउनुहुन्छ । अरु दिन किताबसहित घण्टीअनुसार सर, म्याडमहरूले पढाउनुहुन्छ । तर शुक्रबारचाहिं आफूले रोजेको काम सिकाउन बाहिरका स्रोत शिक्षक आउनुहुन्छ । 

शुक्रबार सिक्न पाइने दुईखाले कार्यक्रम छन् । त्यसमा ‘शिक्षामा सीप’ र ‘बुक फ्री फ्राइडे’ कार्यक्रम पर्दारहेछन् । ‘शिक्षामा सीप’अन्तर्गत कक्षा ९ का विद्यार्थीले मात्र ९ खाले सीप सिक्न पाउनुहुन्छ । त्यसमा ब्युटिसियन एण्ड हेयर स्टाइल, कुलिनरी आर्ट (पाकशिक्षा), आर्ट एण्ड स्काप्चर (चित्रकला र मूर्तिकला), प्लम्बिङ, हाउस वायरिङ, मोबाइल एण्ड इलेक्ट्रोनिक्स, अर्बान एग्रिकल्चर, उड कार्भिङ र फेसन डिजाइनिङ पर्दछन् । 

‘बुक फ्री फ्राइडे’अन्तर्गत २२ वटा सीप सिक्न पाइन्छ । कक्षा ४ देखि ८ सम्मका विद्यार्थीले आफूलाई रुचि लागेकोमध्ये एउटा विषय रोजेर सिक्न पाउनुहुन्छ । त्यसमा संगीत, नृत्य, योगा, स्काउट, नेतृत्व विकास, नाट्य, म्युरल आर्ट (भित्तेचित्र), ट्राफिक व्यवस्थापन, विपत् व्यवस्थापन, संस्कृति र सम्पदा, उद्यमशील सोंच, पठन संस्कार, कथा वाचन छन् । 

यसैगरी बालबालिका तथा वातावरण, स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस र गणित), एनिमेसन एण्ड गेमिफिकेसन, क्यामरा एण्ड टेक्नोलोजी, लर्निङ थ्रु दि लेन्स अफ फिल्म, क्यारेक्टरिस्टिक लिडरसिप, डिलरसिप डेभलपमेन्ट थ्रु मेन्टरसिप, ड्रोन र कोड रहेका छन् । 

प्लम्बिङ कोर्स सिकिरहेका कक्षा ९ का प्रज्वल शाह ठकुरी किताबरहित शुक्रबारको कार्यक्रमले बुझ्ने क्षमता बढेको र सम्पूर्ण व्यक्तित्व विकासमै सुधार आएको बताउनुहुन्छ । ‘प्लम्बिङको बारेमा धेरै ज्ञान पाइसकेको छु,’ उहाँ भन्नुहुन्छ, ‘यही सीपमा भोलि आत्मनिर्भर हुन सकिन्छ भन्ने विश्वास जागेको छ ।’

कक्षा ९ कै निकिता दाहालले ब्युटिसियन सिकिरहनुभएको छ । ‘६ हप्तामा थ्रेडिङ र हेयर पार्टेसन गर्न सिकिरहेकी छु,’ उहाँ भन्नुहुन्छ, ‘भविष्यमा ब्युटिसियन बन्न सक्छु भन्ने आँट आएको छ ।’

कुकिङ कोर्स सिकिरहनुभएकी कक्षा ९ कै रिया जयसवालले पनि ६ हप्ता धेरै कुरा सिकिसक्नुभएको छ । ‘कहिले स्यान्डविच, कहिले समोसा बनाउन सिकाउनुभएको छ,’ उहाँ भन्नुहुन्छ, ‘पकाउने सँगसँगै भान्साको सरसफाइ कसरी गर्ने भन्नेबारेमा पनि सिक्ने अवसर पाएको छु ।’

बुक फ्रि फ्राइडेको दिन सिकाइएको सीप विद्यार्थीका लागि प्रभावकारी बनेको सामाजिक शिक्षक प्रेमसिंह साउद बताउनुहुन्छ । ‘हामीसँग पाठ्यक्रम शुक्रबारको पनि छ तर शुक्रबार नपढाउँदा घण्टी घटेको छ, त्यसअनुसार पाठ्यक्रम परिमार्जन गर्नुपर्ने आवश्यकता छ,’ उहाँ भन्नुहुन्छ । 

विद्यालयका सहायक प्रधानाध्यापक केदारप्रसाद दाहालले विद्यार्थीहरुमा भएका प्रतिभा प्रष्फुटन गराउने सिलसिलामा विभिन्न विधा छुट्याएर शुक्रबारका दिन बुक फ्रि फ्राइडेको अवधारणा लागू गरिएको जानकारी दिनुभयो । 

प्रधानाध्यापक कँडेलका अनुसार उत्कृष्ट नतिजाका कारण हरेक शैक्षिक सत्रमा भर्ना हुनेको चाहने धेरै हुन्छन् । त्यसैले प्रवेश परीक्षाको आधारमा भर्ना गर्ने गरिएको छ । २०८१ सालमा डाक्टर पढ्नका निम्ति नेपाल मेडिकल काउन्सिलले लिएको एमबीबीएस परीक्षामा विश्वनिकेतन पढेकामध्ये १७ जनाले नाम निकालेर पूर्ण छात्रवृत्तिसहित पढिरहनु भएको छ । ४३ जनाले नाम निकालेर पूर्ण छात्रवृत्तिमा बिएएलएलबी पढिरहनुभएको छ । 

यो विद्यालय विसं. २००३ सालमा स्थापना भएको हो । अहिले शिशु कक्षादेखि कक्षा १० सम्म १ हजार ८ सय विद्यार्थी पढिरहनु भएको छ । यसैगरी कक्षा ११ र १२ मा २ हजार ६ सय जना पढिरहनु भएको छ । त्यसमा विज्ञान, कानुन र व्यवस्थापन विषय पढाइ हुन्छ । यसैगरी क्याम्पस तहमा एक हजार जना अध्ययनरत हुनुहुन्छ ।
 

गणेश राई

(वरिष्ठ पत्रकार राई शिक्षा पत्रकारितामा दख्खल राख्नुहुन्छ ।)