संवैधानिक र कानुनी व्यवस्थाविपरीत एसईई दिने विद्यार्थीसँग शुल्क असुल्दै सरकार
रजिस्ट्रेसन भराउँदा कक्षा ९ मा प्रतिविद्यार्थी ३५० रुपैयाँ र कक्षा ११ मा प्रतिविद्यार्थी ४ सय रुपैयाँ लिने गरिएको छ।

माध्यमिक तहको शिक्षा निःशुल्क हुने संवैधानिक र कानुनी व्यवस्थाविपरीत संघीय सरकारले कक्षा १० का विद्यार्थीसँग शुल्क असुलेकाे छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीसँग सरकारले ५ सय रुपैयाँका दरले शुल्क उठाउन थालेकाे हाे ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन प्रत्येक विद्यार्थीले ५ सय रुपैयाँ तिर्नुपर्ने राष्ट्रिय परीक्षा बाेर्डअन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जारी गरेको सूचनामा उल्लेख छ।
सरदर ५ लाख विद्यार्थीले प्रतिवर्ष एसईईका लागि आवेदन दिने गरेका छन्।
संघ सरकार मातहतको परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीसँग शुल्क असुली गर्ने सूचना संविधानको व्यवस्था विपरीत छ। नेपालको संविधान, २०७२ को धारा ३१ को उपधारा (२) मा माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा नि:शुल्क हुने उल्लेख छ। ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ,’ उक्त उपधारामा लेखिएको छ।
मौलिक हककै व्यवस्थालाई बेवास्ता गरी सरकारले विद्यार्थीसँग शुल्क असुल गर्न लागेको हो।
संविधानको सोही व्यवस्थाका कारण कक्षा १० का विद्यार्थीसँग शुल्क असुली गर्ने या नगर्ने भन्ने विषयमा विवाद हुँदा परीक्षा आवेदन फाराम रोकिएको थियो। यस्तै कक्षा ९ का विद्यार्थीले भर्नुपर्ने रजिस्ट्रेसन फारम पनि रोकिएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार कार्यालयले आवेदन फारम खुलाउँदै शुल्क असुली गर्ने भएको हो। अब कक्षा ९ मा रजिस्ट्रेसन फाराम र कक्षा ११ मा अध्ययनरत विद्यार्थीका रजिस्ट्रेसन फारामका लागि शुल्क असुली गर्ने बाटो खुलेको छ। बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फाराम यसअघि नै खुलाइसकिएको छ।
कक्षा ९ र ११ मा बर्सेनी पाँच लाखकै हाराहारीमा विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने गरेका छन् । कक्षा ९ मा रजिस्ट्रेसन भराउँदा प्रतिविद्यार्थी ३५० रुपैयाँ र कक्षा ११ मा रजिस्ट्रेसन भराउँदा प्रतिविद्यार्थी ४ सय रुपैयाँ लिने गरिएको छ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया