ज्ञानकाे अर्काे पाठशाला : राष्ट्रिय संग्रहालय (भिडियाे)
संग्रहालय कुनै पनि समाज वा राष्ट्रको धर्म, कला, संस्कृति, शिक्षा, सभ्यता आदि पक्षको मापन गर्ने थलो हो । सबैका लागि ज्ञान आर्जन र मनोरञ्जन दिने गरी बनाइएको महत्वपूर्ण शैक्षिक केन्द्र हो ।
प्राचीन महत्वका, दुर्लभ र अनौठा वस्तुहरू बटुलेर राखिने ठाउँ वा घरलाई संग्रहालय भनिन्छ ।
नेपालको राष्ट्रिय संग्रहालय काठमाडौंको छाउनीमा रहेको छ ।
संग्रहालय प्रमुख जयराम श्रेष्ठका अनुसार संग्रहालय भनेको प्राचीन महत्वका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक वस्तुहरूको संकलन, संरक्षण, वर्गीकरण, प्रदर्शन तथा वैज्ञानिक व्यवस्थापन जस्ता पक्षसँग सम्बन्धित ज्ञान तथा मनोञ्जन दिने सार्वजनिक स्थल हो ।
संग्रहालय कुनै पनि समाज वा राष्ट्रको धर्म, कला, संस्कृति, शिक्षा, सभ्यता आदि पक्षको मापन गर्ने थलो हो । सबैका लागि ज्ञान आर्जन र मनोरञ्जन दिने गरी बनाइएको महत्वपूर्ण शैक्षिक केन्द्र हो ।
संग्रहालयमा अनेक विषयसँग सम्बन्धित वस्तुहरू राखिएका हुन्छन् । मानव विकाससँग निर्माण गरिएका अनेकन विषयहरू हुन्छन् । त्यसलाई सम्पदा भनिन्छ । सम्पदाको अर्थ प्राकृतिक सम्पत्ति वा साधन, प्राकृतिक देन, सम्पत्ति, धन भन्ने हुन्छ । सामाजिक हिसाबले सम्पदालाई दुई वर्गमा बाँडिएको पाइन्छ– मूर्त र अमूर्त ।
मूर्त भनेको प्रत्यक्ष देखिने, रूप धारण गरेको, भौतिक रूपमा देखिने वस्तु हुन् । मूर्त रूपमा नदेखिने, रूप वा आकार नभएको विषयलाई अमूर्त भनिन्छ ।
राष्ट्रिय संग्रहालयमा दुवै किसिमको सम्पदा हेर्न, देख्न पाइन्छ । सुरुमा नेपालमा भएका ऐतिहासिक युद्धमा प्रयोग भएका हातहतियारहरूको संकलन गरी संग्रहालय बनाइएको थियो । त्यसलाई मूर्त सम्पदा भनिन्छ । यसैगरी अमूर्त सम्पदाअन्तर्गत जात्रा, चाड–पर्व, मेला, उत्सव, नृत्य, संगीत, नाटक, कथा, गीत, विश्वास, प्रचलन, मूल्य–मान्यताजस्ता विषय पर्दछन् ।
संग्रहालयमा सर्वसाधारण मान्छेले प्रवेश गर्न पाउँछन् । यसैगरी विभिन्न शिक्षालयमा पढ्दै गरेका विद्यार्थीका निम्ति संग्रहालयको अवलोकन गर्नु फलदायी हुन्छ । इतिहास तथा संस्कृतिविद् प्राध्यापक प्रेमकुमार खत्रीका अनुसार संग्रहालयका छिमेकी अथवा संग्रहालयका साथी भनेकै विद्यार्थी हुन् । राष्ट्रिय संग्रहालयले आफ्नो स्थापना दिवस (फागुन १ गते) को अवसरमा विभिन्न विद्यालयका विद्यार्थीमाझ निबन्ध लेखन प्रतियोगिता गराउने गरेको छ ।
राष्ट्रिय संग्रहालय ठूलो क्षेत्रफलमा फैलिएको छ । खाली चौर छ । त्यहाँ विभिन्न विद्यालयबाट संग्रहालय अवलोकन गर्न गएका विद्यार्थी तथा संस्थाका प्रतिनिधिले कार्यक्रम गर्न पाउँछन् । संग्रहालयका आधा दर्जन जति भवन छन् । ती भवनमा फरक–फरक विषयका सम्पदा संग्रह तथा व्यवस्थित ढंगले विस्तार गरिएका छन् ।
राष्ट्रिय मुद्रा संग्रहालय छुट्टै भवनमा रहेको छ । यसैगरी प्राकृतिक विज्ञान ग्यालरी, पुतली संकलन कक्षा, लोक कक्ष, जुद्धजातीय कलाशाला रहेका छन् ।
यस्तै, नेपाली प्रस्तर मूर्तिकला, नेपाली मृण्मय कला, नेपाली धातुकला, नेपाली काष्ठकला, नेपाली चित्रकला, बौद्ध कलाशाला, तराई कक्ष, काठमाडौं उपत्यका कक्ष, मुस्ताङ कक्ष, हिमाली कक्ष, मण्डला कक्ष, अस्थायी प्रदर्शनी कक्ष रहेका छन् ।
नेपालमा विसं. १८८१ मा संग्रहालयको सुरुवात भएको हो । राणाकालीन समयमा शिलखानाको स्थापना गरिएको थियो । वि.सं. १८६७ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निजी निवास बनाउन लगाएका थिए । सोही भवनमा १८८१ सालमा विभिन्न समयमा भएको युद्धहरूबाट जफत गरिएका स्वदेशी तथा विदेशी हातहतियारहरू संग्रह गरी छाउनी शिलखाना बनाइएको थियो ।
वि.सं. १९९५ फागुन १ गते उतिखेरका प्रधानमन्त्री जुद्ध शम्शेरले शिलखानालाई ‘नेपाल म्युजियम’ नाम दिएर प्रवेश शुल्क तोकेका थिए । त्यसपछि सर्वसाधारणका निम्ति खुल्ला गरिएको थियो । २०२४ सालमा ‘राष्ट्रिय संग्रहालय’ नामकरण गरिएको थियो ।

रोपाइँको खुसी (भिडियाे)

चोरी गरी अमेरिका पुर्याइएका पुरातात्त्विक वस्तुहरू फिर्ता

विष्णुमती नदीमा भेटिएको मूर्तिबारे पुरातत्वले अध्ययन गर्ने

प्रतिक्रिया