आइतबार २१ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

नेचर क्राफ्ट : प्रकृतिसँग जोडिएको सिर्जनशील संसार (भिडियाे)

‘स्कुल, कलेजहरुमा सीपमूलक शिक्षा दिन सकियो भने पो बालबालिकाले भोलि सहजरुपमा जीवनयापन गर्न सक्छन् त !’

 

भाइबहिनीहरु, तपाईंहरुले डोको, नाम्लो, गुन्द्री, सुकुल देख्नुभएको छ ? तपाईंहरुमध्ये कतिले देख्नुभएको होला तर धेरै जनाले त यी सामानको नाम सुन्नुभएको पनि छैन होला । 

यी सामानहरु हाम्रो गाउँघरमा प्रयोग गरिन्छ र घरघरमै बुनिन्छ । प्रविधिको पहुँच र बाहिरी दुनियाँसँगको सम्पर्कसँगै हामीले यस्ता सामानहरु बनाउन र प्रयोग गर्न छाडिरहेका छौं ।

ललितपुरको ग्वार्कोमा आठ वर्षअघि खुलेको नेचर क्राफ्ट यस्तै सामानहरुको उत्पादन र प्रबद्र्धन गरिरहेको स्थानीय उद्यम हो । जसले हाम्रै वरिपरि रहेका प्राकृतिक स्रोतहरू जस्तै : घाँस, बाँस र कपास प्रयोग गरी विभिन्न हस्तकला सामग्री निर्माण गर्छ । 

यसले विशेषगरी वातावरणमैत्री, दिगो र परम्परागत कलासँग सम्बन्धित उत्पादनहरूमा जोड दिन्छ । नेचर क्राफ्टले हस्तनिर्मित डोको, गुन्द्री, सुकुल, झोलाहरू, गहनाका बाकसहरू, सजावटका वस्तुहरू र अन्य उपयोगी सामग्रीहरू बनाउँदै आएको छ । 

यहाँ सामान बनाउन प्लास्टिकको प्रयोग गरिँदैन, जसले हाम्रो पृथ्वी सफा र सुन्दर राख्न मद्दत गरेको छ । 

नेचर क्राफ्टको उद्देश्य गामीण भेगका महिलालाई रोजगारी दिनु हो । ‘हराइसकेको सीपलाई फेरि अगाडि बढाउनुपर्छ भनेर हामीले यो सुरुवात गरेका हौं,’ नेचर क्राफ्टकी फाउन्डर संगीता श्रेष्ठ भन्नुहुन्छ, ‘नयाँ पुस्तालाई पनि यस्तो सीपबारे जानकारी दिन पहल गरिरहेका छौं ।’

विद्यालयहरुले अतिरिक्त क्रियाकलापमा यस्तो सीपमूलक ज्ञान पनि समावेश गर्नुपर्ने उहाँ बताउनुहुन्छ । ‘अहिले कलेज, स्कुलहरुले सैद्धान्तिक विषयहरु मात्रै पढाउँदै आएका छन्, अतिरिक्त क्रियाकलापमा पनि खेलकुदलाई प्राथमिकता दिइएको छ,’ उहाँ भन्नुहुन्छ, ‘सीपमूलक शिक्षा दिन सकियो भने पो उनीहरुले भोलि सहजरुपमा जीवनयापन गर्न सक्छन् त ।’

गाउँघरमा महिलालाई तालिम दिन जाँदा सुरुवाती दिनमा कोही पनि आउनै नचाहेको तर विस्तारै आयआर्जन हुन थालेपछि भने घरपरिवारले नै पठाउन थालेको श्रेष्ठले बताउनुभयो । नेचर क्राफ्टसँग जोडिएर अहिले काठमाडौंमा करिब १५ जना र गाउँगाउँमा करिब दुई सय महिलाले काम गरिरहनुभएको छ । 

‘धेरै युवाले पनि विदेशबाट फर्किएर यस्तै काम गर्नुभएको छ,’ फाउन्डर श्रेष्ठले भन्नभयो, ‘गाउँघरमा पहिला त्यत्तिकै खेर जाने घाँसको अहिले व्यावसायिक खेतीसमेत हुन थालेको छ ।’

सरकारले स्थानीय सामानलाई प्रबद्र्धन गर्ने नीति बनाए पनि यहीं उत्पादित सामान प्रयोग गर्न भने कञ्जुस्याइँ गरिरहेको श्रेष्ठको गुनासो छ । 

यस्तो बेरोजगारीको अवस्थामा पनि आफूहरुले यति धेरै महिलालाई रोजगारी दिन सक्दा खुसी लागेको बताउनुहुन्छ नेचर क्राफ्टकी को–फाउन्डर रेश्मा महर्जन । ‘हेर्दाखेरी खेर जाने घाँसपातको काम जस्तो लाग्छ तर धेरैलाई आयआर्जनको बाटो बनेको छ,’ उहाँ भन्नुहुन्छ ।

नेचर क्राफ्टले परम्परागत सीपलाई त जोगाएको छ नै, सँगसँगै वातावरणीय दिगोपनको प्रबर्द्धन पनि गरिरहेको छ । प्लास्टिक र कृत्रिम सामग्रीको सट्टा प्राकृतिक स्रोतहरूको प्रयोगले वातावरणमा पर्ने असर न्यून बनाउन मद्दत गरेको छ ।

सविता मैनाली

(मैनाली शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । साहित्यका विभिन्न विधामा उहाँ कलम चलाउनुहुन्छ ।)