आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

हात (बालकथा)

'हातले गर्न नहुने कामहरू पनि छन् । त्यस्तो काम के हो तिमीहरूलाई थाहा छ ?'

केशव कक्षाको असल छात्रमध्ये एक हो । ऊ गुरुले पढाएको ध्यान दिएर सुन्छ । परीक्षामा पनि राम्रो गर्छ तर कक्षाको घण्टीपछि बाहिर निस्कनेबित्तिकै उसलाई आफ्ना दुई हातले के गरौ‌ं के गरौं जस्तो लाग्छ ।

ऊ भुइँको ढुङ्गाका टुक्रा टिपेर  हुत्याउन थाल्छ । आकाशतिर हुत्याएको बेला खसेर उसैलाई लाग्छ तर त्यस्को मतलव राख्दैन । फेरि कहिले लठ्ठीका टुक्रा बटुलेर हावामा हानेको जस्तो गर्छ किनभने उसलाई हात नचलाइकन बस्न मन लाग्दैन । 

स्कुलबाट घर आएपछि पनि उसलाई हात चलाएर के गरौं, के गरौं जस्तो लागिरहन्छ । अगाडि जे देख्छ, त्यही टिपेर हात चलाउँछ । दिदी कीरण अगाडि पर्नेबित्तिकै ऊ जे देख्यो त्यही टिपेर हान्छ । कहिले भुत्ल्याउने, कहिले चिमोट्ने पनि गर्छ । कहिले त दुख्नेगरी नै हान्छ ।

सानो भाइ भनेर दिदी सहेर बस्छे तर एकपटक त ठूलो किताबले दिदीलाई हान्यो । दिदीलाई दुख्यो । रुन लागी । 

हजुरआमाले त्यो देखिरहनुभएको थियाे । केशवको त्यस्तो असाधारण बानी कसरी हटाउने होला जस्तो लागेको थियो उहाँलाई । त्यही मौका पारेर उहाँले 'दिदीलाई त्यसरी हान्न  हुन्न, त्यसरी हातले कसैलाई पनि केही गर्न हुन्न, दिदीसँग माफी माग' भन्नुभयाे । 

उसले 'नाइँ माग्दिन, मलाई मेरो हातले के गरौं जस्तो लागिरहन्छ अनि म यसरी हात चलाइरहन्छु' भन्यो ।

हजुरआमाले 'भरे सुत्नेबेला आज म तिमीहरूलाई  हातबारे सबै कुरा भन्छु है' भन्नुभयो । 

उनीहरू दुवै जना नौलो कथा सुन्न पाइने भयो भनेर खुशी भए । बेलैमा आफ्नाे गृहकार्य सकेर हजुरआमाको प्रतीक्षा गर्दै ओछ्यानमा बसे । छोराछोरी  ज्ञानी भएर बसेको देख्दा बाबाआमा पनि अचम्ममा पर्नुभयाे ।

हजुरआमाले सुरु गर्दै भन्न थाल्दा उनीहरू तन्मय भएर हजुरआमासँग टाँसिएर ध्यान मग्न भए, 'हातहरू धेरै प्रकारका हुन्छन् । ठूला मान्छेको ठूलै र सानाको सानै हुन्छ । सेता, काला, गहुँगोरा मान्छेहरूको हात पनि त्यस्तै रङका हुन्छन् । हातका काम धेरै हुन्छन् । कसैलाई भेट्नेबित्तिकै हामी दुवै हात जोरेर नमस्ते भन्दछौं । कुनै ठाउँमा हात उठाएर, कुनै ठाउँमा दाहिने हात एकआपसमा मिलाएर अभिवादन गरिन्छ । देश र ठाउँअनुसार विभिन्न संकेतद्वारा अभिवादन  गरिन्छ । कसैसँग बिदा हुने बेलामा पनि हातै उठाएर बाइ बाइ... भन्ने चलन छ ।' 

म पनि स्कुल जाने बेला  हजुरहरू सबैलाई त्यसै भन्छु नि हगि हजुरआमा  भनेर कीरणले भन्नेबित्तिकै केशवले पनि त्यही कुरा दोहाेर्‍यायाे ।

'हो नि ! तिमीहरू स्कुल या अन्त कतै जाने बेला मलाई त्यसै भनेर जान्छौ ।  कक्षामा तिमीहरू हातले कलम समाएर लेख्छौ ।हातले नै किताब पल्टाएर पढ्छौ । हातले नै कलम समाएर चित्र कोर्छौ । हैन त ?

केशवले उत्साहित हुँदै 'हो नि ! त्यसैले त मलाई हात चलाइरहन मन लाग्छ' भन्यो । 

'तर हातले गर्न नहुने कामहरू पनि छन् । त्यस्तो काम के हो तिमीलाई थाहा छ ?' 

'सजिलो तर म भन्दिनँ, यस्को उत्तर केशवले दिन्छ' भन्दै कीरणले भाइतिर हेरी । 

केशवले फुर्ती साथ 'हातले कसैलाई पिटन हुन्न, ढुङ्गाले हान्न हुन्न, चिमोट्न हुन्न' भन्यो ।

'यस्तो कुरा मेरो नातिलाई थाहा रहेछ तर पनि तिमी किन हात चलाएर दिदीलाई पिट्ने, चिथोर्ने, भुत्ल्याउने गर्दछौ त ?'

'सरी.. ! माफ गर है दिदी । अब म मेरो हातले त्यस्तो खराब काम केही पनि  गर्दिन । तिमीलाई पनि पिट्दिन' भन्यो ।

दिदीले पनि खुशी भएर भाइलाई माया गर्दै 'भाइ तिमी घरमा मात्र नभइ बाहिर कतै पनि, कसैलाई पनि हातले खाराब काम नगर है । खेल्दा कसैले झेल गरे भने पनि पिटिहाल्न हुन्न । त्यसो गर्‍याे भने झगडा हुन्छ । बिस्तारै सम्झाउनु पर्छ' भनेर बुझाइ ।

केशवले 'हुन्छ दिदी' भन्याे ।

हजुरआमाले 'लुगा सिउने, कम्प्युटर चलाउने, हवाईजहाज,अन्तरिक्षयान उडाउने, खाना खाने बाजा बजाउने, नुहाउने आदि समस्त काम सुचारु रुपले गर्नका लागी भगवानले  एक जोडी हात दिएका हुन् । त्यसैले हातलाई राम्रो काममा मात्र चलाउनु पर्छ । हातबाट धेरै नराम्रा र खराब काम पनि हुन्छन् । त्यस्ता काम के हुन्, त्यो म अर्को  कथामा भन्छु है ? त्यस्ता नराम्रा कामहरूमा हाम्रो हातको प्रयोग कहिले पनि गर्न हुन्न' भनी बुझाउनु भयो । 

केशवले 'यस्तो कुरा मेरो किताबमा पनि लेखेको छ, देखाउँ ?'  भन्दा हजुरमाले 'आज मैले सुनाएको सुन्यौ । सुत्ने बेला पनि भयो । भोली तिम्रो किताब हेरौंला है तर एउटा कुराचाहिँ सधैँ सम्झिरहनुपर्छ– त्यो के भने ठूलो भएपछि पनि असल कार्य  गर्न बुद्धिका साथै हातले पनि मद्धत गर्छ । त्यसैले हातलाई सधैं असल कार्यका लागि प्रयोग गर्नुपर्छ ।' 

'हस्  हजुरमा अब  म कसैलाई पनि  हात चलाउँदिन । दिदीलाई पिट्न भन्दा कलम समाएर चित्र  कोर्न थाल्छु ।' 

कीरणले पनि 'अबदेखि म पनि गृहकार्य सकिएपछि बाँसुरी बजाएर रियाज गर्छु' भनी।

केटाकेटी कुरा बुझेर  रमाएकाले हजुरमालाई खुसी लाग्यो।

________________________________________

[email protected] 

रञ्जुश्री पराजुली

(पराजुली बालसाहित्यकार हुनुहुन्छ ।)