अभिनय मात्रै हाेइन, नाटकले अनुशासन पनि सिकाउँछ (भिडियाे)
पछिल्लो समय बालबालिकामा नाटकप्रति रुचि बढ्दो छ । नाटकले बालबालिकालाई अभिनय, अनुशासन, आत्मविश्वास, टिमवर्क र सिर्जनात्मकता सिकाउँछ ।
नाटक मानव सभ्यताको पुरानो र गहन कला हो, जसले भावना, विचार र जीवनका विविध पक्षहरूलाई प्रस्तुत गर्दछ । यो यस्तो ऐना हो, जसले समाजको यथार्थता र कल्पनालाई एकसाथ उजागर गर्छ ।
नाटक शब्दको सीधा अर्थ जीवनको नक्कल हो । यसले जीवनमा रंग, आवाज र भावना थपेर अझ प्रखर बनाउँछ ।
नाटक मनोरञ्जनको साधन मात्र होइन, व्यक्तित्व विकास र जीवनलाई नजिकबाट बुझ्ने माध्यम पनि हो ।
पछिल्लो समय बालबालिकामा नाटकप्रति रुचि बढ्दो छ । नाटकले बालबालिकालाई कलात्मक क्षमता, अनुशासन, आत्मविश्वास, टिमवर्क र सिर्जनात्मकता सिकाउँछ ।
बालबालिकाका लागि नाटक सिकाइको महत्वपूर्ण उपकरण हो, जसले उनीहरूको कल्पना शक्तिलाई बढाउँछ, उनीहरूको भाषा सुधार्छ र समस्या समाधान गर्ने बानी सिकाउँछ ।
पात्रहरूको भूमिका निर्वाह गर्दा बालबालिकाको कल्पनाशक्ति जागृत हुने अनि तालिम र अभ्यासको क्रममा अनुशासन सिक्ने भएकाले यसले पढाइमा पनि मद्दत पुग्ने थिएटर प्रशिक्षक राजन भुजेल बताउनुहुन्छ । ‘नाटकले बालबालिकालाई आफ्ना भावना अभिव्यक्त गर्न सजिलो बनाउँछ, समूहमा काम गर्न सिकाउँछ र सहकार्यको महत्व बुझाउँछ,’ उहाँ भन्नुहुन्छ ।
एक्टिङमा अपनाइने रिकल र इम्याजिनेशन प्रोसेसले बच्चाहरुको स्मरण शक्तिमा सुधार गर्ने उहाँ बताउनुहुन्छ । ‘थिएटर कक्षाले बालबालिकालाई ध्यानमग्न बन्न, टिमवर्कमा काम गर्न र सबैलाई समान व्यवहार गर्न सिकाउँछ,’ उहाँ भन्नुहुन्छ ।
दश वर्षदेखि थिएटरमा आबद्ध उहाँले ६ वर्षयता विभिन्न स्कुलहरुमा थिएटर कक्षा लिँदै आउनुभएको छ । उहाँ डियरवाक सिफल, धादिङ र भ्याली भ्यु स्कुल मध्यबानेश्वरमा थिएटर कक्षा लिनुहुन्छ ।
भुजेलले आफ्नो संस्था छुनुमुनुमार्फत पनि बालबालिकालाई नाटक सिकाउँदै आउनुभएको छ । उहाँ काठमाडौंको पिंगलास्थानस्थित नेपाल म्युजिक स्कुलमा प्रत्येक शनिबार बालबालिकालाई नाटक सिकाउनुहुन्छ । छुनुमुनुमा अहिले बिहानी र दिउँसो गरी ५० जनाभन्दा बढी बालबालिकाले नियमित रुपमा नाटक सिकिरहनुभएको छ ।
डियरवाक स्कुलमा कक्षा ६ मा अध्ययनरत रिदिका गुरुङ छुनुमुनुमा तीन महिनादेखि नाटक सिकिरहनुभएको छ । नाटक गर्न रमाइलो लाग्ने उहाँ बताउनुहुन्छ । उहाँले तीन–चारवटा नाटकमा भूमिका निर्वाह गरिसक्नुभएको छ ।
डियरवाकमा कक्षा ६ मै पढ्ने आरिका झाले झलाङ, सायना, चौपट रानी, साथ, जुनेली, मोबाइललगायतका १० वटा नाटकमा अभिनय गरिसक्नुभएको छ । सायनामा निभाएको विद्यार्थीको भूमिका आफूलाई निकै मन परेको उहाँ बताउनुहुन्छ ।
अभिनयले टिमवर्कमा सहयोग गर्ने भएकाले नाटक सिकेको बताउनुहुन्छ भ्याली भ्यु स्कुलमा कक्षा ८ मा अध्ययनरत आरोसी आचार्य । ‘नाटक सिक्न रमाइलो लाग्छ, चार–पाँचवटा नाटकमा अभिनय पनि गरेकी छु,’ उहाँ भन्नुहुन्छ, ‘मैले अभिनय गरेकोमध्ये फस्र्ट नाटक सबैभन्दा मन पर्छ ।’
डियरवाक स्कुलमा कक्षा ६ मा अध्ययनरत आयन राई चार वर्षदेखि छुनुमुनुमा नाटक सिकिरहनुभएको छ । ‘मलाई अभिनयमा रुचि छ, भोलि ठूलो कलाकार बन्न चाहन्छु,’ उहाँ भन्नुहुन्छ । उहाँलाई दयाहाङ राई निकै मन पर्छ । नाटकले आफूलाई कक्षामा अनुशासित हुन मद्दत गरेको उहाँ बताउनुहुन्छ । उहाँले ६ वटा नाटकमा अभिनय गरिसक्नुभएको छ । अरुको चरित्रमा घुसेर अभिनय गर्न मन पराउने उहाँलाई आफूले अभिनय गरेको मध्ये मन पर्ने नाटक ‘फलानो’ हो ।
आंशिका जोशी भ्याली भ्यु स्कुलमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । उहाँले तीन वर्षदेखि छुनुमुनुमा अभिनय सिकिरहनुभएको छ । ‘मलाई अभिनय सिक्दा थिएटरमा मात्रै काम लाग्छ भन्ने लाग्थ्यो तर यसले दैनिक जीवनमा पनि सहयोग गर्दोरहेछ,’ उहाँको अनुभव छ, ‘मलाई त पढाइमा पनि सहयोग पुगेको छ ।’ नाटकलाई आफ्नो दोस्रो पेसा बनाउन चाहने उहाँलाई सारंगी चलचित्रका नायक विजय बराल निकै मन पर्छ । उहाँले ६–७ वटा नाटक र एउटा सर्ट मुभीमा अभिनय गरिसक्नुभएको छ । आफूले अभिनय गरेकामध्ये ‘युगको साँचो’ मा नेताको छोरी भएर गरेको भूमिका उहाँलाई निकै मन पर्छ ।
एक वर्षअगाडिदेखि स्कुलमै नाटकमा अभिनय गर्न सिक्न थाल्नुभएकी स्वस्तीश्री गुरुकुलको कक्षा ६ मा अध्ययनरत साम्राज्ञी भण्डारी अहिले छुनुमुनुमा जोडिनुभएको छ । ‘नाटकको अभिनयले कम्युनिकेसन स्किल विकास हुन्छ, अनुशासित बनाउँछ, इमोसन एक्सप्रेस गर्न सहयोग गर्छ,’ उहाँ भन्नुहुन्छ । उहाँलाई दीपक राई र विजय बराल निकै मन पर्छ ।
प्रविधिले मानिसहरूलाई भर्चुअल संसारमा अल्झाइरहेको समयमा नाटकजस्तो सजीव कलाले वास्तविक सम्बन्ध र भावनाको महत्व झल्काउँछ । यसले हाम्रो संस्कृति, परम्परा र भाषा जोगाउन मात्र होइन, नयाँ पुस्तालाई सकारात्मक परिवर्तनको बाहक बनाउन सहयोग पु¥याउँछ । हाम्रा भविष्यका सृजनशील कलाकारहरूका लागि नाटक उज्यालो भविष्य निर्माण गर्ने भरपर्दो आधारशीला बन्न सक्छ ।
प्रतिक्रिया