हजुरबा र नाति (बाल कविता)
जाडो महिना आयो– रमाइलो लाग्छ
स्कुल बिदा भएर घरमा बस्न पाइन्छ ।
घरमा बसी हजुरबाको कथा राम्रो सुन्छु
उहाँ आफ्नाे बाल्यकालका कथा भन्नुहुन्छ ।
उहाँ सानो हुँदा गाउँमै बस्नुहुन्थ्याे रे
उहाँका पनि बाजेले कथा भन्नुहुन्थ्याे रे !
त्यही कथा दोहाेर्याइ उहाँ भन्नुहुन्छ
उहाँका कथा सुन्दा मेरो मन खुशी हुन्छ ।
हजुरबाको पालाको कथा धेरै राम्रो छ
सुन्न पाउने आशले म भनेको मान्छु ।
कक्षामा नि गुरुमाले कथा भन्नुहुन्छ
हाम्लाई पनि बेलाबेला भन्न लाउनुहुन्छ ।
दुईतिर कथा सुन्न पाउने भाग्यमानी
म पनि लेख्न खोज्छु बन्दै धेरै ज्ञानी ।
लेखेको कथा म हजुरबालाई सुनाउँछु
नमिलेको ठाउँमा मिलाइदिनुस् भन्छु ।
कक्षामा मलाई विज्ञान मन पर्छ
घरमा पनि विज्ञानकै अभ्यास गर्छु ।
फुर्सद भयाे कि त कथा पढ्न मन पर्छ
कथा पढ्दा मेरो मन धेरै खुशी हुन्छ ।
गृहकार्य गर्छु पहिला अनि कथा पढ्छु
जानेजति कोसिस गर्दै आफैं कथा लेख्छु ।
वनभोज जाने भन्दै सबै साथी मिल्छौं
खाजा बट्टा बोकी हामी रुखमुनि बस्छौं ।
प्रतिक्रिया