आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

'किशाेरावस्थाका परिवर्तनबारे हामीले कसरी जान्ने ?' (भिडियाे)

‘विद्यालयको कोर्समा किशोरावस्थाका परिवर्तनका विषयमा केही कुरा राखिएका छन् तर पढाउने बेलामा शिक्षक शिक्षिकाले सकेसम्म ती कुरालाई स्किप गर्न खोज्नुहुन्छ, यी कुरा त खुलस्त बुझाइदिनुपर्ने हो नि !’

 

किशोरावस्था अत्यन्त संवेदनशील र ऊर्जाशील उमेर समूह हो । किशोरकिशोरीका चाहना, सोच र योजनाहरूले समाजको भविष्य निर्माण गर्ने आधार तय गर्दछ ।

किशोरकिशोरीहरूको जीवनशैली, आकांक्षा र उनीहरुले सामना गरिरहेका चुनौतीहरूलाई उनीहरुसँगकै संवादमार्फत उजागर गर्ने कार्यक्रम हो– किशोर आवाज ।

किशोर आवाजको पहिलो श्रृंखलामा हामीले कक्षा १० मा अध्ययनरत कृषा भुजु र कानुन विषयमा स्नातक अध्ययनरत स्मृति शर्मासँग कुराकानी गरेका छौं । 

नेपालमा किशोरकिशोरीहरूमा विदेश पढ्न जाने चाहना तीव्र रूपमा बढिरहेको छ । यो प्रवृत्तिका पछाडि केही प्रमुख कारणहरू पनि जोडिएका छन् । 

देशभित्रको शैक्षिक प्रणालीमा रहेका कमजोरी र सीमित अवसरका कारण किशोरकिशोरी गुणस्तरीय शिक्षा प्राप्त गर्न विदेश जान चाहन्छन् ।

विदेशको पढाइले करियर सम्भावनालाई फराकिलो बनाउने र अन्तर्राष्ट्रिय डिग्रीले रोजगारीका अवसरहरू सिर्जना गर्ने विश्वास उनीहरूको छ । त्यस सँगसँगै परिवार, समाज र साथीभाइबीचको प्रतिस्पर्धात्मक मानसिकताले पनि विदेश जाने चाहनामा प्रभाव पार्ने गरेको छ ।

‘विदेश गए मात्र सफलता मिल्छ’ भन्ने गलत सोचले यो प्रवृत्ति झनै बढाएको देखिन्छ । तर, स्मृति र कृषालाई भने विदेश जाने हुटहुटीले छोएको छैन । ‘यहीं कानुन विषय अध्ययन गरी भविष्यमा नाम चलेको अधिवक्ता बन्ने सोच छ,’ भक्तपुरस्थित काठमाडौं स्कुल अफ लमा अध्ययनरत स्मृति भन्नुहुुन्छ । 

कृषालाई पनि विदेश जाने कुरामा खासै रुचि छैन । ‘विदेश गएर एडजष्ट हुन गाह्रो हुन्छ, त्यसमाथि आफूले पढ्न चाहेको विषय यहीं पढ्न पाइहालिन्छ,’ भक्तपुरको मनोरम बोर्डिङ स्कुलमा अध्ययनरत कृषा भन्नुहुन्छ, ‘मलाई यहीं बसेर सिभिल इञ्जिनियरिङ पढ्ने मन छ ।’

किशोरावस्था जीवनको एउटा यस्तो चरण हो, जसमा शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरू हुन्छन् । तर, हाम्रो समाजमा किशोरावस्थाका यी परिवर्तनहरूलाई स्वाभाविक रूपमा स्वीकार गर्न अझै कठिनाइ छ ।
यो उमेरमा हुने शारीरिक परिवर्तनहरूबारे खुलेर कुरा गर्न समाज लजाउँछ । परिवार र विद्यालयले पनि यस विषयमा सकारात्मक दृष्टिकोण राख्न सकेको पाइँदैन ।

‘विद्यालयको कोर्समा किशोरावस्थाका परिवर्तनका विषयमा केही कुरा राखिएका छन् तर पढाउने बेलामा शिक्षक शिक्षिकाले सकेसम्म ती कुरालाई स्किप गर्न खोज्नुहुन्छ,’ स्मृति भन्नुहुन्छ, ‘यी कुरा त खुलस्त बुझाइदिनुपर्ने हो नि !’

कृषाले पनि किशोरावस्थाका बारेमा बाहिरैबाट र आफैंले खोजेर थाहा पाउनुभएको रहेछ । विद्यालय तहकाे पाठ्यक्रममा यस विषयमा खासै सिकाउने नगरिएको उहाँको गुनासो छ । 

किशोरकिशोरीहरूमा आत्मविश्वासको कमी, तनाव र सामाजिक दबाबका कारण भावनात्मक समस्या देखा पर्न सक्छ । यसलाई समाधान गर्न उनीहरूलाई खुला वातावरण प्रदान गर्न जरुरी छ । किशोरकिशोरीहरूले आफ्नो शरीरमा हुने परिवर्तनबारे विज्ञानसम्मत जानकारी पाउनुपर्छ । यसले उनीहरूलाई आफ्नो शारीरिक स्वास्थ्यप्रति सचेत बनाउन मद्दत गर्छ ।

यससँगै तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि र सम्बन्ध निर्माणका सीपहरू सिकाउन विद्यालयले भूमिका खेल्नुपर्छ । किशोरकिशोरीहरू आफ्ना भविष्यका योजनाबारे धेरै चिन्तित हुन्छन् । उनीहरूको सोच र योजनाले देशकै विकासलाई प्रभाव पार्न सक्छ ।

अधिकांश किशोरकिशोरीको पहिलो प्राथमिकता भनेको आफ्नै देशमा बसेर केही गर्ने नै हुन्छ । उनीहरू कृषि, प्रविधि र व्यवसायका क्षेत्रमा नयाँ सोच ल्याउन चाहन्छन् । उनीहरु उद्यमशीलताप्रति आकर्षित छन् । नयाँ स्टार्टअप खोल्ने, सामाजिक उद्यम सञ्चालन गर्ने जस्ता कुरामा उनीहरूको झुकाव देखिन्छ । 

देशभित्रै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षाको प्रणालीमा सुधार गर्नुपर्छ । व्यावसायिक शिक्षाको प्रवर्द्धन गरेर रोजगारीको सम्भावना बढाउन सकिन्छ । सीपमूलक तालिम दिएर उनीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्छ । 

किशोर–किशोरीहरूको चाहना, आकांक्षा र चुनौतीहरूलाई गम्भीरतापूर्वक लिन जरुरी छ । उनीहरूका समस्या समाधान गर्न र भविष्यप्रति उत्साहित बनाउन समाज र सरकारले प्रयास गर्नुपर्छ ।