अरुण र बरुण ग्रहमा जान किन सम्भव छैन ?
अर्बिटर मिसन धेरै जटिल हुन्छ भने फ्लाईबाई मिसन सरल मानिन्छ । अर्बिटर मिसन र फ्लाईबाई मिसनबीच तुलना गर्ने हो भने फ्लाईबाई मिसन सबै स्पेस एजेन्सीका लागि सस्तो पर्छ ।
अन्तरिक्ष एजेन्सीको स्थापना गरेपछि हामीले अन्तरिक्ष र हाम्रो सौर्यमण्डललाई नजिकबाट बुझ्ने अवसर पाएको छौं । हबल र जेम्स वेबजस्ता उन्नत टेलिस्कोपको सहायताले अर्बाैं प्रकाश वर्ष टाढा ग्यालेक्सी र तिनीहरूका क्लस्टर पनि देख्यौं ।
बिग ब्याङपछि आकाशगंगा कसरी बन्यो र कस्तो देखिन्थ्यो भन्ने पनि थाहा पायौं । अहिले हामीसँग यसका लाखौं तस्बिर छन् र हामीले ब्रह्माण्डका प्रायः सबै कुना खोतल्न भ्याइसकेका छौं । यति धेरै काम गरिसक्दा पनि हामी आफ्नै घरमा धेरै पछाडि छौं । हाम्रो सौर्यमण्डल अझै पनि हाम्रालागि ठूलो रहस्य बनेको छ ।
हाम्रो सौर्यमण्डल आठवटा ठूला ग्रहहरूको समूह हो । यहाँ चारवटा चट्टानी ग्रह अर्थात् रक्की प्लानेट छन् भने चारवटा विशाल ग्यासीय ग्रह छन् । यी ग्यासीय ग्रहहरूमध्ये हामीले अहिलेसम्म वृहस्पति र शनि ग्रहमा धेरै मिसन पठाइसकेका छौं । तर अरुण र वरुण ग्रहमा अहिलेसम्म एउटा मात्रै फ्लाईबाई मिसन गरिएको छ, जुन ५० वर्षअघि स्पेसप्रोब भ्वाइजर–टु को सहयोगमा गरिएको थियो । सन् १९७७ मा लन्च भएको भ्वाइजर–टु सन् १९८६ मा अरुण ग्रहमा पुग्यो र यसको तस्बिर खिच्यो ।
त्यसपछि सन् १९८९ मा यो अन्तरिक्ष यान वरुण ग्रहको नजिक पुग्यो ।यसबीचमा यसले धेरै तस्बिर खिच्यो र धेरैवटा चन्द्रमा पनि पत्ता लगायो । यसका रिङको पनि फरक–फरक तस्बिर खिचियो । नासाले त्यतिबेलादेखि अहिलेसम्म यही फ्लाइबाई मिसनको डाटा नै प्रयोग गर्दै आएको छ । विगत ३५ वर्षदेखि अहिलेसम्म हामी अरुण र वरुणका त्यही तस्बिर हेर्दै आएका छौं ।
यसबाहेक हामीसँग अन्य तस्बिर छैनन् । यद्यपि, त्यो फ्लाईबाई मिसन केही दिनका लागि मात्र थियो । यदि नासाले वृहस्पति र शनि ग्रहमा जस्तै यहाँ पनि अर्बिटर मिसन गरेको भए हामीले धेरै डाटा पाउन सक्ने थियौं ।
अर्बिटर मिसन धेरै जटिल हुन्छ भने फ्लाईबाई मिसन सरल मानिन्छ । अर्बिटर मिसन र फ्लाईबाई मिसनबीच तुलना गर्ने हो भने फ्लाईबाई मिसन सबै स्पेस एजेन्सीका लागि सस्तो पर्छ । पहिलो पटक टाढाका ग्रह र चन्द्रमाको तस्बिर खिच्ने हो भने फ्लाइबाई मिसन चलाएर कम समयमा त्यसका बारेमा जान्न सक्छौं । यी मिसनमा प्रयोग हुने प्रोब आकारमा साना छन् र कम इन्धनमा अरुण र वरुण ग्रहसम्म पुग्न सक्छन् ।
हालसम्म भ्वाइजर–टुमार्फत नै यी ग्रहको फ्लाईबाई मिसन गरिएको छ । भ्वाइजर–टु लन्च भएको नौ वर्षपछि अरुणमा पुग्यो र यसको सतहभन्दा ८१ हजार पाँच सय किलोमिटर टाढाबाट तस्बिर खिच्यो । यति मात्रै होइन, यसले ११ वटा नयाँ चन्द्रमा खोज्यो र त्यसका अलग–अलग तस्बिर खिच्यो । यी सबै काम भ्वाइजर–टुले केही घन्टामै गर्यो ।
त्यसैगरी यो प्रोब तीन वर्षपछि वरुणमा पुग्यो र त्यहाँ पनि अवलोकन गर्यो । केही घन्टा अवलोकन गरेर यसको तस्बिर खिच्यो । यति मात्रै होइन, यसको सबैभन्दा ठूलो चन्द्रमा ट्राइटन पनि फेला पर्यो । तर पनि यी फ्लाइबाई मिसनमार्फत त्यति धेरै डेटा उपलब्ध हुन सकेनन् । त्यहाँ अर्बिटर मिसन गरिएको भए धेरै वर्षसम्म परिक्रमा गरेर सटिक डेटा प्राप्त गर्न सकिन्थ्यो ।
ओर्बिटरको कुरा छोडौं, भ्वाइजर–२ पछि यी ग्रहहरूमा अन्य कुनै फ्लाईबाई मिसन पठाइएको छैन । यसको सबैभन्दा ठूलो कारण हो दूरी । यो सूर्यबाट अर्बौं किलोमिटर टाढा रहेको छ । यसमा यान पठाउन धेरै वर्ष लाग्छ । यसका लागि विशेष स्पेसक्राफ्ट आवश्यक पर्छ जसका लागि सोलार सेलको सट्टा विशेष इन्धन प्रयोग गर्नुपर्छ । तर, फ्लाईवाई मिसनका लागि थोरै ऊर्जा भए पुग्छ ।
अर्बिटर मिसनका लागि विशेष प्रकारको रेडियो आइसोटोप जेनेरेटर आवश्यक पर्छ । सूर्यबाट अर्बौं किलोमिटर टाढा भएकाले यी ठूला ग्रहहरूमा सोलार सेलको कुनै प्रभाव पार्दैन । त्यसैले विशेष प्रकारको आणविक इन्धनद्वारा मात्रै यी प्रोबहरूलाई निरन्तर परिक्रमा गराउन सकिन्छ । यति टाढासम्म अर्बिटर मिसन सञ्चालन गर्ने प्रविधि पनि अहिलेसम्म हामीसँग छैन । हामीले शनि गहसम्म मात्रै अर्बिटर मिसन गर्न सकेका छौ । यहाँ फ्लाइबाई मिसन भने गर्न सकिन्छ तर वैज्ञानिकहरूले यसमा कुनै चासो दिएका छैनन् । ग्यासबाट बनेका हुनाले यहाँ जीवन हुने सम्भावना पनि छैन । त्यसैले यहाँ कुनै मिसन पठाइएको छैन । यस पछाडिको सबैभन्दा ठूलो कारण बजेट पनि हो ।
कुनै पनि स्पेस मिसन पूरा गर्न धेरै पैसा खर्च हुन्छ । जुनो स्पेसक्राफ्टलाई वृहस्पतिको अर्बिटमा पठाउन नासाले एक अर्ब ३० करोड डलर खर्च गरेको थियो ।
यस्तै शनि ग्रहमा कसिनी प्रोब पठाउन तीन अर्ब २६ करोड डलर खर्च भएको थियो तर अरुण शनि ग्रहभन्दा दुई गुणा टाढा छ भने वरुण तीन गुणा । अर्थत् सूर्यबाट चार अर्ब ५० करोड किलोमिटर टाढा छ । यस्तो अवस्थामा यदि त्यसमा अर्बिटर मिसन पठाउने हो भने यसको बजेट अन्तरिक्ष निकायको वार्षिक बजेटभन्दा बढी हुनेछ ।
प्रतिक्रिया