ईश्वर दानी छ (बालगीत)
केही न केही गरिरहन लागिरहने मन, केही नगरी बस्नै नसक्ने जाँगरिलो तन, जे जस्तो पनि गर्न सक्ने आफ्नै जस्ता हात, गरिखाने साधन हामीलाई दियो ईश्वरले ईश्वर दयालु छ ।
कलकल बग्ने कञ्चन पानी
सरसर चल्ने हावा
माथिमाथि हिमगिरि सुन्दर
तल तल रारा, फेवा
सबैको रचना गर्यो ईश्वरले
ईश्वर ज्ञानी छ।
रचना गर्न, सृजना गर्न
झलझलाउँदा दिन
शान्त शीतल चाँदनी रात
पूर्ण आराम लिन
सुन्दर शान्त बिहानी र
रमझमपूर्ण साँझ
आफ्नै हातले रचना गरेर
दियो ईश्वरले
ईश्वर दानी छ ।
केही न केही गरिरहन
लागिरहने मन
केही नगरी बस्नै नसक्ने
जाँगरिलो तन
जे जस्तो पनि गर्न सक्ने
आफ्नै जस्ता हात
गरिखाने साधन हामीलाई
दियो ईश्वरले
ईश्वर दयालु छ ।
डाँडाँकाँडा हरियाली र
छङछङ बग्ने खोला
जनावर र चराहरूको
वनैभरि मेला
रङ्गीचङ्गी फूलहरूमा
पुतलीको भेला
सबैको रचना गर्यो ईश्वरले
ईश्वर ज्ञानी छ ।
जे गर्दा पनि राम्रो नराम्रो
छान्न सक्ने बुद्धि
कहाँ कहिले के के भयो
सम्झन सक्ने सुद्धि
के गर्दा के हुन्छ तोकी
भन्न सक्ने विज्ञान
सबैको रचना गरेर हामीलाई
दियो ईश्वरले
ईश्वर कृपालु छ ।
प्रतिक्रिया