आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

विद्यार्थीसँग राष्ट्रगानका रचयिता व्याकुल माइला (भिडियो)

व्याकुल माइलाले ‘बाबा हो पढ्नू है’ शीर्षक कविता पनि सुनाउनुभयो

 

भाइबहिनीहरू तपाईंहरूले ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ राष्ट्रगान हरेक दिन गाइरहनुभएकै छ । 

तपाईंहरूलाई थाहा छ, यो राष्ट्रगानका रचनाकार व्याकुल माइला हुनुहुन्छ । व्याकुल माइलाको वास्तविक नाम प्रदीपकुमार राई हो । उहाँ ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी दुधकोशी किनार सोक्मटार गाउँमा जन्मिनुभएको हो ।

दुधकोशीपारि खोटाङ जिल्ला जोडिएको छ । यो सिमाना जोडिएको ठाउँ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ मा पर्दछ ।

संयोगले व्याकुल माइला हलेसी तुवाचुङ नगरपालिका वडा नं. २ दाम्ली गाउँमा रहेको दाम्ली माध्यमिक विद्यालयमा पुग्नुभयो । खासमा वाम्बुले राई भाषाको २५औं कविता प्रतियोगिताको प्रमुख अतिथि भएर जानुभएको थियो । व्याकुल माइलाको मातृभाषा वाम्बुले हो ।

विद्यालयको आँगनमा कविता प्रतियोगिता सम्पन्न हुनुभन्दा अघिल्लो दिन मंसिर १९ गते विद्यार्थी साथीहरू र गुरुगुरुआमाहरूले व्याकुल माइलालाई स्वागत गर्नुभयो । अनि सबैजना एकसाथ राष्ट्रगान गाउनुभयो ।

निमित्त प्रधानाध्यापक तीर्थराज खड्काले विद्यालयको परिचय दिँदै स्वागत मन्तव्य व्यक्त गर्नुभयो । दाम्ली प्राथमिक विद्यालय भनेर २०४६ वैशाखबाट यो विद्यालयमा कक्षा १ सञ्चालन गरिएको हो । स्थानीयबासीको सहयोग लिएमा बाँस र खरको छानो लगाएर ३५ जना विद्यार्थीलाई लिएर पढाइ सुरु गरिएको थियो ।

‘तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य परशुराम राईबाट यो विद्यालय उपलब्ध भएको हो,’ प्रधानाध्यापक खड्का भन्नुहुन्छ, ‘तत्कालीन पञ्चायत व्यवस्थामा यस वडाका वडाध्यक्ष टेकबहादुर खड्काले स्वीकृति गराएर ल्याउनुभयो । तत्कालीन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चन्द्रबहादुर राई हुनुहुन्थ्यो ।’ 

तत्कालीन प्रधानाध्यापक अमृत राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनसुन्दर राईको नेतृत्वले २०५३ सालदेखि कक्षा ६ सम्म सञ्चालन भएको थियो । २०६३ सालदेखि प्रस्तावित माध्यमिक विद्यालय कक्षा ९ सम्म सञ्चालन भयो । वडा नं.१ र २ का विभिन्न गाउँबाट विद्यार्थी पढ्न आउनुहुन्छ । बाल कक्षादेखि कक्षा १० सम्म २ सय ६५ जना विद्यार्थी पढ्नुहुन्छ । उहाँहरूलाई १५ जना गुरुगुरुआमाले पढाउनुहुन्छ । 

दुर्गममा रहेको यस विद्यालय समुद्री सतहदेखि करिब १६ सय मिटर उचाइमा रहेको छ । यहाँ खानेपानीको समस्या छ । ‘हरेक घर–परिवारले टाढाबाट सामुहिक धाराबाट पानी बोकेर ल्याउनुपर्छ,’ प्रधानाध्यापक खड्का भन्नुहुन्छ, ‘यो नै हाम्रो ठूलो समस्या हो ।’ 

विद्यालयमा इन्टरनेटको व्यवस्था छ । विद्यालयमा दुईवटा कम्प्युटर रहे पनि विद्यार्थीलाई इन्टरनेट प्रयोग गरेर पढाउने गरिएको छैन । ब्रिटिस गोरर्खा वेलफेयर ट्रस्टको सहयोगमा तीनवटा एकतले र भूकम्प प्राधिकरणको सहयोगमा एउटा आधुनिक विद्यालय भवन निर्माण गरिएका छन् भने एउटा निर्माणाधीन अवस्थामा छ । विद्यालयसँग स्वास्थ्य चौकी रहेको छ ।

विद्यालयको परिचयसँगै विद्यार्थी साथीहरूले फूलमाला, फूलको गुच्छा लिएर राष्ट्रगानका रचयिता व्याकुल माइलालाई स्वागत गर्नुभयो । 
व्याकुल माइलाले भन्नुभयो, ‘राष्ट्रगानको म निमित्त मात्र हो, १२ सय ७२ जनामा मेरो सिर्जना छानिएको हो, यो राष्ट्रले बनाएको हो । २०६२/६३ को जनआन्दोलन र दस वर्षे जनयुद्धबाट निर्माण भएको हाम्रो साझा आवाज हो । म पनि तल दुधकोशी किनारमा जन्मे, हुर्केको हो । आज तपाईंहरूको सामु राष्ट्रियगानको रचनाकार भएर उभिएको मान्छे तपाईंहरू जस्तै हो । तपाईंहरूको भन्दा बेसी नै दुःख, संघर्ष र कामहरू गरेको हो ।’ 

उहाँले आफू चार कक्षा पढ्दै गर्दाको कथा सुनाउनुभयो । आफूले माटो छोएर कहिल्यै विदेश नजाने कसम खाएको सुनाउनुभयो । राष्ट्रलाई माया गर्न र समृद्ध तुल्याउनुपर्छ भन्नुभयो । अनि ‘बाबा हो पढ्नू है’ शीर्षक कविता सुनाउनुभयो । 
 

गणेश राई

(वरिष्ठ पत्रकार राई शिक्षा पत्रकारितामा दख्खल राख्नुहुन्छ ।)