‘बच्चाहरूमा पनि तनाव हुन्छ, त्यसलाई अभिभावकले बुझ्न सक्नुपर्छ’ (भिडियाे)
'किशोरावस्थामा मानसिक र भावनात्मक असन्तुलन, चिन्ता, डर वा उदासीको समस्या आउन सक्छ’
बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य अत्यन्त महत्वपूर्ण हुन्छ । यसले उनीहरूको शारीरिक, भावनात्मक र सामाजिक विकासमा ठूलो भूमिका खेल्दछ ।
मानसिक स्वास्थ्य भनेको एक स्वस्थ र सन्तुलित मानसिक अवस्था हो, जसमा व्यक्तिले आफूलाई र आफ्नो वरपरका मानिसलाई सकारात्मक तरिकामा बुझ्न, स्वीकार गर्न र जीवनका चुनौतीहरूलाई सामना गर्न सक्ने क्षमता राख्छ ।
बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यसँग भावनात्मक स्वास्थ्य जोडिएको हुन्छ । यसमा आत्मसम्मान, आत्मविश्वास र भावनात्मक स्थिरता समावेश हुन्छन् ।
क्लिनिकल साइकोलोजिस्ट हसना श्रेष्ठ किशोरावस्थामा मानसिक र भावनात्मक असन्तुलन, चिन्ता, डर वा उदासीको समस्या आउन सक्ने बताउनुहुन्छ ।
‘सुरक्षित र सहयोगी पारिवारिक वातावरण किशोरावस्थाको मानसिक स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण छ,’ उहाँ भन्नुहुन्छ, ‘परिवारका सदस्यहरूको माया, प्रेम र समझदारीले उनीहरूको आत्मविश्वास र मानसिक स्वास्थ्यलाई बलियो बनाउँछ ।’
उहाँका अनुसार बालबालिका र किशोरकिशोरीले समाजसँग जिउने तरिका पनि सिक्न आवश्यक छ । यसमा मित्रता, समुदायको समर्थन र सामाजिक सम्बन्धहरू महत्वपूर्ण हुन्छ ।
कतिपय अभिभावकले बच्चालाई के तनाव हुन्छ र भन्ने गरेको तर बच्चामा पनि तनाव हुने डा. श्रेष्ठले बताउनुभयो । बच्चामा के तनाव छ बुझेर त्यसको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।
विद्यालयको काम, परीक्षा र अन्य शैक्षिक दबावहरूले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर पु¥याउन सक्ने उहाँ बताउनुहुन्छ, ‘यसमा पाठ्यक्रमसँगको सम्बन्ध, शिक्षक र साथीहरूको व्यवहारले पनि प्रभाव पार्न सक्छ ।’
मानसिक स्वास्थ्य समस्याहरू जस्तैः चिन्ता, तनाव, डिप्रेसन, आत्महत्या विचार र अन्य समस्या किशोरकिशोरीहरूमा बढी देखा पर्न सक्छ । उनीहरू आत्म–संवेदनशील हुने वा आफ्ना भावनालाई बुझ्न र व्यक्त गर्न गाह्रो महसुस गर्न सक्छन् ।
मानसिक र शारीरिक स्वास्थ्य अन्तरसम्बन्धित हुन्छन् । यदि एक पक्ष कमजोर छ भने अर्कोमा पनि समस्या आउन सक्छ । किशोरकिशोरीहरूको शारीरिक परिवर्तन र हर्मोनल असन्तुलन पनि मानसिक स्वास्थ्य समस्याहरूको कारण बन्न सक्छ ।
मानसिक स्वास्थ्यमा सुधारका लागि बालबालिका र किशोरकिशोरीलाई सकारात्मक सोचको महत्व बुझाउनु र स्वस्थ सञ्चारको प्रवृत्ति विकास गर्नु महत्वपूर्ण हुने डा. श्रेष्ठको भनाइ छ ।
मानसिक स्वास्थ्यका बारेमा शिक्षा दिनुपर्ने, सुरक्षित र सहयोगी परिवार, विद्यालय तथा समुदायमा वातावरण सिर्जना गर्नुपर्ने, आफ्नो भावना र समस्याहरू व्यक्त गर्न प्रोत्साहित गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
मानसिक स्वास्थ्य समस्याहरू देखिन थालेमा, मनोवैज्ञानिक, मानसिक स्वास्थ्य विशेषज्ञ वा काउन्सिलरसँग परामर्श गर्नु आवश्यक हुन्छ ।
प्रतिक्रिया